बनेपा/काँठु गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेड महिला उप समितिको आयोजनामा सदस्यहरूको सीप विकास, आत्मनिर्भरता तथा आय आर्जनमा सहयोग र्पुयाउने उद्देश्यले कृत्रिम फूलको गुच्छा (बुके) बनाउने तालिम प्रदान गरेको छ । संस्थाले सदस्यहरूको क्षमता अभिवृद्धि गर्दै स्वरोजगारका अवसर सिर्जना गर्ने उदेश्यले उक्त तालिम प्रदान गरेको संस्थाका अध्यक्ष हरिगोपाल मानन्धरले बताए । तालिममा कृत्रिम फूलको विभिन्न प्रकारका गुच्छा तयार गर्ने विधि, आवश्यक सामग्रीको छनोट, आकर्षक डिजाइन निर्माण, प्याकेजिङ तथा बजार व्यवस्थापनका आधारभूत पक्षबारे व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो । प्रशिक्षण पुजा महाजुले दिईएकी थिईन् ।
संस्थाका अध्यक्ष मानन्धरले सहकारी संस्था बचत तथा ऋण कारोबारमा मात्र सीमित नरही सदस्यहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए । मानन्धरले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै साना तथा घरेलु उद्यम सञ्चालन गर्न सहभागीहरूलाई आग्रह गरे । मानन्धरले संस्थाले आगामी दिनमा समेत सामाजिक उत्तरदायित्व अन्र्तगत सदस्यहरुलाई सिलाइ–कटाइ, हस्तकला, खाद्य परिकार निर्माण तथा अन्य उद्यमशीलता सम्बन्धी तालिम सञ्चालन गर्ने बताए ।
तालिममा सहभागी सदस्यहरूले संस्थाले आयोजना गरेको उक्त व्यवहारिक तथा सीपमूलक कार्यक्रमबाट नयाँ ज्ञान र आत्मविश्वास प्राप्त भएको बताए । कार्यक्रममा संस्थाका उपाध्यक्ष ईन्द्रलाल माननन्धर, सल्लाहाकार त्रिरत्न राजवाहक, महेन्द्र कारंजीत, संचालक सदस्य यशुराम राजवाहक, ओम प्रकाश नकर्मी लेखा सुपरिबेक्षण समिति सदस्य समीर भैल लगाएतको उपस्थिती रहेको थियो ।









