2026 July 06/ 12:22: 23am

       शारदा बतासे/धुलिखेल नगरपालिका–१० स्थित शारदा बतासे÷कालिका माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ७० औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ । 
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कान्छा तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जंगम प्रमुख अतिथि थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मनोहर थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका शैक्षिक उपलब्धि, आगामी योजना तथा सुधारका कार्यक्रमबारे जानकारी गराए । उनले विद्यालयमा डिजिटल कक्षा सञ्चालन, गुणस्तरीय शिक्षाका लागि अतिरिक्त कक्षाको व्यवस्था, ‘ह्याप्पी अभिभावक, विद्यार्थी र शिक्षक’ अभियान तथा शैक्षिक सुधारका विभिन्न पहलहरू अघि बढाइएको बताए ।
    प्रधानाध्यापक थापाका अनुसार विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आवश्यक पूर्वाधार व्यवस्थापन, विद्यालय बस सञ्चालन तथा डिजिटल शिक्षण प्रणालीका लागि आवश्यक संरचना निर्माणको कार्यलाई प्राथमिकता दिइएको छ। उनले विद्यालयलाई आधुनिक र प्रतिस्पर्धी शैक्षिक संस्थाका रूपमा विकास गर्ने लक्ष्यसहित विभिन्न योजना कार्यान्वयन भइरहेको जानकारी दिए । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख निराजन जंगमले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बताए । उनले सामुदायिक विद्यालयहरूको शैक्षिक स्तर उकास्न नगरपालिकाले आवश्यक सहयोग र लगानीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
    धुलिखेल नगरपालिकाका शिक्षा शाखा प्रमुख भोजकुमार ठकुरीले शिक्षा क्षेत्रमा भइरहेको सुधारका प्रयासबारे चर्चा गरे । उनले नेपालमै पहिलोपटक स्थानीय तहबाट शिक्षा सम्बन्धी कानुन निर्माण, विद्यालय तथा शिक्षक व्यवस्थापन र गुणस्तरीय शिक्षाका लागि सञ्चालन गरिएका कार्यक्रमहरूको जानकारी गराउँदै अनुभवी शिक्षकहरूको ज्ञान र प्रविधिमैत्री युवा शिक्षकहरूको उत्साहलाई समन्वय गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । वडा नं. १० का अध्यक्ष गोविन्द उपाध्याय भण्डारीले विद्यालयको नाममा रहेको जग्गाको संरक्षण, अक्षयकोषको विस्तार तथा विद्यालयका स्रोतसाधन वृद्धि गर्न वडा कार्यालय, स्थानीय सरकार र अभिभावकहरू मिलेर पहल गरिरहेको बताए । विद्यालयको दीर्घकालीन विकासका लागि सामूहिक सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
    कार्यक्रममा छिमेकी विद्यालयका प्रधानाध्यापकहरू, अभिभावक, शिक्षक, विद्यार्थी, विभिन्न क्षेत्रका सहयोगी तथा दाताहरूको उल्लेख्य सहभागिता रहेको थियो । उक्त अवसरमा विद्यालयले शैक्षिक सत्र २०८२ को एसईई परीक्षामा सहभागी भई शतप्रतिशत उत्तीर्ण हुन सफल विद्यार्थीहरूलाई बधाई तथा विदाइ कार्यक्रमसमेत आयोजना गरेको थियो । विद्यालयका अनुसार यस वर्ष १६७ जना विद्यार्थीले शैक्षिक सत्र २०८३ का लागि भर्ना गरिसकेका छन् । विद्यालयले हालसम्म अक्षयकोषमार्फत २३ लाख रुपैयाँ बचत गर्न सफल भएको जानकारी दिइएको छ । वार्षिकोत्सव समारोहमा विद्यालयलाई विभिन्न रूपमा सहयोग पु¥याउने दाताहरूलाई सम्मान गरिएको थियो । साथै छात्रवृत्ति वितरण, साँस्कृतिक प्रस्तुति तथा विविध मनोरञ्जनात्मक कार्यक्रमहरू पनि आयोजना गरिएका थिए ।
    कार्यक्रमका सहभागीहरूले विद्यालयको सात दशक लामो इतिहास र योगदानलाई स्मरण गर्दै आगामी दिनमा पनि गुणस्तरीय, प्रविधिमैत्री र प्रतिस्पर्धी शिक्षा प्रदान गर्न जोड दिएका थिए । उनीहरूले सामुदायिक विद्यालयप्रति अभिभावक र समुदायको विश्वास अझ सुदृढ बनाउन विद्यालयले निरन्तर सुधार र नवप्रवर्तनका कार्यक्रमलाई अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका थिए ।