2026 June 18/ 11:57: 14pm

    बनेपा/विश्व रक्तदाता दिवसको अवसर पारेर मेथिन्कोट अस्पताल भकुण्डेको आयोजना र नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको समन्वयमा बनेपामा विभिन्न विधामा सम्मान गरिएको छ । विशेषगरी रक्तदान गर्न प्रोत्साहन गर्ने व्यक्ति तथा संघसंस्थाहरूलाई समेत सम्मान गरिएको थियो ।
    अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विष्णु खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अस्पतालका सुपरिटेन्डेन्ट डा. रामशरण श्रेष्ठले बागमती प्रदेश सरकारले सुरु गरेको विपन्न नागरिक तथा संकटमा परेका नागरिकहरूलाई उपलब्ध गराउन सुरु गरिएको निःशुल्क रगतका लागि आवश्यक पूर्वाधार र जनशक्ति सहित त्यसको व्यवस्थापनका लागि आवश्यक पर्ने विषयमा भएका प्रयास र व्यवस्थाका बारेमा जानकारी गराएका थिए । रक्तदान सम्बन्धी सचेतना र रक्तदाताहरूलाई हौसला प्रदान गरिरहन, तत्काल रगत अभाव हुँदा उपलब्ध गराउन सकिने अवस्था र त्यसको व्यवस्थापनका बारेमा उनले जानकारी गराएका थिए ।
    नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका सभापति देवेन्द्र भैलले ब्लड बैंक, त्यसका लागि आवश्यक पर्ने पूर्वाधार तथा त्यसको व्यवस्थापन लगायतका विषयमा जानकारी गराउँदै २ करोडको कोष निर्माण गर्ने अभियान निरन्तर सञ्चालन भएको बताए । उक्त कोषमा विभिन्न पालिका तथा संघसंस्था र व्यक्तिहरूले उपलब्ध गराएको ४५ लाख ५१ हजार रुपैयाँ मौज्दात रहेको उनले बताए । स्थानीय सरकार, संघसंस्था र व्यक्तिहरूलाई उनले सहयोगका लागि आग्रह गरे ।
    बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका निर्देशक डा. नरेन्द्रकुमार झा, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कृष्ण सापकोटा, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, वडा अध्यक्ष हिटलर शाक्य र बलराम अधिकारी, अस्पताल व्यवस्थापन समिति सदस्य गंगादेवी लुइँटेल लगायतका वक्ताहरूले रक्तदान र रक्तदाता तथा त्यसको महत्वका बारेमा धारणा राखेका थिए ।
    कार्यक्रममा रक्तदान गर्न सुरु गर्ने, १८ वर्ष पुगेकै दिन रक्तदान गर्ने, जन्मदिनको अवसरमा रक्तदान गर्ने, ओ नेगेटिभ रगत समूह भएकाहरू, वैवाहिक वर्षगाँठको अवसरमा रक्तदान गर्नेहरू, ५० भन्दा धेरै व्यक्तिहरूलाई सहभागी गराएर रक्तदान गराउने संघसंस्थाहरू, आर्थिक वर्ष २०८२÷२०८३ बाट ५० पटकभन्दा धेरै रक्तदान गरेको पुग्ने तथा रगत अभाव हुँदा तत्काल उपस्थित भएर रक्तदान गर्ने रक्तदाताहरूलाई सम्मान गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले सुरु गरेको रक्तसञ्चार सेवा, त्यसका लागि आवश्यक पर्ने उपकरण तथा पूर्वाधार निर्माण र व्यवस्थापनका लागि सभापति भैलले सहभागीहरूलाई अनुरोध गरे ।