धुलिखेल/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जिल्लाका ११ वटा पालिकाको अधिबेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ । दुई वटा पालिकामा भने तर्दथ समिति गठन भएको छ । पालिका अधिबेशन सकेर रास्वपाको नेतृत्व जेठ २३ हुने जिल्ला अधिबेशनको तयारीमा जुटेको छ ।
जिल्ला सचिव जिएन सापकोटाका अनुसार अधिबेशनको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला अधिबेशनका लागि ११ वटा पालिकाबाट निर्वाचित समिति र दुई वटा पालिकाको तदर्थ समितिका पदाधिकारीहरु सहभागी हुनेछन् । नगरपालिकाको हकमा १३ जना निर्वाचित र २ जना मनोनित गरी १५ सदस्यीय समिति रहेको छ भने गाउँपालिकाको हकमा ११ जना निर्वाचित र २ जना मनोनित गरी १३ सदस्यीय समिति रहेको छ । पालिका सभापतिहरु भने जिल्ला समितिको स्वतः पदेन सदस्य रहनेछन् । जिल्ला समिति १३ निर्वाचित र २ मनोनित गरी १५ सदस्यीय हुनेछ ।
जिल्लाबाट प्रदेश र केन्द्रीय अधिबेशनका लागि सहभागि हुन नगरपालिकाबाट २ र गाउँपालिकाबाट १ जना, पालिका सभापति स्वत प्रतिनिधि हुने ब्यवस्था छ । जिल्लाबाट सहभागी हुने प्रतिनिधिहरुको हकमा भने कार्यविधि आईसकेको छैन । जिल्लामा हाल पार्टी स्थापना देखि नै प्रविण ढकाल सभापति छन् । उपसभापति पुण्यमाता घिमिरे, सचिव जिएन सापकोटा, सह सचिव शिवहरी प्याकुरेल र कोषाध्यक्ष नवराज चालिसे रहेका छन् । पहिलो अधिबेशनबाट यहि समिति दोहोरिने सम्भावना छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र अन्र्तगत क्षेत्र नम्वर १ मा मधुकुमार चौलागाई र क्षेत्र नम्वर २ मा ताराबहादुर कुँवर सभापति छन् । चौलागाई सांसद् भए लगत्तै सभापति पदबाट राजिनामा दिएका छन् । क्षेत्रीय समिति कार्यकारी भूमिकामा छैनन् । उनिहरुले समन्वयकारी भूमिका मात्रै खेल्ने छन् । उनिहरु स्वतः जिल्ला अधिवेशनमा आयोजक समितिको सदस्य रहने ब्यवस्था छ ।
जिल्लाको महाभारत र खानीखोलामा सदस्यता वितरण पार्टीको विधान अनुसार पूर्ण नभएका कारण तदर्थ समिति मात्रै रहेको बताईएको छ भने बनेपा नगरपालिकामा सुरज मकै श्रेष्ठ, बेथानचोक गाउँपालिकामा अष्टमान तामाङ, पनौती नगरपालिकामा दिनेश श्रेष्ठ, भुम्लु गाउँपालिकामा विक्रम कुँवर, नमोबुद्ध नगरपालिकामा विक्रमहरी तिवारी तथा धुलिखेल नगरपालिकामा माधव श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी तेमाल गाउँपालिकामा सूर्य तामाङ, चौरीदेउराली गाउँपालिकामा श्रीमान तामाङ, रोशी गाउँपालिकामा विशाल लामा, पाँचखाल नगरपालिकामा नवीन प्रकाश निरौला तथा मण्डनदेउपुर नगरपालिकामा मणिराम पौडेल नेतृत्वमा चयन भएका छन् ।
रास्वपाले स्थानीय तहमा संगठन सुदृढीकरण गर्ने अभियानलाई तीव्र बनाइरहेका बेला सम्पन्न पालिका अधिवेशनले जिल्लामा पार्टीको संगठनात्मक आधार थप मजबुत हुने अपेक्षा गरिएको सचिव जिएन सापकोटाले बताए । नवनिर्वाचित नेतृत्वले स्थानीय स्तरमा पार्टीका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै जनविश्वास अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टीका नेता तथा कार्यकर्ताले सम्पूर्ण निर्वाचित पालिका नेतृत्व तथा टोलीलाई हार्दिक बधाई दिँदै सफल, प्रभावकारी र उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।









