रोशी/बिपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका–७ घुमाउने चारसय वेशीस्थित रोशी खोलामा सोमबार आएको बाढीका कारण फसेका यात्रुको सुरक्षाकर्मीको संयुक्त टोलीले उद्धार गरेको छ । यात्रुको उद्धार पछि चालकहरुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरी तथा ट्राफिक प्रहरीबाट खटिएको प्रहरी टोलीहरूले सुरक्षित स्थानमा रोक्दा रोक्दै लापरवाहीपूर्ण तरिकाले यात्रुहरूको जिउ धनलाई समेत खतरा पु¥याई सवारी चलाउने उक्त ५ वटा माइक्रोबसका पाँच जना चालकहरुलाई समेत नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कार्यपलाञ्चोकको हिरासतमा राखी आवश्यक अनुसन्धान कार्य भइरहेको डिएस्पी रविन विष्टले जानकारी दिए ।
२०८३ वैशाख २१ गते साँझदेखि अविरल परेको पानीको कारण रोशी खोलाको बहाव बढ्न गई उक्त रोसी खोलाको बीच भागमा फसेका पाँचवटा माइक्रोबसका ८९ जना यात्रुहरूलाई सुरक्षा निकायहरू समेतको सहभागितामा मिति २०८३ वैशाख २२ गते बिहान १ः०० बजे उद्धार कार्य सम्पन्न गरी निज यात्रुहरूलाई सुरक्षित रुपमा गन्तव्यसम्म पठाइएको थियो ।
सोमबार साँझ ६ बजेको पूर्वबाट काठमाडौँ आउँदै गरेका बा ४ ख ५२६१, बा ४ ख ६३५५, बा ५ ख ३१५८, बागमती प्रदेश ०१–००६ ख ७५९६ र बागमती प्रदेश ०८–००१ ख ००७७ नम्बरका ५ वटा इभी हाईस खोलामा फसेका थिए । सुरक्षाकर्मीको संयुक्त टोलीले उनीहरुलाई सुरक्षित ढंगले उद्धार गरेका हुन् । पूर्वी नेपालबाट आउँदै गरेका ५ वटा माइक्रोबसका ८९ यात्रु खोलामा फसेकामा थिए । लगत्तै नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उनीहरुलाई सकुशल उद्धार गरी गन्तव्यमा पठाएको हो ।









