2026 April 20/ 08:51: 01am

    धुलिखेल/नेपाल सरकारले हालै लागू गरेको शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय शैक्षिक संस्थाहरूमा पनि कार्यान्वयन शुरु गरिएको छ । काठमाडौँ विश्वविद्यालयले उक्त निर्णयलाई अनुसरण गर्दै आधिकारिक रूपमा कार्यान्वयनमा ल्याएको विज्ञप्ती मार्फत जानकारी गराएको छ ।
    विश्वविद्यालयले जारी गरेको सूचनाअनुसार २०८२ चैत २३ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था गरिएको छ । साथै, कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म कायम रहनेछ । विश्वविद्यालयले शैक्षिक गतिविधि प्रभावित नहोस् भन्ने उद्देश्यले लचिलो नीति अपनाएको जनाएको छ । सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली यथावत रहनेछ भने कक्षा सञ्चालन र परीक्षा तालिका आवश्यकताअनुसार मिलाउन सकिने व्यवस्था गरिएको छ । यसका लागि सम्बन्धित स्कूलका डिनहरूलाई समय तालिका निर्धारण गर्ने अधिकार दिइएको प्रा.डा. रजिस्ट्रार राजिव श्रेष्ठले जानकारी दिए । 
    त्यस्तै, शैक्षिक कार्यक्रमको प्रकृति हेरी आवश्यक परे सार्वजनिक बिदाका दिनमा समेत कक्षा सञ्चालन गर्न सकिने उल्लेख गरिएको छ । सम्बन्धित शैक्षिक संस्थाहरूलाई परीक्षा नियन्त्रकसँग समन्वय गरी समय तालिका निर्धारण गर्न निर्देशन दिइएको छ । यस निर्णयले सरकारी नीतिअनुसार बिदा प्रणाली कार्यान्वयन भए पनि शिक्षण–सिकाइ प्रक्रिया अवरुद्ध नहुने सुनिश्चित गर्न विश्वविद्यालयले सन्तुलित र व्यावहारिक उपाय अपनाएको देखिन्छ ।