2026 April 20/ 07:14: 28am

    मण्डनदेउपुर/काभ्रेको मण्डनदेउपुर नगरपालिकास्थित नव प्रतिभा इङ्गिलस स्कूल, कुन्तावेशीले आफ्ना विद्यार्थीहरूको तहगत दिक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरेको छ । 
    शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षाफल प्रकाशनको अवसर पारेर विद्यालयले विद्यार्थीहरूलाई औपचारिक रूपमा दिक्षित गरेको हो । चैत्र २९ गते, नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा अभिभावक, विद्यार्थी, शिक्षक–कर्मचारी तथा विद्यालयका शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रम मण्डनदेउपुर नगरपालिका–७ का वडा अध्यक्ष तथा वडा शिक्षा समिति संयोजक विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यता र वडा नं. ११ का अध्यक्ष एवं शिक्षा समिति संयोजक दिपेन्द्र लामाको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।
    विद्यालयको सेवा क्षेत्रभित्र पर्ने नयाँगाउँ, देउपुर, चण्डेनी, हल्देटार, रायोबारी, अँपखोला, पौवाटार, कुन्तावेशी, धाइटार लगायत विभिन्न स्थानबाट आएका सयौं अभिभावक तथा विद्यार्थीहरूको सहभागिताले कार्यक्रम अझै उत्साहजनक बनेको थियो । विद्यालयका संस्थापक प्रिन्सिपल होम प्रसाद चौंलागाईंको सभापतित्वमा सम्पन्न कार्यक्रममा नर्सरीदेखि कक्षा ७ सम्मका उत्तीर्ण विद्यार्थीहरूको परीक्षाफल सार्वजनिक गरिएको थियो। साथै, विभिन्न कक्षाका विद्यार्थीहरूलाई आकर्षक गाउन र स्क्याप पहिराएर दिक्षित गरिएको थियो, जसले कार्यक्रममा थप गरिमा थपेको थियो ।
    शैक्षिक सत्र २०८२ भरि विद्यालयले आयोजना गरेका विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूका साथै कक्षागत प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका सरीता पुर्कोटीले गर्नुभएको थियो । कार्यक्रममा अभिभावकहरूको तर्फबाट सरीता ढकाल र रोहिणी ढकाललगायतले मन्तव्य राख्दै विद्यालयले छोटो अवधिमा उल्लेखनीय प्रगति गर्दै क्षेत्रकै उत्कृष्ट संस्थागत विद्यालयमध्ये एक बन्न सफल भएकोमा प्रशंसा गरेका थिए ।
    त्यसैगरी, प्रमुख अतिथि विष्णुप्रसाद पौडेल र विशेष अतिथि दिपेन्द्र लामाले विद्यालयले शिक्षण क्षेत्रमा निरन्तर प्रगति गरिरहेको उल्लेख गर्दै आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्ने विश्वास व्यक्त गरेका थिए ।