2026 April 20/ 07:14: 27am

    धुलिखेल÷धुलिखेल अस्पताल र अन्तर्राष्ट्रिय खोप संस्थान बीचको साझेदारीमा स्थापना भएको  DH–IVI  सहकार्य केन्द्रले नेपालको स्वास्थ्य अनुसन्धान क्षेत्रमा नयाँ अध्याय सुरु गरेको छ । बुधबार एक कार्यक्रमबीच उक्त केन्द्रको शुभारम्भ गरिएको छ ।
    सन् २०१८ देखि सुरु भएको सहकार्यलाई औपचारिक रूप दिँदै स्थापना गरिएको यो केन्द्रले खोप अनुसन्धान, जनस्वास्थ्य नवप्रवर्तन तथा क्षेत्रीय स्वास्थ्य सुरक्षामा उल्लेखनीय योगदान पु¥याउँदै आएको छ । नेपालजस्तो विकासोन्मुख देशका लागि यस्तो अन्तर्राष्ट्रिय सहकार्यले स्वास्थ्य क्षेत्रमा आत्मनिर्भरता बढाउने महत्वपूर्ण आधार तयार गरेको छ । 
DH–IVI  सहकार्य केन्द्र, IVI को विश्वव्यापी नेटवर्कको अभिन्न हिस्सा हो । यो नेटवर्कले विशेष गरी संक्रामक रोगहरू विरुद्ध प्रभावकारी खोप विकास र त्यसको प्रयोगलाई प्राथमिकता दिँदै आएको छ । केन्द्रमार्फत नेपालले अन्तर्राष्ट्रिय स्तरका अनुसन्धानमा सक्रिय सहभागिता जनाउँदै आएको छ । यहाँ सञ्चालन हुने क्लिनिकल परीक्षणहरूले नयाँ खोपहरूको प्रभावकारिता, सुरक्षा तथा दीर्घकालीन प्रभावबारे महत्वपूर्ण तथ्यहरू उपलब्ध गराउँछन् ।
    अस्पतालका प्रशासकीय प्रमुख डा. विराजमान कर्माचार्य, काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. राजीव श्रेष्ठ, आईभीआईका तर्फबाट डा. जेसिका, डा. दिपेश ताम्राकार, डा. सिर्जना डंगोल लगायत विभिन्न विभागका प्रमुखहरू सहभागी समारोहमा सहकार्य केन्द्रको उद्घाटन गर्दै त्यसका विषयमा जानकारी गराइएको थियो । उपचारसँगै अनुसन्धानमा समेत गुणस्तरीय बन्दै आएको धुलिखेल अस्पतालमा तेस्रो चरणका खोप तथा औषधिहरूको अध्ययन तथा अनुसन्धानले थप सहयोग पुग्ने धुलिखेल अस्पतालका प्रशासकीय प्रमुख डा. विराजमान कर्माचार्यले बताए ।
    काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा.राजीव श्रेष्ठले धुलिखेल अस्पतालले उपचारसँगै अध्ययन र अनुसन्धानलाई प्राथमिकता दिएको बताए । धुलिखेल अस्पतालको बाल चिकित्सा भवनको तेस्रो तलामा केन्द्रको शुभारम्भ गरिएको हो । स्वास्थ्यकर्मी र अनुसन्धानकर्ताहरूका लागि अन्तर्राष्ट्रिय खोप विज्ञान कोर्स जस्ता विशेष प्रशिक्षणमार्फत स्थानीय अनुसन्धान क्षमताहरू बढाउने डा. दिपेश ताम्राकारले बताए । राष्ट्रिय तथा क्षेत्रीय स्वास्थ्य नीतिहरूलाई सूचित गर्न एचपीभी जस्ता ठूला रोगहरूबारे अध्ययनहरू सञ्चालन गरिएको छ । धुलिखेल अस्पताल डब्लुएचओको अन्तर्राष्ट्रिय रोगजनक निगरानी नेटवर्कको सदस्य हो, जसले विश्वव्यापी स्वास्थ्य सुरक्षामा केन्द्रको भूमिकालाई अझ बलियो बनाउँछ । 
    केन्द्रले हालसम्म टाइफाइड, कोभिड–१९, हैजा तथा श्वासप्रश्वासमा असर पार्ने भाइरस जस्ता रोगहरूको खोप सम्बन्धी तेस्रो चरणका बहुराष्ट्रिय क्लिनिकल परीक्षणहरू सफलतापूर्वक सञ्चालन गरिसकेको छ । यी परीक्षणहरू विश्व स्वास्थ्यका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छन्, किनकि यसले खोपहरूको वास्तविक प्रभावकारिता प्रमाणित गर्न मद्दत गर्छ । नेपालमा यस्तो स्तरका परीक्षण सञ्चालन हुनु आफैंमा ठूलो उपलब्धि भएको आईभीआईका प्रतिनिधि डा.जेसिकाले बताइन् ।
DH–IVI  केन्द्रले अनुसन्धान मात्र होइन, दक्ष जनशक्ति उत्पादनमा पनि जोड दिएको छ । स्वास्थ्यकर्मी, युवा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूलाई राम्रो क्लिनिकल प्रयोगशाला अभ्यास र खोप विज्ञानसम्बन्धी विशेष तालिम प्रदान गरिन्छ । यसले नेपालमै गुणस्तरीय अनुसन्धान गर्ने वातावरण तयार गर्नुका साथै भविष्यका वैज्ञानिकहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाइरहेको छ ।
    केन्द्रले रोग निगरानी कार्यक्रम, बहु–साइट बायोमेडिकल परीक्षण तथा स्वास्थ्य अर्थशास्त्रसम्बन्धी अध्ययनहरू सञ्चालन गर्दै आएको छ । यस्ता अध्ययनहरूले सरकारलाई प्रभावकारी स्वास्थ्य नीति निर्माण गर्न सहयोग पु¥याउँछन् । विशेषगरी संक्रामक रोगहरूको नियन्त्रण तथा रोकथामका लागि आवश्यक रणनीति तय गर्न यस केन्द्रको अनुसन्धानले महत्वपूर्ण आधार प्रदान गर्ने डा. दिपेश ताम्राकारले बताए । हालसम्म केन्द्रले टाइफाइड खोप परीक्षणमा सफलता प्राप्त गरेको छ । धुलिखेल अस्पतालमा गरिएको
Vi–DT खोप परीक्षणले खोप सुरक्षित र प्रभावकारी रहेको पुष्टि गरेको छ । यसले नेपालमा टाइफाइड नियन्त्रण अभियानलाई थप मजबुत बनाएको छ । त्यस्तै, कोभिड–१९ विरुद्धको लडाइँमा पनि योगदान गरेको छ । कोभिड–१९ महामारीका क्रममा  DH–IVI  सहकार्य अन्तर्गत नेपालमा पहिलो पटक तेस्रो चरणको क्लिनिकल परीक्षण सञ्चालन गरिएको थियो । यसले महामारी नियन्त्रणका लागि आवश्यक वैज्ञानिक आधार तयार गर्न मद्दत गरेको डा. ताम्राकारले बताए ।
    त्यस्तै, शिशु तथा साना बालबालिकामा असर गर्ने श्वासप्रश्वाससम्बन्धी भाइरस विरुद्धका खोपहरूको परीक्षणमा यो केन्द्र अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण साइटका रूपमा स्थापित भएको छ । 
DH–IVI  सहकार्य केन्द्रको स्थापना नेपालका लागि केवल एउटा अनुसन्धान केन्द्र स्थापना मात्र नभई विश्व स्वास्थ्य अनुसन्धानमा नेपालको सशक्त उपस्थिति रहेको सहभागीहरूले बताए । यसले नेपाललाई दक्षिण एसियाको उदीयमान स्वास्थ्य अनुसन्धान केन्द्रका रूपमा स्थापित गर्ने सम्भावना बढाएको छ। साथै, खोपबाट रोकथाम गर्न सकिने रोगहरू विरुद्धको विश्वव्यापी अभियानमा नेपालले अझ प्रभावकारी भूमिका खेल्ने आधार तयार भएको छ ।
    
DH–IVI  सहकार्य केन्द्रले नेपालमा खोप अनुसन्धान, जनस्वास्थ्य नवप्रवर्तन र वैज्ञानिक क्षमताको विकासमा महत्वपूर्ण योगदान पु-याइरहेको छ । अन्तर्राष्ट्रिय सहकार्यको यो नमूनाले भविष्यमा अझ ठूला अनुसन्धान परियोजनाहरू भित्र्याउने काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा.राजीव श्रेष्ठले बताए । नेपाल अब केवल खोप उपभोक्ता राष्ट्र मात्र नभई खोप अनुसन्धान र विकासमा योगदान दिने राष्ट्रका रूपमा आफ्नो पहिचान स्थापित गर्ने उनले बताए ।