2026 April 12/ 02:58: 21am

    धुलिखेल/धुलिखेलमा आयोजित ‘राष्ट्रिय आर्थिक गणना २०८२’ सम्बन्धी जिल्लास्तरीय अन्तरक्रिया तथा छलफल कार्यक्रम धुलिखेलमा सम्पन्न भएको छ । कार्यक्रममा आर्थिक गणनाले स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म अर्थतन्त्रको यथार्थ चित्र प्रस्तुत गर्ने महत्वपूर्ण आधार तयार गर्ने लक्ष्य राखेको जानकारी गराईएको छ । 
    कार्यक्रममा सरकारी निकाय, व्यवसायिक संघ–संस्था तथा सञ्चारकर्मीहरूको सक्रिय सहभागिता थियो । कार्यक्रम जिल्ला आर्थिक गणना कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा सम्पन्न भएको हो । जिल्ला संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतम प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले आर्थिक गणनाले देशको वास्तविक अवस्था उजागर गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गरे । ‘देश कहाँ छ र कस्तो अवस्थामा छ भन्ने थाहा पाउन आर्थिक गणना अपरिहार्य हुन्छन्’–उनले भने । पहिलो पटक सञ्चालन हुन लागेको आर्थिक गणनाबाट सुधारका नयाँ आयामहरू थपिने विश्वास व्यक्त गर्दै उनले व्यक्तिको गोपनीयता सुरक्षित राख्दै अभियान सम्पन्न गरिने स्पष्ट पारे ।
    त्यस्तै, प्रमुख जिल्ला अधिकारी अधिकारीले अर्थतन्त्रको मापनका लागि आर्थिक गणना आधारभूत औजार भएको बताए । उनले कोही नछुट्ने अवधारणाअनुसार सञ्चालन हुने यस अभियानमा सही, तथ्यपरक र विश्वसनीय सूचना उपलब्ध गराउन सबै सरोकारवालालाई आग्रह गरे । कार्यक्रममा आर्थिक गणना अधिकारी दिपक कोईरालाले विश्वमा आर्थिक गणनाको अवस्था, नेपालमा पहिलोपटक गरिएको आर्थिक गणनाको अनुभव तथा हाल सञ्चालनमा रहेको राष्ट्रिय आर्थिक गणना २०८२ का विषयमा विस्तृत कार्यपत्र प्रस्तुत गरेका थिए ।
    उनले गणनाको उद्देश्य, महत्व, कानूनी तथा नीतिगत पक्ष, साथै जिल्लास्तरीय समन्वय समितिको संरचना र भूमिकाबारे जानकारी दिँदै गणकहरूले पूर्ण गोपनीयता कायम राखेर सूचना संकलन गर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखा का अध्यक्ष विनोद न्यौपाने, काभ्रे उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रविन्द्र बैदार तथा होटल संघ काभ्रेका अध्यक्ष प्रल्हाद प्याकुरेल लगायतले आर्थिक गणनाले व्यवसाय संरक्षण, गोपनीयता र देशको आर्थिक अवस्थाको यथार्थ चित्रण गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले व्यवसायीहरूलाई आफ्नो व्यवसायसम्बन्धी यथार्थ तथ्याङ्क उपलब्ध गराउन आग्रह पनि गरेका थिए ।
    आर्थिक गणना भनेको कुनै निश्चित स्थानमा वस्तु वा सेवा उत्पादन, बिक्री वा वितरण गर्ने संस्थाहरूको निर्धारित अवधिभित्रको विवरण सङ्कलन, तथ्याङ्क उत्पादन तथा वितरण गर्ने समग्र प्रक्रिया हो । यस गणनामा १८ वटा उद्योग समूहअन्तर्गतका आर्थिक इकाईहरू समेटिनेछन्, जसले देशको समग्र आर्थिक संरचनालाई स्पष्ट रूपमा चित्रण गर्ने अपेक्षा गरिएको छ । राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत विभिन्न चरणहरू निर्धारण गरिएका छन । कार्यालय स्थापना चैत्र १ गते गरिएको छ भने चैत २० देखि ३० सम्म गणक तथा सुपरिवेक्षक भर्ना र तालिम आयोजना गरिएको छ । २०८३ वैशाख २– असार ७ सम्म सूचीकरण, गणना, अनुगमन तथा सुपरिवेक्षणको कार्य हुनेछ । असार ८ देखि मसान्तसम्म फाराम संकलन, रूजु, ढुवानी तथा कार्यालय बन्द हुनेछ । 
    राष्ट्रिय आर्थिक गणना २०८२ ले नेपालको आर्थिक संरचना, उत्पादन प्रणाली, व्यवसायिक अवस्था र रोजगारीको वास्तविक चित्र प्रस्तुत गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नेछ । यसबाट प्राप्त तथ्याङ्कले नीतिनिर्माण, योजना तर्जुमा तथा आर्थिक विकासका दिशामा दीर्घकालीन प्रभाव पार्ने विश्वास गरिएको छ ।