युरो किड्स बनेपाको ७ औं वार्षिकोत्सव सम्पन्न
बनेपा/अन्तर्राष्ट्रिय स्तरमा भारत, बंगलादेश र नेपाल लगायतका देशमा १७ सयभन्दा बढी शाखा सञ्चालन गर्दै आएको युरो किड्सको बनेपा शाखाले आफ्नो स्थापनाको ७ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ ।
बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यालयका बालबालिकाहरुलाई औपचारिक रूपमा दिक्षित गरिएको थियो । कार्यक्रमले बालबालिकाको शैक्षिक यात्रामा नयाँ अध्याय सुरु भएको संकेत गरेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख शाक्यले युरो किड्स बनेपा शाखा बनेपा नगर क्षेत्र मात्र नभई सम्पूर्ण काभ्रे जिल्लाकै एक नमुना शैक्षिक संस्था भएको उल्लेख गरे । उनले बालबालिकालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको पाठ्यक्रम, सिकाइसँगै व्यवहारिक ज्ञान तथा बालमैत्री वातावरण प्रदान गरिएकोमा विद्यालयप्रति आभार व्यक्त गरे । साथै, बदलिँदो समय र सरकारी नीतिगत विविधताका कारण शैक्षिक संस्थाहरूले नयाँ ढंगबाट सञ्चालनमा ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा सेन्टर प्रमुख सुनिता गिरीले विद्यालयलाई पूर्ण रूपमा बालमैत्री वातावरणमा सञ्चालन गर्न अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिइन् । उनका अनुसार विद्यालयमा योगा, संगीत, खेलकुद तथा विविध सिर्जनात्मक गतिविधिहरू समेटिएका छन् । उनले गुणस्तरीय शिक्षा, व्यवहारिक तथा सामाजिक ज्ञानको विकासका लागि १० जना विद्यार्थी बराबर एक शिक्षक रहने व्यवस्था गरिएको पनि बताइन् । गिरीले बालबालिकालाई एकअर्कासँग तुलना नगर्न, उनीहरूको हौसला बढाउन तथा आत्मविश्वास विकास गर्न अभिभावक र शिक्षक दुबै पक्षले विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याइन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष मोतीराम तिमल्सिना, विद्यालयका संचालक राजेश गिरी, पत्रकारहरू रमेश न्यौपाने, विकास तिमल्सिना लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थित अभिभावकहरूले विद्यालयले सञ्चालन गर्दै आएको बालमैत्री तथा गुणस्तरीय शैक्षिक कार्यक्रमहरूको खुलेर प्रशंसा गरेका थिए ।
बेलर किड्स क्यास्टलको १५ औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न
बनेपास्थित बेलर इन्टरनेशनल स्कुलद्वारा सञ्चालित मण्टेश्वरी किण्डरगार्डेन ‘किड्स क्यास्टल’को १५ औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमसँगै १५ औँ समूहका ७१ जना बालबालिकालाई दीक्षित गरिएको थियो ।
विद्यालयले प्रत्येक वर्ष विद्यालय शिक्षामा प्रवेश गर्ने बालबालिकालाई औपचारिक रूपमा दीक्षित गर्दै आएको छ । यस वर्ष पनि बालबालिकाको सर्वाङ्गीण विकासलाई केन्द्रमा राख्दै विभिन्न सृजनात्मक तथा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला थापाले बालबालिकालाई केवल औपचारिक शिक्षा प्रदान गरेर मात्र असल नागरिक बनाउन नसकिने बताउँदै नैतिकता, चरित्र निर्माण र व्यवहारिक शिक्षामा जोड दिनुपर्ने धारणा व्यक्त गरे । उनले किड्स क्यास्टलले बालबालिकाको समग्र विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै समय र प्रविधिअनुसारको शिक्षाका लागि विद्यालयले तालिमप्राप्त शिक्षक, आधुनिक प्रविधि र बालमैत्री वातावरण उपलब्ध गराउँदै आएको जानकारी दिए ।
त्यस्तै, बेलर इन्टरनेशनल एकेडेमीकी म्यानेजिङ डाइरेक्टर इन्दु थापाले बदलिँदो समय, बालबालिकाको चाहना र प्रविधिको विकासलाई ध्यानमा राख्दै शिक्षण पद्धतिमा सुधार गरिएको बताइन् । उनले व्यवहारिक तथा सामाजिक ज्ञानसँगै गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयले भौतिक पूर्वाधारको विकासलाई समेत प्राथमिकता दिएको उल्लेख गरिन् । विद्यालयकी प्रिन्सिपल सविना प्रजापति कारञ्जितले बालबालिकालाई केवल ज्ञान प्रदान गर्नु मात्र पर्याप्त नभई उनीहरूमा अन्तर्निहित क्षमता र सीपलाई प्रस्फुटन गराउनु विद्यालय र अभिभावक दुवैको प्रमुख जिम्मेवारी भएको बताइन् । उनले बालबालिकाको क्षमता पहिचान गरी उनीहरूलाई सही मार्गमा अघि बढाउने वातावरण सिर्जना गर्नु नै विद्यालयको मुख्य उद्देश्य रहेको स्पष्ट पारिन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पूर्व अध्यक्ष महेशराज पौड्याल, मोतीराम तिमल्सिना, प्याब्सनका सह–सचिव डिवी ऐडी लगायतले विद्यालयले सञ्चालन गरेका गतिविधि बालमैत्री र प्रभावकारी रहेको उल्लेख गर्दै दीक्षित बालबालिकालाई उज्ज्वल भविष्यको शुभकामना दिएका थिए ।
कार्यक्रम शिक्षिका सविना दाहाल गंगाईले सञ्चालन गरेकी थिइन् भने बालबालिकाहरूले प्रस्तुत गरेका सांस्कृतिक कार्यक्रमले समारोहलाई थप आकर्षक बनाएको थियो ।
डिस्कभरी मन्टेश्वरीको १० औँ दीक्षान्त समारोह, २५ बालबालिका दीक्षित
बनेपा/बनेपास्थित डिस्कभरी मन्टेश्वरीले आफ्नो १०औँ दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरेको छ । समारोहका अवसरमा २५ जना बालबालिकाहरू दीक्षित भएका छन् ।
बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा वडा अध्यक्ष चन्द्रबहादुर खड्का, अभिभावकहरू समर्पण धौगोडा र नारायण निरौला, साथै विद्यार्थीहरू रियान्सी बुढाथोकी र पल्लवी श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विद्यालयकी को–अर्डिनेटर गीता थापाले स्थापना कालदेखि नै डिस्कभरी मन्टेश्वरीले बालमैत्री वातावरणमा शिक्षण प्रदान गर्दै आएको बताइन् । उनले विद्यालय तहमा प्रवेश गर्नु अघि बालबालिकाले सिक्नुपर्ने आधारभूत विषयहरूमा विशेष ध्यान दिइएको उल्लेख गरिन् ।
उपप्रमुख सापकोटाले नगरभित्रका विद्यालयहरूमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न शिक्षणमैत्री तथा बालमैत्री ऐन–कानूनहरू निर्माण गरी कार्यान्वयनमा ल्याइएको जानकारी दिइन् । उनले प्रत्येक बालबालिकालाई सहज र सरल रूपमा शिक्षा उपलब्ध गराउने उद्देश्यले नगरपालिका सक्रिय रहेको बताउँदै शिक्षा पाउने अधिकारबाट कुनै पनि बालबालिका वञ्चित नहुने वातावरण सिर्जना गरिएको स्पष्ट पारिन् । साथै, डिस्कभरी मन्टेश्वरीले विगत दशकदेखि प्रदान गर्दै आएको बालमैत्री शिक्षाप्रति उनले प्रशंसा व्यक्त गरिन् ।
विद्यालयका अध्यक्ष गणेश काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
एसओएस हर्मन माइनर स्कुलद्वारा ३१ बालबालिका औपचारिक शिक्षामा दीक्षित
श्रीखण्डपुर/पनौती नगरपालिका–५ स्थित एसओएस हर्मन माइनर स्कुलले विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर ३१ जना बालबालिकालाई औपचारिक शिक्षामा प्रवेश गराउँदै दीक्षित गरेको छ ।
विद्यालयले आयोजना गरेको विशेष कार्यक्रममा विविध सांस्कृतिक तथा शैक्षिक गतिविधिसहित अभिभावक दिवस समेत उत्साहका साथ मनाएको थियो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल नरेश्वर आचार्यले संस्थाको समग्र शैक्षिक अवस्थाबारे जानकारी गराउँदै हाल सञ्चालनमा रहेका शैक्षिक कार्यक्रम, अतिरिक्त क्रियाकलाप तथा आगामी योजनाहरू सार्वजनिक गरे ।
उनका अनुसार विद्यालयको पूर्व–प्राथमिक तहमा हाल १८९ जना विद्यार्थी अध्ययनरत छन् भने चालु शैक्षिक सत्रमा कुल ६८० विद्यार्थी अध्ययन गरिरहेका छन् । विद्यालयमा ५० जना शिक्षक तथा कर्मचारीमार्फत गुणस्तरीय शिक्षा प्रदान हुँदै आएको छ । विद्यालयका २३ औं ब्याचका विद्यार्थीहरूले एसएलसी तथा एसईई परीक्षा दिइसकेका छन् भने कक्षा १२ को परीक्षामा सहभागी हुने १८औं ब्याच तयारी अवस्थामा रहेको जानकारी उनले दिए । विद्यालयले शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्रियाकलापमा पनि विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गरेको प्रिन्सिपल आचार्यले बताए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुल्सीरत्न छुन्जुको प्रमुख आतिथ्यतामा तथा प्रिन्सिपल आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य विद्यालयकी उप–प्रिन्सिपल रमिता देउजाले राखेकी थिइन् । कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छुन्जुले एसओएसका अन्तर्राष्ट्रिय मान्यताअनुसार बालमैत्री वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गरिँदै आएको बताए । उनले विद्यालयले उच्चस्तरीय शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे ।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो । शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूले विद्यालयले प्रदान गरिरहेको शैक्षिक कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए । कार्यक्रमका अवसरमा दीक्षित बालबालिकाहरूले रुचिअनुसारका पोशाकमा विभिन्न प्रस्तुति दिँदै समारोहलाई आकर्षक बनाएका थिए ।
बालबाटिका विद्या मन्दिरको ३७ औं वार्षिकोत्सव, उत्कृष्ट विद्यार्थी सम्मानित
बनेपा/बनेपामा अवस्थित बालबाटिका विद्या मन्दिर माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ३७ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरेको छ ।
कार्यक्रम विद्यालयका संस्थापक निर्देशक रवि श्रेष्ठको अध्यक्षतामा तथा प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको थियो । समारोहमा एसईई २०८१ मा ४ जिपिए ल्याई जिल्ला प्रथम हुने विद्यार्थी सुशासन गौतमलाई नगदसहित सम्मान गरिएको थियो । विद्यालयकी प्रिन्सिपल रजना श्रेष्ठले विद्यालय स्थापना कालदेखि हालसम्म निर्माण गरिएको शैक्षिक वातावरण, विद्यार्थीहरूले हासिल गरेका उपलब्धि तथा आगामी शैक्षिक योजनाबारे जानकारी गराइन ्। उनले बालबाटिका विद्यालय शैक्षिक क्षेत्रमा नमुना संस्थाका रूपमा स्थापित भइसकेको उल्लेख गरिन् ।
कार्यक्रमका प्रमुख अतिथि प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीले शिक्षा कहिल्यै अन्त्य नहुने क्षेत्र भएकाले बालबाटिकाले स्थापना कालदेखि हालसम्म पु¥याएको योगदान प्रशंसनीय रहेको बताए । उनले विद्यालयले सञ्चालन गरिरहेका शैक्षिक गतिविधिहरू अन्तर्राष्ट्रिय मापदण्डअनुसार रहेको उल्लेख गर्दै गुणस्तरीय शिक्षक, पूर्वाधार र पाठ्यक्रमको समन्वय नै संस्थाको पहिचान भएको धारणा राखे ।
संस्थापक निर्देशक रवि श्रेष्ठले विद्यालयले उत्पादन गरेका विद्यार्थी तथा अभिभावकहरूको सन्तुष्टिले नयाँ कार्यक्रमहरू कार्यान्वयन गर्न प्रेरणा मिलेको बताए । उनले विद्यालयले केवल घोकाउने मात्र नभई बुझाउने, व्यावहारिक ज्ञान दिने, अनुशासन र संस्कारसहित आत्मविश्वासी नागरिक उत्पादन गर्ने लक्ष्यसहित काम गरिरहेको स्पष्ट पारे ।
प्याब्सनका महासचिव आरवी कटुवालले निजी क्षेत्रका विद्यालयहरूले सरकारसँग सहकार्य गर्दै संस्थागत विकासमा अगाडि बढ्नुपर्ने बताए। उनले गुणस्तरीय शिक्षामा निजी क्षेत्रको योगदान उल्लेखनीय रहेको भन्दै करिब चार दशकसम्म निरन्तर शिक्षण गतिविधि सञ्चालन गर्नु चुनौतीपूर्ण र उदाहरणीय कार्य भएको बताए ।
त्यसैगरी उपमहासचिव भिमसेन केसीले विद्यालयलाई बधाई दिँदै आगामी दिनमा प्रविधिमैत्री शिक्षामा थप जोड दिन आग्रह गरे। कार्यक्रममा प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल, पूर्व अध्यक्ष सत्यनारायण श्रेष्ठ, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पूर्व अध्यक्ष मोतीराम तिमल्सिना लगायतले विद्यालयको योगदानबारे चर्चा गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति दिएका थिए । दीक्षित विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो । यसै अवसरमा विद्यार्थीहरू विज्ञा मोक्तान, सयोना सिग्देल, श्रृषा मानन्धर, रोशनी कुमारी शाह, सरिता श्रेष्ठ, शिक्षक शुभेच्छा खत्री तथा अभिभावक गोकर्ण दुलाल लगायतले विद्यालयले प्रदान गरेको शिक्षाको प्रभावकारिताबारे आफ्ना धारणा व्यक्त गरेका थिए ।
बेलर किड्स क्यासलद्वारा दोस्रो स्प्रिङ्ग फुटसल क्याम्प सुरु
बनेपा÷किड्स क्यासल, बेलर इन्टरनेशनल मन्टेश्वरी किन्डर गार्टेन ले दोस्रो संस्करणको स्प्रिङ्ग फुटसल क्याम्प २०८२ सुरु गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा प्रिन्सिपल सविना प्रजापति ले क्याम्पको औपचारिक उद्घाटन गरेकी हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रजापतिले बालबालिकाको समग्र विकासका लागि यस्ता अतिरिक्त गतिविधि अत्यन्त आवश्यक हुने बताइन् । उनले भनिन्, ‘परीक्षा सकिएका बालबालिकाका लागि यो क्याम्प निकै उपयोगी हुन्छ । गत वर्षदेखि सुरु गरिएको यो कार्यक्रमप्रति विद्यार्थीहरूको आकर्षण बढ्दो छ ।’
गत वर्ष २० जना विद्यार्थी सहभागी रहेको क्याम्पमा यस वर्ष सहभागी संख्या बढेर ४४ पुगेको छ । सबै सहभागी विद्यार्थी उक्त विद्यालयमा अध्ययनरत रहेका छन् । विद्यालय बन्द रहने अवधिमा बालबालिका मोबाइलमा बढी समय बिताउने प्रवृत्तिलाई कम गर्न तथा उनीहरूको शारीरिक, मानसिक र सामाजिक विकासमा सहयोग पु¥याउने उद्देश्यले क्याम्प आयोजना गरिएको प्रजापतिले जानकारी दिइन् । फुटसलमार्फत बालबालिकालाई अनुशासित, आत्मविश्वासी र सक्षम नागरिक बनाउने लक्ष्य रहेको उनले उल्लेख गरिन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पूर्व अध्यक्ष मोतीराम तिमल्सिना ले बालबालिकाको सर्वाङ्गीण विकासका लागि खेलकुदको भूमिका महत्वपूर्ण हुने बताए । विद्यालयको फुटसल मैदानमा सञ्चालन भइरहेको क्याम्पमा बालबालिकालाई दुई समूहमा विभाजन गरी बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सात दिनसम्म प्रशिक्षण दिइनेछ । क्याम्पमा प्रशिक्षकका रूपमा राजु लामा र निकेश नापितले प्रशिक्षण दिनेछन् ।
कार्यक्रम शिक्षिका सविना दाहाल गन्गाईले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा रमेश न्यौपाने, विकास तिमल्सिना लगायत विद्यालयका विभिन्न विभागका प्रमुखहरूको उपस्थिति रहेको थियो ।
आदर्श विद्या मन्दिरद्वारा पूर्व–प्राथमिक तहका ६२ बालबालिका स्तरउन्नती
बनेपा/आदर्श विद्या मन्दिर ले विद्यालय जानुअघि तयारी कक्षामा अध्ययनरत बालबालिकाहरूलाई स्तरउन्नती गरी औपचारिक विद्यालय शिक्षामा प्रवेश गराएको छ । यस वर्ष ६२ जना बालबालिकाहरू स्तरउन्नतीका लागि योग्य ठहरिँदै प्रमाणपत्र वितरण गरिएको विद्यालयले जनाएको छ । यो कार्यक्रम विद्यालयको तेस्रो समूह हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण आचार्य को अध्यक्षतामा सम्पन्न कार्यक्रममा तेजगंगा बहुमुखी क्याम्पस की संस्थापक क्याम्पस प्रमुख डा.अम्बुभवानी कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै डा. कार्कीले बालबालिकाको सिकाइ, व्यवहार र संस्कार निर्माणमा पूर्व–प्राथमिक तहको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताइन् । ‘बालबालिका काँचो माटो जस्तै हुन्छन्, उनीहरूलाई कस्तो बनाउने भन्ने कुरा उनीहरूलाई दिइने ज्ञान, सीप, व्यवहार र संस्कारले निर्धारण गर्छ’– उनले भनिन् । असल नागरिक निर्माणका लागि विद्यालय, अभिभावक र समुदायको संयुक्त जिम्मेवारी हुने पनि उनले उल्लेख गरिन् ।
विद्यालयका संस्थापक प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले आदर्श विद्या मन्दिरलाई जिल्लाकै नमूना विद्यालयका रूपमा स्थापित गर्ने प्रयास भइरहेको बताउँदै अभिभावकहरूलाई निर्धक्क भई आफ्ना बालबालिकाहरूलाई अध्ययनका लागि पठाउन आग्रह गरे । उनले गुणस्तरीय शैक्षिक वातावरणले बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा टेवा पुग्ने र बदलिँदो प्रविधिसँग अभ्यस्त बनाउन विद्यालय सक्रिय रहेको जानकारी दिए ।
विद्यालयकी सह–प्रिन्सिपल ललिता बञ्जारा तिमल्सिना ले बालबालिकाका लागि आवश्यक पूर्वाधारसहित बालमैत्री वातावरण विद्यालयमा उपलब्ध रहेको बताइन् । कार्यक्रममा विद्यालयका भोजराज तिमल्सिना, शिक्षक, अभिभावक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रम शिक्षिका पार्वती हुमागाई ले सञ्चालन गरेकी थिइन् । स्तरउन्नती भएका बालबालिकाहरूले कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए ।
अकुंर प्रिस्ुकलको बार्षिकोउत्सब तथा दिक्षान्त समारोह
बनेपा/बनेपा–६ बुडोलमा रहेको अंकुर प्रि–स्कुलको वार्षिकोत्सव तथा पहिलो दीक्षान्त समारोह सम्पन्न भएको छ ।
बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा काठमाडौ विश्वविद्यालयका प्रोफेसर डिन डा. मनिष पोखरेलको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी शाक्यले बनेपामा सबै तहका पढाई हुने विद्यालय रहेको बताए । बनेपा शैक्षिक हबका रुपमा रहेको बताउदै प्रि प्राईमरी बालबालिकाको जग भएको बताए । उनिहरुलाई शुरुमा राम्रो संस्कार र ब्यबहारिक ज्ञान दिन सके पछि सम्म त्यहि सिक्ने शाक्यको भनाई रहेको थियो । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सचितानन्द केसी, अभिभावक, विद्यार्थीले मन्तब्य राखेका थिए । कार्यक्रम स्कुलका सञ्चालक समितिका अध्यक्ष डा.सन्तोष गौतमको सभापतित्वमा सम्पन्न भएको थियो ।









