2026 April 30/ 03:21: 45pm

धुलिखेल/अरनिको राजमार्ग स्थित बनेपामा गरिएको सवारी साधनको चेक जाँचका क्रममा बसका चालकहरु लागु पदार्थ सेवन गरी बस हुईक्याईरहेको फेला परेको छ । अन्य सवारी साधनका चालकहरु पनि लागु औषध सेवनमा सक्रिय देखिएका छन् । यसअघि पनि ट्राफिक प्रहरी कार्यालय काभ्रेद्वारा विभिन्न स्थानमा गरिएको परिक्षणमा पनि चालकहरु लागु औषध सेवनमा संलग्न भएको फेला परेको थियो । पक्राउ पर्नेहरुमा चौरीदेउराली गाउँपालिका ३ का २६ बर्षिय समीर तामाङ, पनौती ५ का ३८ बर्षिय समिर महत, बर्दिया राजपुर नपाका ३२ बर्षिय महेश चौधरी, सिन्धुपाल्चोक लिसंखु पाखरका २० बर्षिय रोहित घतानी विक र ओखलढुंङ्गा सिनपा १ का २६ बर्षिय सुगम भुजेल रहेका छन् । समीर तामाङ बा प्र ०१–००६ ख ७५१२ नम्वरको महानगर यातायातको बस चलाउँछन् । समीर महत बा ३ ख १३१९ नम्वरको पुण्यवती यातायातको बस चलाउने गरेका थिए । महेशले मयुर यातायातको बा ५ ख ४७७९ नम्वरको बस चलाउँथे । सुगम भुजेलले प्रदेश ३–०१–००३ क ४७०७ नम्वरको पानी ट्याङ्कर चलाउँथे । 
    २०८२ साल चैत १२ गते सवारी दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले इलाका प्रहरी कार्यालय बनेपा र जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाको संयुक्त आयोजनामा विशेष अभियान सञ्चालन गरिएको थियो । ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसार कार्यक्रममा शीर मेमोरियल अस्पतालको प्राविधिक सहयोग रहेको थियो । बनेपा नगरपालिका वडा नं. १३ जनागाल स्थित बी.पी. राजमार्ग तथा अरनिको राजमार्ग खण्डमा सञ्चालन हुने सार्वजनिक सवारी साधनका चालकहरूलाई लक्षित गरी लागुपदार्थ सेवन चेकजाँच गरिएको थियो । सोहि क्रममा कुल ३९ जना चालकहरूको परीक्षण गर्दा ४ जना भाडा बस चालकहरूले लागुपदार्थ सेवन गरेको पुष्टि भएको छ । उनीहरूलाई आवश्यक थप कारबाहीका लागि इलाका प्रहरी कार्यालय बनेपा पठाइएको प्रहरी निरीक्षक सुनिल धाँजुले बताए । त्यसैगरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाको पहलमा पनौती नगरपालिका स्वास्थ्य शाखा सँग समन्वय र सहकार्यमा अस्थायी ट्राफिक प्रहरी पोष्ट पनौतीद्वारा अर्को कार्यक्रम सञ्चालन गरिएको थियो ।
    पनौती नगरपालिका ५ आईटी पार्क स्थित बनेपा–पनौती सडक खण्डमा सञ्चालन भएका विभिन्न सवारी साधनका २० जना चालकहरूको चेकजाँच गर्दा १ (एक) जना ट्याङ्कर चालकले लागुपदार्थ सेवन गरेको पुष्टि भएकोले उनलाई पनि आवश्यक थप कारवाहीका लागि इलाका प्रहरी कार्यालय बनेपा पठाइएको छ । उक्त अभियानले सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षामा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको प्रहरी निरिक्षक धाँजुले बताए ।