2025 May 14/ 06:44: 23am

विकास तिमल्सिना/धुलिखेल
          धुलिखेल नगरपालिका वडा नम्बर ४ मा महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाहरुको लागि मानसिक स्वास्थ्य सम्बन्धी दुई दिने तालिम आयोजना गरिएको छ । 
            प्रदेश जनस्वास्थ्य कार्यालय काभ्रेको आयोजना तथा धुलिखेल नगरपालिकाको समन्वयमा बखुण्डोल आधारभुत स्वास्थ्य सेवा केन्द्रमा दुई दिने तालिम आयोजना गरिएको हो । तालिममा धुलिखेल नगरपालिका वडा नम्बर ३, ४, ५, ६ र ७ का १८ जना महिला स्वास्थ्य स्वयम् सेविकाहरु सहभागी थिए । ४ समुहमा सञ्चालन गरिएको तालिमको मंगलबार र बुधबार सञ्चालन भएको थियो ।
           तालिम उद्घाटन कार्यक्रममा धुलिखेल नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष उत्तम तिमल्सिना, वडा सदस्यहरु, जनस्वास्थ्य कार्यालय काभ्रेका पदम कैनी, धुलिखेल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसी, बखुण्डोल आधारभुत स्वास्थ्य केन्द्र इन्चार्ज हेमा संग्रौला लगायतको उपस्थिती रहेको थियो । तालिममा धुलिखेल नगरपालिका मनोपरामर्शदाता उषा अर्याल र सुशिला बुढाले प्रशिक्षण दिएका थिए । कार्यक्रममा वडा अध्यक्ष तिमल्सिनाले धुलिखेल नगरपालिकाको स्वास्थ्य शहर अभियानमा महिला स्वास्थ्य स्वयम् सेविकाको महत्वपूर्ण भूमिका रहेको भन्दै प्रशंसा गरेका छन् । उनले मानसिक स्वास्थ्यका बारेमा समुदायमा सचेतना जरुरी रहेकोमा जोड दिए ।
स्वास्थ्य केन्द्र इन्चार्ज हेमा संग्रौलाले स्वास्थ्य केन्द्रले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि घरदैलो कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै अब मानसिक स्वास्थ्य कार्यक्रमलाई समेतसँगै लैजाने बताइन् । स्वास्थ्य शाखा प्रमुख सन्दीप केसीले क्रमशःअन्य वडामा समेत मानसिक स्वास्थ्य तालिम सञ्चालन हुने बताएका छन् ।
           वडा नम्बर १ र २ को रविओपि स्वास्थ्य चौकीमा जेठ १ र २ गते, वडा नम्बर ८, ९, र ११ को काभ्रे स्वास्थ्य चौकीमा वैशाख २८ र २९ गते र वडा नम्बर १० र १२ को शारदा बतासे स्वास्थ्य चौकीमा वैशाख ३० र ३१ गते तालिम सञ्चालन हुनेछ । नगरपालिकाका ६९ जना महिला स्वास्थ्य स्वयम् सेविकालाई तालिम दिइने शाखा प्रमुख केसीले जानकारी दिए । पछिल्लो समय मानसिक स्वास्थ्य सम्बन्धी समस्या बढ्दै गएपछि यसबारे सचेतना जगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।