रविगाउँ, धुलिखेल/३ सय भन्दा घर धुरीलाई ब्यवस्थित खानेपानी उपलब्ध गराउने उदेश्यले धुलिखेल नगरापलिका वडा नम्वर २ रविगाउँमा खानेपानी ट्याङ्की निर्माण शुरु गरिएको छ । खानेपानी ट्याङ्कीको शिलान्यास नगर प्रमुख अशोक ब्याञ्जुले गरेका छन् ।
उपभोक्ताहरुलाई स्वस्थ र गुणस्तर खानेपानी उपलब्ध गराउने योजना अनुरुप भईरहेको पुरानो ट्याङ्की चुहावट हुन थालेपछि नयाँ ट्याङ्की निर्माण शुरु गरिएको हो । स्वस्थ शहर धुलिखेल नगर भन्ने अभियान अनुरुप खानेपानी, स्वास्थ्य, शिक्षा तथा अन्य पुर्वाधार निर्माण गरिएको नगर प्रमुख ब्याञ्जुले बताए । प्रदेश सरकारको खानेपानी तथा सरसफाई कार्यालय मार्फत विनियोजित १० लाख रुपैया मार्फत निर्माण शुरु गरिएको उक्त खानेपानी ट्याङ्कीका लागि २० लाख रुपैया खर्च हुनेछ । स्थानीय जनश्रमदान र नगरपालिकाको सहयोगमा निर्माण सम्पन्न गर्ने गरी उक्त खानेपानी ट्याङ्की निर्माण गरिएको हो ।
उपभोक्ता समितिका अध्यक्ष टंकप्रसाद घोरसाईनेको अध्यक्षतामा गठन भएको उपभोक्ता समिति मार्फत निर्माण शुरु गरिएको खानेपानी ट्याङ्कीमा ठाडोखोला र जुके झलझले मुहानबाट ल्याएको खानेपानी संकलन गरिनेछ । १ लाख १५ लिटर क्षमताको ट्याङ्ककीमा १ लाख लिटर खानेपानी संकलन हुनेछ । ८ इन्ज मोटाई रहने उक्त ट्याङ्की गोलाकारमा निर्माण हुनेछ । खानेपानी ट्याङ्की निर्माण पश्चात निरन्तर २०५२ सालमा निर्माण भएको पुरानो ट्याङ्कीबाट खानेपानी उपभोग गरिरहेका उपभोक्ताहरुका लागि सहज हुने वडा अध्यक्ष अर्जुन न्यौपानेले बताए । खानेपानी ट्याङ्की निर्माणको क्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।