श्रीखण्डपुर/धुलिखेल नगरपालिका–५ स्थित श्रीखण्डपुर माध्यमिक विद्यालयमा निरन्तर सुधार योजनामा आधारित एमजीएमएल कार्यक्रम शुरु गरिएका विद्यालयका सरोकारवालाहरुका लागि एक दिने कार्यशाला सम्पन्न भएको छ ।
शैक्षिक सशक्तिकरण केन्द्रको अयोजना, जर्मन नेपाल सहयोग संघको सहयोग र धुलिखेल नगरपालिकाको समन्वय र सहकार्यमा कायर्शाला सञ्चालन गरिएको हो । कार्यशालामा शिक्षा क्षेत्रमा मुख्य सरोकारवालाका रुपमा रहेका शिक्षक, व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, आमा समुह र स्थानीय सरकारका प्रतिनिधिको सहभागीता रहेको थियो । शिक्षाको गुणस्तर सुनिश्चित भएको विद्यालय तयार गर्नका लागि सरोकारवाला पहिचान गर्ने, सरोकारवालालाई जिम्मेवारी र भूमिकाप्रती सचेत गर्दै योजना बनाउने सचेतनामूलक कार्यक्रमको रुपमा कार्यशाला गरिएको शैक्षिक सशक्तिकरण केन्द्रका कार्यकारी निर्देशक दिपक रोक्काले बताए ।
एमजीएमएल कार्यक्रमले बालमैत्री कक्षाकोठा, सिकाई सामाग्री, बिहानी बैठक, सिकाई पारदर्शिता र सामुदायिक सिकाईमा जोड दिइरहेको उनले बताए । संस्कार सहितको प्रभावकारी र व्यवहारिक शिक्षा मार्फत शैक्षिक सुधारको प्रयास भइरहेको उनको भनाई थियो । स्तर अनुसारको सिकाई, निरन्तर मूल्यांकन, पुनर्अभ्यास र शैक्षिक सामाग्रीमा आधारित शिक्षा एमजीएमएल कार्यक्रमको मुख्य विशेषता रहेको उनले बताए । श्रीखण्डपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक जुजुभाई मान्धरले एमजीएमएल कार्यक्रम गुणस्तरीय शिक्षाको आधार भएको बताए ।
पञ्चकन्या आधारभुत विद्यालयबाट कार्यशालामा सहभागी अभिभावक शान्ता थापाले आफ्ना छोराछोरीको इच्छा अनुसारको व्यवहार गर्नुपर्ने, कतिपय विषयमा निगरानी राख्नपर्ने विषय सिकेको बताइन् । श्रीखण्डपुर माविका शिक्षक शिव बञ्जाराले व्यवहारिक शिक्षा प्रदान गर्नका लागि एमजीएमएल कार्यक्रम प्रभावकारी भएको बताए । कार्डबाट हुने सिकाई र स्तर अनुसारको सिकाई महत्वपुर्ण रहेको उनको भनाइ थियो । कार्यशालाले गुणस्तरीय शिक्षा उपलब्ध गराउने विद्यालयको योजनालाई शक्ति पुगेको महसुस गरेको उनले बताए ।