2026 September 02/ 12:10: 31am

    पनौती/काभ्रे इङ्गलिस माध्यमिक विद्यालय पनौतीको २६ औं बार्षिकोत्सव कार्यक्रम पञ्चकन्याद्वारा शुभारम्भ गरि मनाईएको छ । विद्यार्थीहरुले ब्यवहारीक शिक्षासँगै प्रयोगात्मक र अतिरिक्त कृयाकलापमा संलग्न भई सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । 
    विद्यालय संचालक समितिका अध्यक्ष जगन्नाथ अवाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचालक सदस्यहरु बालभक्त प्रधान, शान्तिराज कायश्थ, रामशरण लुईटेल, भुवनकाजी मानन्धर, ईन्द्रबहादुर श्रेष्ठ, काभ्रे मावि बनेपाका प्रिन्सिपल कुमार मानन्धर लगायतका विभिन्न विभागका प्रमुखहरुको सहभागिता रहेको थियो । विद्यालयका प्रिन्सिपल बसन्तराज नेपालले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गरी शैक्षिक गतिविधि तथा आगामी योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थी प्रतिनिधि विनिता घिमिरे, अभिभावक, शिक्षक नितामाया थोकर, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पुर्व अध्यक्ष मोतीराम तिमल्सिना लगायतले शुभकामना मन्तब्य राखेका थिए । 
    वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरुले ५० वटा भन्दा धेरै कृयाकलाप प्रस्तुत गरेका थिए । कक्षा ११ र १२ का विद्यार्थी सहभागि खेलकुद प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । सोहि कार्यक्रमको सहजिकरण विज्ञान विभागका प्रमुख सुदिप न्यौपानेले गरेका थिए । २०८० को कक्षागत उत्कृष्ट विद्यार्थी, अनुशासित, सरसफाई विद्याका सर्वाेत्कृष्ट विद्यार्थी, वर्षकै जेहेन्दार र नियम विद्यालय आउने विद्यार्थी सम्मान कार्यक्रमको सहजिकरण सहायक प्राचार्य शिक्षक शन्तकुमार श्रेष्ठले गरेका थिए । 
    बार्षिकोत्सव कार्यक्रममा प्रिन्सिपल चोईस अवार्ड, उत्कृष्ट शिक्षक, उत्कृष्ट कर्मचारी सम्मान, दिर्घसेवा पदक सम्मान कार्यक्रम आयोजना गरिएको थियो । प्राचार्य बसन्तराज नेपाल सहित संचालक सदस्यहरुले सम्मानितहरुलाई सम्मान प्रदान गरेका थिए ।