2025 February 10/ 02:52: 14am

    बनेपा/जीवन साहरा फाउन्डेशन नेपालले बालबालिकाहरुलाई लागु औषध तथा दुब्र्यसनबाट जोगाउन विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । अध्यक्ष ललिता ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रम न्यू मोडल एकेडेमीमा आयोजना गरिएको थियो । बनेपा नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष चन्द्रबहादुर खड्काको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । 
    कार्यक्रममा बोल्दै वडा अध्यक्ष चन्द्र बहादुर खड्काले विद्यालय तहबाट बालबालिकाहरुलाई सकारात्मक बाटो तथा लागु औषध दुब्र्यसनका संकटका बारेमा बुझाउने अभियानलाई सहयोग र समन्वय गर्ने बताए । वडा भित्र रहेका तीन वटा विद्यालयका सबै विद्यार्थीहरुलाई लागु औषध दुब्र्यसन विरुद्धको अभियानमा सचेत गराउन फाउण्डेशनलाई सहयोग गर्ने अध्यक्ष चन्द्रबहादुर खड्काले बताए । फाउण्डेशनकी अध्यक्ष ललिता ढुंगानाले वडा स्तरमा रहेका विद्यालय, विद्यालयका अभिभावक तथा समुदाय स्तरमा समेत लागु औषध दुब्र्यसनका बारेमा सचेतना फैलाउने बताईन् । 
    कार्यक्रममा न्यू मोडल एकेडेमीका प्रिन्सिपल इश्वर केसी लगायत विद्यालयका शिक्षक तथा विद्यार्थीहरु, वडा सदस्यहरु शुशिल थापा र द्रौपदा केसी, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पुर्व अध्यक्ष मोतिराम तिमल्सिना, पत्रकार विकास तिमल्सिना लगायतको सहभागिता रहेको थियो । बक्तृत्वकला प्रतियोगतामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।