धुलिखेल/धुलिखेल नगरपालिकाले विद्यालय तहमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका बालिकाहरु तथा विद्यालय बाहिरका बालिकाहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाईने खोप एचपिभीका बारेमा विद्यालय तहका शिक्षक तथा संचारकर्मीहरुलाई अभिमुखिकरण गराएको छ ।
खोप समन्वय समितिका अध्यक्ष एवं नगर प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सरोकारवालाहरुले खोपका बारेमा जिज्ञासा राखेका थिए । माघ २२ देखि २९ गतेसम्म पहिलो चरणमा धुलिखेलका १ हजार ४ सय १५ जना बालिकाहरुलाई खोप लगाउने तयारी पुरा भएको छ । विद्यालय बाहिरका १० देखि १४ वर्षसम्मका ८ जनालाई खोप लगाईन्छ ।
समन्वय समितिका अध्यक्ष एवं नगर प्रमुख अशोक ब्याञ्जुले जीवन रक्षाका लागि खोपको महाअभियान सफल बनाउनु पर्ने बताए । सुरक्षित र निशुल्क खोप एचपिभीका लागि सम्पूर्ण तयारी गरिसकेको स्वास्थ्य शाखाका प्रमुख सन्दिप केसीले बताए । १२ वटै वडाका विद्यालयहरुमा खोप केन्द्र तथा त्यसका लागि आवश्यक तयारी र खोप कार्यकर्तालाई तालिम र खोपको महत्वका बारेमा जानकारी गराईएको सन्दिप केसीले बताए ।
अभिमुखिकरण कार्यक्रममा वडा अध्यक्षहरु, जनस्वास्थ्य कार्यालय काभ्रेका खोप अधिकृत पार्थमणी न्यौपाने, स्वास्थ्य शाखाका सरोज थापा, विद्यालयका प्रधानाध्यापकहरु, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने लगायतले खोप अभियान सफल बनाउन सबै क्षेत्रको सक्रियता आवश्यक रहेको बताएका थिए ।