2024 December 06/ 07:14: 47am

धुलिखेल/धुलिखेल नगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत प्रभातफेरी तथा लैङ्गिक हिंसाका घटनाको अवस्था र न्यूनिकरका लागि सरोकारवाला निकायहरुले खेल्नु पर्ने भूमिका बारेमा संवाद आयोजना गरेको छ । साथै सोहि अवसरमा काभ्रेपलाञ्चोक जिल्लामा भएका लैङ्गिक हिंसाका जिल्लागत घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय काभ्रे र धुलिखेल नगरपालिकाले गरेका गतिविधिका बारेमा कार्यपत्र प्रस्तुत गरिएको थियो । 
     प्रभातफेरी कार्यक्रममा नगर प्रमुख अशोक ब्याञ्जु लगायतका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । संवाद कार्यक्रममा कार्यपालिका सदस्य कमला काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख निराजन जंगमको प्रमुख आतिथ्यता रहेको थियो । वडा अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक गणेश  आचार्यको स्वागत मन्तब्य र महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखामा कार्यरत संगिता भण्डारीको संचालनमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधिहरु, शाखा प्रमुख तथा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रे, माईति नेपाल तथा विभिन्न संघ संस्थाहरुको सहभागिता रहेको थियो । 
     जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरिक्षक सरस्वती कार्कीले जिल्लाभर भएका लैङ्गिक हिंसाका तीन वर्षिय गतिविधिहरु प्रस्तुत गरेकी थिईन् भने धुलिखेल नगरपालिका अधिकृत पुजा काफ्लेले नगरपालिकाले गरिरहेका गतिविधिहरुका विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिईन् । कार्यपत्र माथी सहभागिहरुले जिज्ञासा राखेका थिए । 
    संवाद कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले लैङ्गिक हिंसाको अवस्था र प्रहरीले गरिरहेका कृयाकलापका बारेमा जानकारी गराएकी थिईन् । एकद्धार संकट ब्यवस्थापन केन्द्र धुलिखेल अस्पतालमा कार्यरत डा. सम्झना बस्नेतले लैङ्गिक हिंसामा परिरहेका ब्यक्तिहरुको उपचार, उद्धार तथा अवस्था र एकद्धार संकट ब्यवस्थापन केन्द्रको उदेश्य र आवश्यकताका बारेमा जानकारी गराएकी थिईन् । कानुन ब्यवसायी अधिवक्ता लालतारा अधिकारीले महिला तथा लैङ्गिक हिंसामा कानूनी समस्या र अवस्थाका बारेमा जानकारी गराएकी थिईन् । 
    एसपी बसुन्धरा खड्का, कानुन ब्यवसायी लालतारा अधिकारी र एकद्धार संकट ब्यवस्थापन केन्द्रकी सम्झना बस्नेतले प्रस्तुत गरेका विषयहरुमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निर्वतमान अध्यक्ष मोतीराम तिमल्सिना, कानुन ब्यवसायी उमा थापा र माईती नेपालकी गायत्री गौतमले टिप्पणी गरेका थिए । साथै सहभागि वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुले राखेको जिज्ञासा संवादमा सहभागिहरुले दिएका थिए ।