2026 September 01/ 01:13: 16am

    पनौती/कवि सूर्य लाकोजूको घामको पर्खाल नामक नवीनतम कृतिको परिचर्चा गरिएको छ । लाकोजूको उक्त कृतिमाथि समालोचकीय मन्तव्य राख्दै समालोचक श्रीहरि फुयालले लाकोजूको कविता लेखन प्रतिभा अद्वितीय रहेको बताए । 
    मानवीय संवेदना र यथार्थबोधी भावनाले युक्त कविताहरु समेटिएको प्रस्तुत कविता संग्रह नेपाली साहित्यको पठनीय कृति भएको उनले बताए । विजयद्वज थापाले लाकोजूका कविता बलशाली रहेको बताए । घामको पर्खाल कविता संग्रहमा संग्रहित कविताहरू मध्येबाट कवि सुभद्रा अधिकारी, पूर्ण श्रेष्ठ, मीना चौलागाइँ, उत्तम विचार, लव खड्काले कविता वाचन गरेका थिए । कार्यक्रममा साहित्यकार मदन नेपाल, नवराज पोखरेल लगायतले मन्तव्य पोखेका थिए । लाकोजूको कविता संग्रहमा शासन कौशल, परोपकार, समय सापेक्ष सोच, हार्दिक कोमलता, देशको रक्षा, मानवीय विडम्बना, प्रेम भाव, क्रियाशीलता, आत्मीय सम्बन्ध, स्वच्छ शिक्षा, शोषण रहित समाज, सद्ज्ञान, गरिबी, परिश्रम, विवशता, देशभक्ति, प्रगति, शान्ति, उदारता, उत्साह, धैर्य, सहिष्णुता, संयम, जस्ता मानव जीवनसम्बद्ध   विशिष्ठ आशययुक्त कविताहरु  समावेश छन् । कविता, निबन्ध, हाइकु, नियात्रा, मुक्तक, अनुवाद विधामा कलम चलाउँदै आएका लाकोजूका करिव तीन दर्जनभन्दा बढी साहित्यि कृतिहरू प्रकाशित छन् । त्यतिकै संख्यामा उनले साहित्यिक कृतिको सम्पादन समेत गरेका छन ।