2025 May 14/ 07:25: 52am

धुलिखेल/खानीखोला गाउँपालिकामा बाढी पहिरोका कारण एक जनाको ज्यान गएको छ । देविमाया सिंतानको खोलाले बगाएर निधन भएको छ । खानीखोला गाउँपालिका ६ चरौटेबाट बागमती खोलाले उनलाई बगाएको थियो । 
    खानीखोला वडा नम्वर ५, ६ र ७ मा धेरै नागरिकहरुको घर भत्किएको छ । महाँकाल फाँटमा रहेको सयौ रोपनी खेतहरु पुरिएका छन् । चनौटेको झोलुङ्गे पुलमा क्षति भएको छ । सिक्रे दोभानमा सडक क्षति भएको छ भने पुरै बस्ति पुरिएको छ । स्थानीयहरुको खेत तथा बारीमा क्षति पुगेको छ । स्थानीय सरकारको पहलमा तत्काल राहत लैजाने उदेश्यले आज खानीखोलामा नेपाली सेनाको हेलकिप्टमार खाद्यान्न सहितका सामाग्रीहरु लगिएको छ । कालीजंग गणका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहका अनुसार खानीखोला गाउँपालिकामा खाद्यान्न सहितका राहत सामाग्री पठाईएको छ । राहत सामाग्री सहित विपदमा फसेकाहरुको उद्दार गरिएको छ । खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ्गले स्थानीयहरुलाई पुगेको क्षतिको लगत संकलन गरी आवश्यक राहत तथा पुर्नस्थापना कार्य शुरु गरिएको बताए । स्थानीयहरुले सडकमा हिडिरहेकाहरुलाई विस्कुट र चाउचाउ पनि उपलब्ध गराए । राहत सामाग्री रोटरी क्लव बानेश्वर, भिसिएन नेपाल र ब्यक्तिगत रुपमा संकलन गरिएका सामाग्रीहरु राहतका रुपमा पठाईएको स्थानीय राजन अधिकारीले बताए ।