2026 April 30/ 02:12: 50pm

    पनौती/आगामी शनिबार माघ १९ देखी २६ गतेसम्म पनौतीमा रोशी पनौती कप २०७५ हुने भएको छ । समग्र खेल क्षेत्रको विकासका लागि प्रतियोगिता आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
    सुष्त गतिमा निर्माण भइरहेको पनौती क्षेत्रीय रंगशाला निर्माणको कामलाई गति दिन दवाव दिने उदेश्यले समेत पनौती कपको आयोजना गरिएको बताइएको छ । पनौतीमा आयोजित पत्रकार सम्मेलनमा पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने, वरिष्ठ प्रशासकिय अधिकृत इन्द्रप्रसाद अधिकारी, विभिन्न वडाका वडा अध्यक्ष, विश्राम समाजका अध्यक्ष सुरेश ताम्रकार, टीम व्यवस्थापक, प्रशिक्षक एवं खेलाडीको उपस्थिती रहेको थियो । प्रतियोगिताको उद्घाटन माघ १९ गते सुचना सन्चार तथा प्रविधि मन्त्री गोकुल वास्कोटाले गर्नेछन् । विश्राम समाज र पनौती नगरपालिकाको मुख्य आयोजनामा हुने खेलमा रोशी बचत तथा ऋण सहकारी संस्था, आरम्भ समुह, पनौती रोटरी लगायतको सहयोग रहेको छ । वडास्तरीय खेलमा पनौती नगरपालिकाका १२ वटा टिमको सहभागिता रहनेछ । प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार नगद सहित शिल्ड, मेडल प्रमाण पत्र पाउनेछ भने दोस्रो हुनेले नगद ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट खेलाडीले नगद ७ हजार ५ सय, सर्वा्धिक गोलकर्ताले ५ हजार र हरेक खेलको म्यान अफ दि म्याचले नगद १५ सय र ट्रफी पाउनेछन् ।
    यस्तै पनौतीमा जन्मिएर राष्ट्रिय र ए डिभिजन खेल्ने खेलाडीलाई सम्मान गरिने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले खेलको माध्यमबाट युवालाई अघि बढाउन यो प्रतियोगिता महत्वपुर्ण हुने विश्वास व्यक्त गरे । यस्तै विश्राम समाजका अध्यक्ष सुरेश ताम्राकारले प्रतियोगिता सुरुवात मात्र भएको बताउँदै आगामी वर्ष जिल्ला स्तरीय र ५ वर्ष भित्र पनौतीमा राष्ट्रिय स्तरको फुटवल प्रतियोगिता आयोजना गर्ने बताए । यसै बिच पनौती कप २०७५ को टाईसिट सार्वजनिक गरिएको छ । जस अनुसार उद्घाटन खेल वडा नम्वर ७ र वडा नम्वर ८ बिच हुने भएको छ ।