धुलिखेल/वृद्ध मातापिता बोल्ने देउता हुन भन्दै जेष्ठ नागरिक सेवा केन्द्र धुलिखेलले जेष्ठ नागरिकहरुलाई भेला पारि हरेक हप्ता विविध कार्यक्रम गर्दै आएको छ ।
केन्द्रले हप्ताको एक दिन भेला भएका वृद्धवृद्धा माझ भजन–कृतन गर्नुका साथै विभिन्न धार्मिक संघसंस्थाका प्रतिनिधिबाट प्रवचन समेत गर्ने गरेको छ । जसबाट थोरै मात्रामा भएपनि वृद्धवृद्धाले सुखको अनुभुति गरिरहेका छन् । जेष्ठ नागरिक सेवा केन्द्र स्थापना गरेर विगत १६ वर्ष देखि व्यवस्थित रुपमा वृद्धवृद्धाहरुलाई हरेक हप्ता भेला पार्दै विवध कार्यक्रम गर्दै आउनुभएका केन्द्रका अध्यक्ष दिल सुन्दर श्रेष्ठले जेष्ठ नागरिकहरुप्रति राज्यले उचित ध्यान दिन नसकेको बताए । अथाह ज्ञान र सिप र अनुभवका भण्डार रहेका माता पिताहरुले वृद्धावस्थामा एक्लोपन महसुश गर्ने गरेका छन् । घरमा छोरा, छोरी लगाएत परिवारका सदस्यहरुले वृद्ध मातापितालाई समय दिने गरेको पाइदैन । जसको कारण यस केन्द्रमा भेला हुने जेष्ठ नागरिकहरु हप्ताको एकदिन भएपनि सुखको अनुभुति गर्छन ।
केन्द्रका उपाध्यक्ष चुनियालाल माकजुका अनुसार गिता मन्दिरमा हप्ताको एकदिन जेष्ठ नागरिकहरु उपस्थित हुन्छन । हरेक वर्षको दुईपटक केन्द्रले नजिकको तिर्थ पनि लैजाने गरेको छ । जेष्ठ नागरिक सेवा केन्द्र धुलिखेलमा नगरपालिका भित्रका करिब १ सय ९० जना सदस्य भैसकेका छन् । केन्द्रले वर्षको दुईपटक उनिहरुको स्वास्थ्य परिक्षण पनि गर्ने गरेको छ । यहा ६० वर्ष देखि ८८ वर्ष उमेर सम्मका सदस्यहरु हरेक हप्ता भेला हुन्छन् । ‘जातजातिको साप्रदायिक मतभेद छैन । वृद्धवृद्धाहरु एक आपसमा साथि बनाएर मज्जाले गफिन्छन । वृद्धवृद्धाहरु यसरी रमाएको देख्दा निकै हर्षको अनुभुति हुन्छ’ उपाध्यक्ष माकजु भन्छन– जेष्ठ नागरिक सेवा केन्द्रले आफ्नै भवन निर्माण गर्न जग्गा खरिद गरिसकेको छ । अब भवन निर्माण गर्ने तयारी भैरहेको उहाको भनाई थियो । नेपालमा जेष्ठ नागरिकको उमेर तोक्ने विषयमा पनि मतभेद छ । सामान्यतया जागिरबाट अवकास हुने उमेर पछिलाई जेष्ठ नागरिकको परिचयपत्र दिनुपर्ने र सरकारले सोहि अनुसार जेष्ठ नागरिकको आवश्यक योजना ल्याउनु पर्ने भनाई छ । जेष्ठ नागरिकहरुलाई सरकारको वेवास्था गरेको गुनासो प्रति प्रदेश सांसद एवं सत्तासिन पार्टी नेकपाका नेता लक्ष्मण लम्साल भन्नुहुन्छ– सरकार जेष्ठ नागरिकहरुलाई सबै प्रकारको सहयोग गर्न तयार छ । साथै गाँउ गाँउमा जेष्ठ नागरिक सेवा केन्द्र स्थापना गर्ने सोच समेत सरकारको रहेको उहाको भनाई छ । नेपाली काग्रेसका क्षेत्रीय सभापति रमेश प्रसाद हुमागाईले सरकार जेष्ठ नागरिक प्रति उदासिन रहेको बताए ।
सोमबार २८ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा जेष्ठ नागरिक सेवा केन्द्र धुलिखेलका सदस्यहरु सबैलाई स्थानिय व्यपारी मधुकृष्ण नरसिंहले पछ्यौरी वितरण गरेका थिए । हरेक हप्ता भेला हुने जेष्ठ नागरिकहरुलाई चिया, खाजाको लागि आगामी वर्ष सम्मको लागि सहयोग जुटिसकेको छ । हरेक हप्ता खाजाको लागि ८ हजार रुपैया खर्च हुन्छ ।





