–प्रकाश भुर्तेल
नेपालको राजनीतिमा राणा शासन भन्दा राजतन्त्र ठीक भनियो, राजतन्त्र वा निर्दलीय शासन व्यवस्था भन्दा प्रजातन्त्र वा वहुदलीय व्यवस्था उत्कृष्ट हो भनियो । त्यसपछि संघीयता चाहिन्छ भनियो गणतन्त्र, लोकतन्त्र चाहियो । यी परिवर्तित शासन व्यवस्थाले जनतालाई स्वतन्त्रता त दियो तर विकास र समृद्घीले अपेक्षाकृत गति लनि सकेन जसको प्रमुख कारण राजनैतिक अस्थिरता, आपसी गुटबन्दी र टुट फुटको राजनीतिनै हो । राजनैतिक खिचातानी यसरी मौलाउन थाल्यो कि जनतामा संघीय प्रणाली वा लोकतन्त्रनै ठीक रहेनछकि भन्ने शंका पैदा हुनथाल्यो फलस्वरुप राजनीतिप्रति जनताको आकर्षण घट्नगयो । व्यवस्था बेठीक कुनैपनि थिएन केवल त्यसको प्रयोग बेठीक हुनगयो । जबसम्म व्यक्तिको सोच सफा हुँदैन उसको कर्म र व्यवहार पनि सफा हुँदैन । त्यसैले देशमा नयाँ नयाँ व्यवस्थाको प्रयोग गर्नेतिर भन्दा भएकोलाई नयाँ सोच र व्यवहारले राम्रो बनाउनेतर्फ लाग्नु उचित हो किनकि नयाँ नयाँ प्रयोग गरिनुले गतिशीलता होइन बरु झन् अस्थिरतालाई जन्माउँछ ।
राजनीतिलाई आम मान्छले हेर्ने दृष्टिकोण गलत बन्नुको कारण युवा सहभागिताको कमिनै हो । राजनीति त उच्चतम् सेवा बन्नुपथ्र्यो तर सीमित व्यक्तिको गलत हर्कतका कारण यसलाई फोहोरी खेलको रुपमा व्याख्या गरियो फलस्वरुप आम जनमानसले त्यसरीनै बुझ्नजाँदा यसप्रतिको आकर्षण र सहभागितामा कमी हुनगयो । तर वास्तवमा राजनीति आफैंमा फोहोरी खेल होइन र हुनु पनि हुँदैन । देसको समग्र क्षेत्रको मेरुदण्ड मानिने राजनीति त वास्तवमा परिवर्तन, विकास, सुशासन र समृद्दिको संवाहक हो । राजनीतिमा युवाहरुको चासो र सहभागिता नहुने हो भने चाहिँ यो गलत बाटोमा अगाडि बढ्नसक्ने संभावनालाई नकार्न सकिंदैन । तसर्थ यसप्रति युवाले ध्यान दिनैपर्छ किनकि युवाहरुनै देशको मेरुदण्ड हो युवानै देशको भविष्य । त्यसो त राजनीति युवाले वेवास्ता गर्नुपर्ने विषय हुँदै होइन, किनकि चाहेर नचाहेरै हरेक नागरिक राजनीतिबाट बाहिर छैन । देशको हरेक क्षेत्र राजनीतिबाटै प्रभावित छ र तपाईं पनि यहि देशमै हुनुहुन्छ भने तपाई चाहिँ प्रत्यक्ष अप्रत्यक्ष रुपमा अछुतो हुनसक्ने कुरै भएन । त्यसैले राजनीतिमा युवा अन्जान र वेवास्था होइन सहभागिताका साथ बहसमा सामेल हुनुपर्छ त भन समायानुकुल विकास र परिवर्तन आउँछ । कि त देशै छोडेर हिड्नुपर्यो नत्र यदि यही भूमिमा रहने हो भने मौन रहनु त व्यथितिको बढावा सिवाय केही हैन । युवाले पछाडि बसेर वर्षौंदेखि असन्तुष्टी पोखेर, नेता र व्यवस्थालाई गाली गरेर वा निराश भएर समस्याको समाधान आउँदैन बरु आउँदा पिंढीले सराप्ने आधार चाहिँ बन्छ । त्यसमाथि योग्य मान्छे सामेल नभएसम्म उपलब्ध भएकाबाटै राजनीतिमा छान्ने र आउने भएकोले उसैले तपाईलाई राज गर्नुको विकल्प रहँदैन वर्षौंसम्म पटक पटक ।
अघिल््लो पुस्ताले देसमा राजनैतिक परिवर्तन ल्यायो त्यसकारण त्यो पुस्तालाई गलत भन्न मिल्दैन किनकि राजनैतिक चेतना र परिवर्तन ल्याउनु सानो कुरा होइन । सिङ्गो व्यवस्था बदल्नु पहिलो चरणको राजनैतिक उपलब्धि हो भने अबको चरण देश र जनताको अवस्था परिवर्तनको हो जुन काम युवाबाटनै संभव छ । त्यसैले अहिलेको पुस्ताले राजनैतिक चेतना र परिवर्तनमा कामगर्नु छैन, अहिलेको पुस्ताले त विकास र समृद्दीका लागि काम गर्ने हो त्यसको जिम्मेवारी अब युवाको कांधमा आएको छ । पुरानै पुस्ताबाट सबैकाम संभव हुँदैन, अपेक्षा पनि गर्नु हुँदैन किनकि उनिहरुको योगदान अहिलेको राजनैतिक परिवर्तन ल्याउनमा थियो जुन भयो । एउटै पुस्ताले सबै काम गर्न सक्दैन, दिनु पनि हुँदैन किनकि युग फरक हो, बुझाइ फरक हो, सोचाइ फरक हो, श्रोत, साधन, प्रविधि फरक हो । चाहेर पनि पुरानो पुस्ताले यो पुस्ताले खोजेको विकास र समृद्दिको चाहाना पूरा गर्न सक्तैन त्यसकारण पनि युवाको सहभागिता राजनीतिमा अपरिहार्य छ ।
पुराना पुस्ताका अनुभव र सिकाइ लिंदै युग अनुसारको विकास र समय अनुसारको समृद्घि प्राप्तिमा अगाडि बढ्नु अहिलेको आवश्यकता हो । समय अनुसारको आकांक्षा, त्यसको महत्वको गहिराइ, माग र उपभोग त्यहीं समयमा हुनेले मात्र गर्न सक्छन् । त्यसैले सरकारका तर्फबाट पनि युवामुखी योजना तथा कार्यक्रमहरु बनाउनु अत्यावश्यक छ जसले युवाहरुलाई विदेस पलाएन हुनबाट रोक्न सकिन्छ । पछिल्लो समयमा एकातिर राजनीतिमा युवाहरुको सहभागिता हुनुपर्ने कुरा चौतर्फी उठ्न थालेको छ भने फस्वरुप युवा स्वयंको पनि चासो र आकर्षण उल्लेखनीय छ जुन सकारात्मक पक्ष हो । त्यसैले अब युवाहरु राजनीतिबाट टाढा रहने वा नेता, व्यवस्थालाई गाली गर्नुभन्दा पनि जागरुक भइ राजनीतिमा सहभागीता जनाउने, विद्यमान राजनैतिक व्यथितिको अन्त्य तथा युग सुहांउदो परविर्तनका लागि राजनैतिक स्थिरता कायम गरी आफ्नो ठाउं र आफ्नो देश बनाउने अनि समय अनुसारको विकास र समृद्दिमा हातेमालो गर्ने बेला हो ।