2026 October 17/ 12:40: 15am

होमप्रसाद चौलागाई
मण्डनदेउपुर

    काभ्रेपलाञ्चोकको मण्डनदेउपुर सहकारी क्षेत्रको फराकिलो नाम हो । यहाँ विभिन्न विधा र क्षेत्रका सहकारीहरु क्रियाशिल छन् । दुग्ध उत्पादनको हिसाबले मण्डनदेउपुर मुलुकमै अब्बल रहँदै आएको छ । साना किसान, बचत तथा ऋण, महिला र बहुउद्देश्यीय क्षेत्रमा पनि मण्डनदेउपुर अब्बल रहँदै आएको छ । नगरपालिकामा सबै बिधा र क्षेत्रका सहकारी संस्थाहरुले स्थानीय नागरिकहरुको सेवा र सुविधा प्रदान गर्दै आएका छन् । 
    यस सन्दर्भमा नगरपालिकामा क्रियाशील पाँचवटा सहकारी संस्था एकीकरण भई ‘साना किसान कृषि सहकारी संस्था लि.’ गठन भएको छ । स्थानीय कृषि क्षेत्रको विकास, कृषकको आर्थिक सशक्तीकरण तथा सहकारीको संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पाँच सहकारी एकीकृत भएका हुन् । २०८३ साल असोज २५ गते हिंगुवापाटीस्थित सीआरबी पार्टी प्यालेसमा आयोजित संयुक्त साधारणसभाले सहकारी एकीकरणलाई औपचारिकता दिएको हो । मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाको प्रमुख आतिथ्यता तथा विष्णुमणि नेपालको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा मण्डनदेउपुर ७ का वडाध्यक्ष विष्णु पौडेल, वडा नं. ३ का वडाध्यक्ष तथा नगर प्रवक्ता पुरुषोत्तम बजगाँईं, वडा नं. २ का वडाध्यक्ष तथा नेपालीकांग्रेसका नगर सभापति राजकुमार मल्द्यल लगायत विभिन्न वडाका अध्यक्षहरू, स्थानीय संघसंस्थाका प्रतिनिधिहरू तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । 
    पालिकाका नगर प्रमुख टोकबहादुर वाइवाले उद्घाटन गरेको साधारण सभामा नगर प्रमुख, उप–प्रमुख, वडाध्यक्षहरु र सहकारी क्षेत्रका बिभिन्न व्यत्तित्वहरुले शुभकामना मन्तब्य राखेका थिए । एकीकरण हुने सहकारी संस्थाहरूमा चण्डेनीमण्डन साना किसान कृषि सहकारी संस्था लि. वडा नं. १०, कश्यपेश्वर तरकारी उत्पादक सहकारी संस्था लि. वडा नं. ७, नौबिसे कृषि सहकारी संस्था लि. वडा नं.७, सफलता महिला साना किसान कृषि सहकारी संस्था लि. वडा नं. ५ र नवरत्न बचत तथा ऋण सहकारी संस्था लि. वडा नं. ७ रहेका थिए । कृषि, साना किसान, बचत तथा ऋण, महिला लगायतको विभिन्न क्षेत्रमा क्रियाशील यी पाँच संस्थाहरू एकीकृत भएसँगै कृषि उत्पादन, बचत तथा ऋण परिचालन, महिला सशक्तीकरण सहित ग्रामिण साना किसानको आवश्यक सेवा प्रवाहमा थप सहजता आउने अपेक्षा गरिएको छ ।
    सुमन नेपालको अध्यक्षतामा नयाँ सञ्चालक समिति संयुक्त साधारणसभाले सुमन नेपालको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत रूपमा चयन गरेको छ । नवगठित सञ्चालक समितिको उपाध्यक्षमा केशवप्रसाद सापकोटा, सचिवमा शिवराम तिमल्सिना र कोषाध्यक्षमा लक्ष्मी डोटेल चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा बिमला श्रेष्ठ, कृष्णप्रसाद नेपाल, रमेश क्षेत्री, रामबहादुर राई र कल्पना अधिकारी ढकाल रहेका छन् । यसैगरी संस्थाको आर्थिक पारदर्शिता, वित्तीय अनुशासन तथा सुशासन कायम राख्ने उद्देश्यले शम्भुप्रसाद पराजुलीको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा केशवप्रसाद सापकोटा र रीता न्यौपाने रहेका छन् । कृषकको आर्थिक रूपान्तरणमा एकीकरणको अपेक्षा साना–साना पुँजी, स्रोत र साधनलाई एकीकृत गरी ठूलो संस्थागत संरचना निर्माण गर्नु सहकारी क्षेत्रका लागि महत्वपूर्ण कदम मानिन्छ । पाँचवटा सहकारीको एकीकरणले स्थानीय कृषकलाई आवश्यक कृषि कर्जा, आधुनिक प्रविधि, उन्नत बीउबिजन तथा व्यावसायिक कृषि उत्पादनका क्षेत्रमा सहयोग र्पुयाउने अपेक्षा गरिएको छ । त्यसैगरी, संस्थाको वित्तीय तथा व्यवस्थापकीय क्षमता अभिवृद्धि, सेवा विस्तार, प्रशासनिक खर्च व्यवस्थापन र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन एकीकरणले सहयोग पुग्ने विश्वास गरिएको छ । महिला तथा साना किसानलाई आर्थिक गतिविधिमा थप सक्रिय बनाउँदै स्थानीय उत्पादन र रोजगारी अभिवृद्धि गर्नु पनि संस्थाको महत्वपूर्ण लक्ष्यका रूपमा रहेको छ ।
     ‘हामी आफैँ गरौँ हाम्रो आर्थिक रूपान्तरण, समृद्ध मण्डनदेउपुर हाम्रो अभियान’ भन्ने मूल नारालाई आत्मसात् गर्दै अघि बढेको साना किसान कृषि सहकारी संस्था लि.ले स्थानीय कृषकको जीवनस्तर सुधार, कृषि उत्पादन वृद्धि तथा मण्डनदेउपुरको आर्थिक समृद्धिमा योगदान र्पुयाउने अपेक्षा गरिएको छ । स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, कृषकको उपजको उचित मूल्य सुनिश्चित गर्न पहल गर्ने, बचत परिचालनलाई व्यवस्थित बनाउने र उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्न सकेमा एकीकृत सहकारीले नगरको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताइएको छ ।  पाँचवटा सहकारीको एकीकरणसँगै नयाँ संस्थाले सामूहिकता, पारदर्शिता, सुशासन र प्रभावकारी व्यवस्थापनलाई प्राथमिकता दिँदै सदस्यको हित तथा स्थानीय समृद्धिका लागि काम गर्ने विश्वास व्यक्त गरिएको छ । यससंगै एकीकृत सहकारीको नयाँ यात्रासँगै नवगठित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिबाट स्थानीय स्तरमा थुप्रै आशा र विश्वास गरिएको छ ।