2026 October 23/ 09:45: 20am

         धुलिखेल/धुलिखेल नगरपालिकाले धुलिखेलमा रहेका मासु पसलहरूको अनुगमन गरेको छ । 
        अनुगमनका क्रममा मासुको स्वच्छता, गुणस्तर तथा पसलको सरसफाइमा विशेष ध्यान दिन व्यवसायीहरूलाई निर्देशन दिएको छ । नगरपालिकाको पशुपन्क्षी शाखाका अधिकृत पुरुषोतम हुमागाईको नेतृत्वमा भएको अनुगमनमा  मासु राख्ने तथा बिक्री गर्ने स्थान, सरसफाइको अवस्था, प्रयोग हुने उपकरण, मासु काट्ने तरिका, फोहोर व्यवस्थापन तथा व्यवसाय सञ्चालनका लागि आवश्यक मापदण्ड पालना भए–नभएको निरीक्षण गरेको थियो । नगरपालिकाले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको मासुजन्य खाद्य पदार्थको बिक्री वितरणमा गुणस्तर र स्वच्छता अनिवार्य रहेको जनाएको छ । मासु व्यवसायीलाई प्रचलित कानुन तथा नगरपालिकाले तोकेको मापदण्डअनुसार व्यवसाय सञ्चालन गर्नसमेत निर्देशन दिइएको छ ।
            धुलिखेल नगरपालिकाले यस अघि पनि स्वस्थ तथा गुणस्तरीय मासु बिक्री वितरणका लागि व्यवसायीहरूलाई तालिम तथा अभिमुखीकरण गरेको शाखा प्रमुख हुमागाईले बताए । नगरपालिकाको तथ्यांक अनुसार धुलिखेलमा ठूलो परिमाणमा दैनिक मासु खपत हुने भएकाले उत्पादनदेखि बिक्री वितरणसम्म स्वच्छता कायम गर्नुपर्नेमा जोड दिइएको थियो । अनुगमनमा जिल्ला पशु सेवा कार्यालयकी अन्जना श्रेष्ठ, धुलिखेल नगरपालिका पशुपन्क्षी शाखाका डा. शिब प्रसाद सापकोटा , स्वास्थय शाखा प्रमुख सन्दिप केसी, कृषि शाखा प्रमुख रविना घिमिरे, पशु प्राविधिक र सञ्चारकर्मी लगाएतको सहभागिता रहेको थियो ।