2026 May 30/ 08:28: 10pm

    धुलिखेल/जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले नागरिक सेवाका लागि भएका सुधारका प्रयासका बारेमा जानकारी गराएको छ । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले नागरिकहरुका गुनासा कम गर्ने तथा सेवा प्रवाहलाई छरितो बनाउने उद्देश्यले भएका गतिविधिहरुका बारेमा जानकारी गराएका थिए ।
    ‘नागरिक बडापत्र अध्यावधिक, क्युआर कोडमा नागरिक बडापत्र उपलब्ध, क्यु आर कोडबाट गुनासो सुनुवाईको ब्यवस्था, आमाको नामबाट नागरिकता जारी, राष्ट्रिय परिचयपत्रसँग नागरिकता अभिलेखको आवद्धता, नियमित बजार अनुगमन, विपी, अरनिको राजमार्ग लगायतका राजमार्गहरुको नियमित अनुगमन, समन्वय र सहजीकरण, कार्यालय प्रमुख र कर्मचारी बीच नियमित बैठक, सेवा प्रवाह विषयमा मासिक रुपमा पालिकाहरुसँग समन्वय बैठक भएका छन’–प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले भने–‘सेवा प्रवाहमा टोकन प्रणाली, कार्यालय परिसरमा निःशुल्क वाईफाई, सेवाग्राही प्रतिक्षा स्थान र पिउने पानीको ब्यवस्था, सोधपुछ र हेल्प डेस्कको ब्यवस्था, स्तनपान कक्षको ब्यवस्था गरिएको छ ।’ 
    सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले कार्यालयमा वितरण हुन नसकेका बाँकी राहदानी र राष्ट्रिय परिचय पत्र सम्वन्धित स्थानीय तहको सम्वन्धमा विदाको दिनमा स्थानीय तहमा नै पुगेर वितरण गरिएको बताए । २०८२ चैत्र २७ गते मण्डनदेउपुरमा ४३ जनाको राष्ट्रिय परिचयपत्र वितरण गरिएको थियो भने बैशाख १२ र १३ गते खानीखोलामा र बैशाख १८,१९ र २० महाभारत गाउँपालिकामा पुगेर वितरण गरिने उनले बताए । नागरिकले थप निवेदन लेख्नुपर्ने कुराको अन्त्य गरी, थप निवेदन चाहिएमा कार्यालयबाटै सहजीकरणको ब्यवस्था, सूचनाहरु सामाजिक सञ्जालमा नियमित रुप्मा उपलब्ध गराएको तथा ‘क’ वर्गका अपाङ्गता भएका ब्यक्तिहरुलाई घरमा नै पुगेर नागरिकता वितरण गरिएको उनले बताए । तेमालमा एक जनालाई नागरिकता वितरण गरिएको छ । 
    हुलाक मार्फत राहदानी लिन चाहनेहरुका लागि हुलाक सम्झौता गरी कार्य प्रारम्भ गरिएको छ भने कार्यालयका पुराना अभिलेखहरुको डिजीटाईजेशनमा तिब्रता दिएको सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले बताए । आमाका् नामबाट १९ वटा नागरिकता वितरण भएको छ । अंगिकृत नागरिकता ५ वटा उपलब्ध गराईएको छ भने ५ हजार ६ सय ७० वटा नयाँ नागरिकता, ८ हजार ४५ वटा प्रतिलिपि नागरिकता, २८ वटा गै्रह् आवासिय नागरिकता वितरण गरिएको छ । राष्ट्रिय परिचयपत्रका लागि २१ हजार ८ सय ६ जनाले फोटो खिचाएका छन् भने ९ हजार ९ सय ६ जनाले फोटो खिचाएका छन् । 

हुलाकमार्फत घरमै राहदानी 
    धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लाका नागरिकलाई सरकारी सेवा सहज र सुलभ बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक र जिल्ला हुलाक कार्यालयबीच महत्वपूर्ण सम्झौता भएको छ । 
    सम्झौतापछि जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने राहदानी तथा अन्य भौतिक वस्तु सेवाहरू अब हुलाकमार्फत नागरिकको घरमै पु¥याइने भएको छ । सरकारी सेवा लिन कार्यालयसम्म धाउनुपर्ने झन्झट कम गर्ने लक्ष्यसहित गरिएको यो पहलले विशेषगरी वृद्धवृद्धा, अशक्त, व्यस्त नागरिक तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने सेवाग्राहीलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ । सेवाग्राहीले आवश्यक प्रक्रिया पूरा गरी घरमै सेवा उपलब्ध गराइदिन अनुरोध गरेमा राहदानी लगायतका सामग्री सुरक्षित रूपमा घरसम्म पु¥याइनेछ ।
    सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाई र हुलाक कार्यालय काभ्रेका प्रमुख दिपककुमार नेपालीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार जिल्ला प्रशासन कार्यालयबाट तयार पारिएका सामग्री छिटो, सुरक्षित र जिम्मेवार ढंगले सम्बन्धित व्यक्तिसम्म पु¥याउने दायित्व जिल्ला हुलाक कार्यालयको हुनेछ । त्यस्तै, टिकट शुल्कको व्यवस्था गर्नुका साथै सेवाग्राहीको सही र स्पष्ट ठेगाना उपलब्ध गराउने जिम्मेवारी जिल्ला प्रशासन कार्यालयले वहन गर्नेछ । यो व्यवस्था लागू भएपछि नागरिकले राहदानी लिन लामो लाइन बस्नुपर्ने, पटक–पटक कार्यालय धाउनुपर्ने तथा अनावश्यक समय खर्च गर्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास गरिएको छ । सरकारी सेवामा प्रविधि र व्यवस्थापन सुधारको उदाहरणका रूपमा हेरिएको यस कदमले सेवा प्रवाहलाई अझ प्रभावकारी र जनमैत्री बनाउने अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । स्थानीयवासीहरूले पनि यस कदमलाई स्वागत गरेका छन् । ‘घरमै सरकारी कागजात आइपुग्ने भएपछि धेरै सहज हुन्छ’–एक सेवाग्राहीले प्रतिक्रिया दिए । 
    सरकारको ‘सेवा नागरिकको घरदैलोमा’ भन्ने अवधारणालाई व्यवहारमा उतार्ने विश्वास गरिएको छ ।