2026 April 30/ 11:46: 59am

    बनेपा/नेपाल शैक्षिक परामर्श संघ काभ्रे शाखाले जापानिज भाषा अध्ययन गरिरहेका विद्यार्थीहरु बीच भाषा सम्वन्धी प्रतिस्पर्धा गराएको छ । प्रतिस्पर्धामा विभिन्न कन्सलटेन्सीमा अध्ययरत विद्यार्थीहरु सहभागि भएका थिए ।
     प्रतिस्पर्धामा प्रथम हुनेले नगद ३० हजार, शिल्ड र प्रमाणपत्र, दोश्रो हुनेले नगद १५ हजार, शिल्ड र प्रमाणपत्र, तेश्रो हुनेलाई नगद १० हजार, शिल्ड र प्रमाणपत्र र सान्त्वनालाई नगद ५ हजार शिल्ड र प्रमाणपत्र उपलब्ध गराईएको अध्यक्ष भुवन रायमाझीले बताए ।  प्रतियोगिताबाट हाचिकोमा अध्ययन गरिरहेकी आकृति पाख्रिन प्रथम भईन् । डिन्सेयुबाट नविना शाही दोश्रो भईन् भने हाचिकोकै अमित मोक्तान तेश्रो भए । सक्सेस विसिईसीबाट सिजन राईले सान्त्वना पुरस्कार पाए । 
    अध्यक्ष भुवन रायमाझीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन नेपाल शैक्षिक परामर्श संघ काभ्रेका सल्लाहकार सरोज थापाले गरेका थिए । प्रतियोगितामा १२ जना विद्यार्थीहरु सहभागि भएका थिए । नेपाल शैक्षिक परामर्श संघले शैक्षिक मेला, प्रर्दशनी, प्रतियोगिता लगायतका रचनात्मक कृयाकलाप आयोजना गर्दै आएको अध्यक्ष भुवन रायमाझीले बताए । नीति, नियम, ऐन अन्र्तगत रहेका सबै शैक्षिक परामर्श संघले विद्यार्थीहरुको उज्वल भविश्यका लागि गरिने गतिविधिहरुमा गुणस्तर कायम गर्न यस्ता कृयाकलापहरु महत्वपूर्ण हुने उनले बताए । 
    कार्यक्रमका बारेमा जानकारी गराउँदै संयोजक थापाले भाषा, संस्कृति, पहिचान, अनुशासन, सीप तथा क्षमताको प्रर्दशन गर्न अवसर विद्यार्थीहरुलाई उपलब्ध गराएको बताए । ‘विद्यार्थीहरुले बोल्ने अभ्यास प्रतियोगिताका रुपमा प्रस्तुत गर्दा आगामी दिनमा उनिहरुलाई थप सहज हुने अपेक्षा गरिएको छ’–संयोजक थापाले भने–‘सहभागि सबै विद्यार्थीहरु विजेताका हकदार हुन् । जसले प्रतिस्प्र्धामा सहभागि हुने दृढ इच्छा जनाए ।’ 
    कार्यक्रममा केन्द्रिय समितिका प्रथम उपाध्यक्ष बासुदेव दाहालको प्रमुख आतिथ्यता रहेको थियो । पछिल्लो समय नेपाली विद्यार्थीहरुको आर्कषक गन्तब्य बनिरहेको जापानका बारेमा भाषा, सीप र मेहनतका बारेमा विद्यार्थीहरुले बुझ्न आवश्यक रहेको बताए । मेहनतले मात्रै सफलता प्राप्त हुन्छ भन्ने विषयमा जानकारी गराउँदै जुन देशमा जाने हो त्यहि देशको भाषा र संस्कृतिका बारेमा जान्न र निर्धक्क भएर संवाद गर्न सक्ने वातावरण सिर्जना गराउन आयोजित  भाषा सम्वन्धी बक्तृत्वकलाको प्रशंसा गरे । 
    कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ केन्द्रका विभिन्न पदाधिकारीहरु, जिल्ला समितिका सल्लाहकार तथा पदाधिकारीहरु, सदस्यहरु, सहयोगी संस्थाहरु, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने लगायतको सहभागिता रहेको थियो ।