2026 April 21/ 09:24: 34am

    बनेपा/काभ्रेपलाञ्चोक जिल्लामा चालु अवस्थामा रहेका सयौ सहकारी संस्थाहरु मध्ये केहि संस्थाहरु मात्रै सरकारले गठन गरेको सहकारी प्राधिकरणमा दर्ता भएका छन् ।
    प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्था बर्गिकरण प्रयोजनका लागि प्राधिकरण वा प्राधिकरणले तोकेको निकायमा दर्ता हुनुपर्ने ब्यवस्था गरेको छ । चैत्र १७ गते भित्र उक्त निकायमा दर्ताका लागि समयसिमा तोकिएको छ । काभे्रपलाञ्चोक जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्था मध्ये हालसम्म ज्योती मिर्मिरे सामुहिक, लक्ष्मी महिला, सामुदायिक, विन्धवासिनी, बुडोल सामुदायिक, शंखु, उद्यम विकास, प्रिमियर, काँठु गणेश, आभाष, पानस, दुमो, आदर्श आर्थिक विकाश, नवदुर्गा, शुलभ, भिमशेन महाराज, समृद्धि, अटल पाँचकुण्ड, हिमकाली समाजसेवा, चक्रेश्वर र चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले इजाजत प्राप्त गरेका छन् । केहि संस्थाले कर्जासुचना केन्द्रको समेत सदस्यता प्राप्त गरेका छन भने केहि प्राप्त गर्ने क्रममा रहेका छन् । 
    सहकारी ऐन २०७४ को दफा २० ले गरेको ब्यवस्था अनुसार प्रधिकरणबाट जारी दर्ता अभिलेखिकरण मापदण्ड २०८२ बमोजिम प्राधिकरणमा दर्ता अभिलेखिकरण सँगै बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाले सदस्यबाट बचत संकलन गर्ने र सदस्यलाई ऋण लगानी गर्न संचालन इजाजत समेत लिनुपर्ने व्यवस्था गरेको छ । यसरी इजाजत नलिएका सहकारीहरुले कारोवार गर्न नपाउने गरी ऐन जारी भएको जिल्ला बचत संघ काभे्रपलाञ्चोकका प्रमुख कार्यकारी अधिकृत गुरु ढकालले बताए । ‘सहकारी ऐनको दफा २० मा बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था दर्ता प्रयोजनको लागि एक वर्ष भित्र प्रधिकरणमा दर्ता अभिलेखिकरण गर्नुपर्ने कानुनी व्यवस्था गरेको छ’–प्रमुख कार्यकारी अधिकृत ढकालले भने–‘उक्त व्यवस्था बमोजिम प्राधिकरणमा दर्ता हुने समय २०८२ चैत्र १७ गते सकिदै छ । प्राधिकरणले उक्त मिति पछि दर्ता अभिलेखिकरण नहुने सुचना समेत प्रकाशन गरिसकेको छ ।’ सहकारी ऐन संशोधन नभए सम्म थप सहकारी संस्था दर्ता अभिलेखिकरण हुन सक्दैन । अभिलेखीकरण हुन बाँकी संस्थाले तोकिएको मितिमा दर्ता अभिलेखीकरणको लागि आवश्यक सहयोग गर्न जिल्ला बचत संघ काभे्र तयार रहेको प्रमुख कार्यकारी अधिकृत गुरु ढकालले बताए । 
    बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीको नियमन गर्न विगतमा सहकारी अभियानको माग बमोजिम छुट्टै नियामक निकाय गठन गर्न सरकारले सहकारी ऐन २०७४ को संशोधनबाट २०८१ चैत्र १८ गते राष्ट्रिय सहकारी नियमन प्राधिकरणको गठन गरेको थियो । प्राधिकरण गठनसँगै ऐनको दफा २० मा बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था दर्ता प्रयोजनको लागि १ वर्ष भित्र प्राधिकरणमा दर्ता अभिलेखिकरण गर्नुपर्ने कानुनी व्यवस्था गरेको थियो । बचत तथा ऋणको मूख्य कारोबार गर्ने सहकारी संस्थाले प्राधिकरणमा दर्ता अभिलेखीकरण अनिवार्य गर्नुपर्ने व्यवस्था छ । बचत तथा ऋणको मुख्यकारोबार गर्ने सहकारी संस्था भन्नाले सहकारी ऐन २०७४ को दफा २ खण्ड (ज) ले ‘मुख्य कारोबार’ भन्नाले संस्था वा संघले संचालन गरेको व्यवसायिक क्रियाकलापहरुमा पछिल्लो आर्थिक वर्षको सदस्य तर्फको खरिद वा बिक्री कारोबारमा ३० प्रतिशत भन्दा बढि हिस्सा भएको कारोबार सम्झनु पर्छ भन्ने व्यवस्था गरेको छ । उल्लेखित व्यवस्था अनुसार कुल आम्दानीको ३० प्रतिशत भन्दा बढि ऋणबाट व्याज आम्दानी भएको वा कुल खर्चको ३० प्रतिशत भन्दा बढि सदस्यको बचतमा व्याज खर्च भएको सहकारी संस्थाको प्रकृती कृषि, बहुउद्देश्यीय, तरकारी, फलफुल लगायत भएता पनि सदस्यबाट बचत संकलन र सदस्यलाई ऋण लगानी गर्न प्राधिकरणमा दर्ता अभिलेखिकरण हुनुपर्ने छ ।

दर्ता अभिलेखिकरण नगर्दा के हुन्छ ?
    दर्ता अभिलेखिकरण गरी इजाजत नलिदा प्राधिकरणबाट २०८२ चैत्र ५ गते जारी सूचना बमोजिम सहकारी संस्थाले धितो रोक्का दृष्टिबन्धक गर्न, कर चुक्ता लिन, कर्जा सूचना केन्द्रको सदस्यता लिन, बाह्य लेखापरिक्षण गर्न रोक्का गरी ठगीमा कारबाही सहित संस्थाको दर्ता खारेज समेत हुन सक्ने भनी सचेत गराएको छ । दर्ता अभिलेखिकरण गरी सञ्चालन इजाजत नलिने सहकारी संस्थाले कर्जा सूचना केन्द्रमा आवद्ध हुन नसक्ने हुदा संस्थाले सदस्यलाई गर्ने ऋण लगानी प्रभावीत हुनेछ । ऋण लगनी गर्ने सहकारी संस्था दर्ता अभिलेखिकरणमा सहभागी भई सञ्चालन इजाजत लिनु अनिर्वाय छ । प्राधिकरण र ऐनले सहकारी दर्ता अभिलेखीकरणको अन्तिम सिमा २०८२ चैत्र १७ गते सम्म तोकेको छ । सहकारी संस्थाले उक्त समय भित्र आफ्नो सहकारी संस्थाको लअचब।नयख।लउ मा गई सहकारी दर्ता पोर्टल मार्फत अनलाईन प्रणालीमा दर्ता अभिलेखिकरण गर्नुपर्ने हुन्छ । दर्ता अभिलेखिकरण अनलाईनबाट मात्र हुन्छ । 
इजाजतपत्र कहिले प्राप्त हुन्छ ?
    अधिकांश सहकारी संस्थाले अनलाईन पोर्टलमा समावेश गरेको भए पनि इजाजत प्रमाणपत्र नआएको गुनासो गरेका छन् । केहि संस्थाले विवरण पेस गरेको तीन महिनासम्म पनि इजाजतपत्र प्राप्त नगरेको बताएका छन् । सहकारी संस्थाले विवरण पेस गरे पश्चात उक्त सहकारी प्राधिकरणमा दर्ता अभिलेखिकरण हुन्छ । संचालन इजाजत पत्र प्राधिकरणले क्रमश इजाजत जारी गर्छ । देशभरका सहकारी एकै पटक अभिलेखीकरण भएकाले क्रमशः इजाजत जारी हुने प्राधिकरणले जानकारी दिएको छ ।