2026 February 25/ 04:28: 54am

    बनेपा/बनेपा नगरपालिकाको १७ औ अधिबेशन सम्पन्न भएको छ । 
चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक आम्दानी १ अर्ब २२ करोड ३६ लाख ५५ हजार अनुमान गरिएकोमा ६ महिनामा ५१ करोड ५८ लाख ७८ हजार प्राप्त भई कुल आम्दानी ४२.८ प्रतिशत रहेको जनाएको छ । त्यसैगरी चालु खर्च ३५.८३ प्रतिशत, पूजिंगत खर्च ११.५१ प्रतिशत र कुल खर्च २६.३ प्रतिशत खर्च भएको अधिबेशनमा वताईएको थियो । 
अधिबेशनमा नगरपालिकामा चालु आ.व.मा १ सय ५१ ब्यबसाय दर्ता थप भई कुल २ हजार २ सय ३५ वटा रहेको, राजश्वको दायरा बढाउन विभिन्न क्षेत्रहरुको पहिचान गरी दर्ता प्रक्रियामा ल्याउन पहल गरिएको बताईएको छ । नगरले २ सय १ वटा सामुदायीक कुकुरको बन्ध्याकरण गरेको, ९१ वटा लाई रेबिज बिरुद्धको खोप लगाएको, पशु बीमा अन्र्तगत १ हजार ७ सय ४३ वटा गाई, ३ सय ७८ वटा भैसी, १ हजार ३ सय ३ बाख्रा, ८७ वटा बंगुरको बीमा गरिएको बताएको छ । कृषि, सहकारी तथा सामुदायीक विकास, रोजगार कार्यक्रम, उप–प्रमुख स्वास्थ्य कार्यक्रम सञ्चालन, स्वास्थ्य कार्यक्रमका लागी विभिन्न सघं संस्थासँग सम्झौता, नगर अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन, उद्यमी मेला तथा बजारीकरण कार्यक्रम, लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियान लगाएतका थुप्रै कार्यक्रमहरु सञ्चालन भएको बताईएको छ । नगरले योजना कार्यन्वयन गर्न ११ वटा ठेक्का मार्फत गरेको, उपभोक्ता समिति मार्फत १४२ वटा मात्रै सम्झौता भएको बताएको छ । उप–प्रमुख विमला सापकोटाले न्यायिक समितिमा १९ वटा उजुरी परेको, अदालतमा विचाराधीन रहेको ११ वटा फैसला भएका ६ वटा रहेको बताईन् । सापकोटाले ऐन नियम २४, कार्यविधि तथा निर्देशिका ४९ वटा निर्माण भएको सभामा वताईन् । सभामा कृषि ब्यबसाय प्रर्वद्धन ब्यबस्था गर्न बनेको विधेयक, विद्यालय शिक्षा विधेयक र ब्यबसाय कर सम्बन्धी विधेयक २०८२, सर्वसम्तीले पास गरेको छ । 
    सभामा ऐनमा भएको मौजुदा ब्यबस्थामा केहि संशोधन गरिएको छ । सभामा २०८२ भदौ २३ र २४ गते जेन–जिको आहाब्नमा संचालित आन्दोलनका क्रममा तोडफोड तथा आगजनी हुँदा ८ करोड २२ लाख ४९ हजार बराबरको सामान (सम्पत्ति) र खर्च भएर जाने १४ लाख ६० हजार बराबरको सामान पुर्ण रुपमा जलेर नष्ट भएको जनाएको छ । नगर प्रमुख शाक्यले बनेपा ५ मा रहेको बहुप्राविधिक शिक्षालयका भवन तथा शिक्षालयलले चर्चेको जग्गा नगरपालिका मातहत ल्याउने सम्बन्धी विशेष प्रस्ताब पारित गरेको बताए । प्रमुख शाक्यले नगरबासीहरुका लागी स्वास्थ्य, खानेपानी, शिक्षा, भौतिक पुर्वाधारहरुमा काम गरिरहेको सभामा बताए । अधिबेशनमा न्यायिक समितिको प्रतिबेदन संयोजक तथा उप प्रमुख विमला सापकोटाले, आर्थिक विकास समितिको प्रतिवेदन संयोजक तथा ३ नम्बर वडा अध्यक्ष रमेश दाहालले, सामाजिक विकास समितिको प्रतिबेदन संयोजक तथा १० नम्बर वडा अध्यक्ष चन्द्र बहादुर खड्काले, भौतिक पुर्वाधार समितिको प्रतिबेदन संयोजक तथा ४ नम्बर वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठले, लेखा समितिको प्रतिबेदन संयोजक तथा ७ नम्बर वडा अध्यक्ष हिटलर शाक्यले, विधायन समितिको प्रतिबेद संयोजक तथा ५ नम्बर वडा अध्यक्ष बलराम अधिकारीले, सुशासन समितिको प्रतिवेदन संयोजक तथा ८ नम्बर वडा अध्यक्ष शुभलक्ष्मी मानन्धरले, वन वातावरण तथा विपद् समितिको प्रतिवेदन सदस्य तथा ९ नम्बर वडाकी कार्यबाहक अध्यक्ष मनिषा तामाङले सभामा प्रस्तुत गरेका थिए । 
कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने, नगर सभा सदस्यहरु, विभिन्न शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।