बनेपा/बेलर ईन्टरनेशनल एकेडेमी बनेपाले खेलकूद विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गर्नुका साथै विज्ञान प्रर्दशनीको आयोजना गरेको छ ।
नेपाली सेनाले विद्यालयस्तरीय राष्ट्रिय सेवा दल (एनसिसी) एड्भान्स तालिममा नेपालभरबाट निकी श्रेष्ठ र जुनियर तालिमबाट प्रविसा श्रेष्ठ प्रथम भएका थिए । निकी श्रेष्ठ यसै साताको शुक्रबार भुटान प्रस्थान गर्न लागेकी छन् भने प्रविसा केहि महिना पछि जाने बताईएको छ । नेपाली सेनाले देशका ७७ वटै जिल्लामा प्रत्येक वर्ष सात हजार ७ सय भन्दा बढी क्याडेट दीक्षित गराउँदै आएको छ । तालिम अवधिमा क्याडेटहरूलाई विभिन्न गतिविधि पिटी, ड्रिल, एरोबिक्स, गन फायरिङ (एसएलआरद्वारा र यसको मर्मतसम्भार), पर्खाल चढ्ने, घोडचढी, पौडी खेल्ने, वक्तृत्व कला, बालुवा मोडेल ब्रिफिङ, साँस्कृतिक कार्यक्रम, खेलकूदजस्ता विभिन्न किसिमका तालिम दिइन्छ ।
तालिम कार्यक्रम तालिका अनुसार सिनियर र जुनियर डिभिजन दुई प्रकार हुन्छन् । तालिमको मुख्य उद्देश्य विद्यार्थीको शारीरिक र मानसिक क्षमता अभिवृद्धि गरी अनुशासित, बफादार र देशप्रति समर्पित युवा सृजना गर्नु रहेको जनाइएको छ । जुनियर डिभिजनमा कक्षा ८ देखि १० सम्मका विद्यार्थी सहभागी हुन पाउँछन् भने सिनियर डिभिजनले दश जोड दुईका विद्यार्थीलाई अवसर प्रदान गरेको छ । हरेक विद्यालयमा संख्याका आधारमा आधा छात्र र आधा छात्रालाई सहभागी गराइन्छ ।
यस्तै ‘अनुशासन नै राष्ट्रको सेवाको मूल जग हो’ भन्ने आदर्श बोकेको राष्ट्रिय सेवा दल (एनसिसी) युवा विद्यार्थीको चरित्र, नेतृत्व गुणस्तर, खेलकुद भावना, निःस्वार्थ सेवाको आदर्श भावनाको विकास गरी जीवनका सबै क्षेत्रमा समर्पित नेतृत्व क्षमता अभिवृद्धि गर्न तालिम दिइने गरिन्छ । तालिम विशेषगरी सैद्धान्तिक र व्यावहारिक ज्ञान दिन पाठ्यक्रमद्वारा निर्देशित गरिएको छ । सोही तालिममा बेलर ईन्टरनेशनल एकेडेमीका विद्यार्थी प्रथम भएका हुन् ।
तालिममा प्रथम भएको विद्यालयका विद्यार्थीलाई विभिन्न मुलुक पठाउने गरिएको छ । उनिहरु दुबैजनालाई विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भोला थापा र प्रिन्सिपल ईन्दु थापाले सम्मान गरेका थिए । अध्यक्ष थापाले विद्यार्थीहरुले नेपालकै नाम राख्न सफल भएकोमा विद्यालयको मात्रै होईन जिल्लाकै सान बढेको बताए । त्यसैगरी बनेपा नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड २०८२ प्रतियोगितामा विद्यालयले शिल्ड उपाधि प्राप्त गरेकोमा बधाई प्रदान गरिएको थियो । विद्यालयले २०८१ सालमा पनि शिल्ड प्राप्त गरेको थियो । आगामी वर्षहरुमा समेत खेलकुद क्षेत्रहरुमा उत्कृष्ट स्थान हासिल गर्ने प्रिन्सिपल ईन्दु थापाले बताईन् । विद्यालयले विभिन्न अतिरिक्त क्रियाकलापमा मात्रै नभई शैक्षिक क्षेत्रमा समेत उत्कृष्ट स्थान हासिल गर्दै आएको थापाले बताईन् । कार्यक्रममा विद्यालयले कक्षा १ देखी १० सम्मका विद्यार्थीहरुले विज्ञान प्रर्दशनी गरेको जनाईएको थियो ।





