2026 May 31/ 03:00: 13pm

गोमा थापा/बनेपा 
          बनेपाकी ३८ वर्षिया शान्ता पाण्डे पछिल्लो समय उपचारको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बनेपामा जाने गर्छिन् । उनलाई प्रायः टाउको दुख्ने, हात खुट्टा सुन्निने जस्ता समस्या थियो । आयुर्वेदिक उपचारबाट ती रोगहरु निको भएको शान्ता सुनाउँछिन् । शान्ता जस्तै एलिसा राई पनि नियमित रुपमा आयुर्वेदको उपचार पद्दतिमा आउने गरेको बताउँछिन् । निकै खर्चिलो र झन्झटिलो उपचार शैली होला भन्ने लागेको एलिसाले आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बनेपामा आएपछि नै आफ्नो धारणा गलत भएको थाहा पाइन् । उनले टिकटदेखि ल्याब टेस्टसम्म निःशुल्क पाइदा आफू जस्तो निम्नवर्गलाई राहत पुग्ने बताइन् ।
           देब्रे हातको उपचारको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा आइपुगेकी रिना साहीले अस्पतालका डाक्टरदेखि सबै कर्मचारीको मिजासिलोपनको निक्कै प्रशंसा गरिन् । उनले जति जिज्ञासा राख्दा पनि झन्झट नमानिकन भनिदिने शैलीको चर्चा गरिन् । आयुर्वेदको प्रभाव एलोपेथिकको जस्तो तुरुन्तै नभएपनि यसले दीर्घकालीन रुपमा रोग मुक्त गराउनेमा उपचारको क्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा आइपुगेका नरेशराज कायस्थ ढुक्क छन्  ।
           आयुर्वेदिक उपचार पद्दति प्रभावकारी हुँदाहुँदै पनि प्रचारप्रसारको अभाव देखिन्छ । जनमानसमा अझै पनि आयुर्वेदिक उपचारको बारेमा प्रर्याप्त सचेतना नफैलिँदा सर्वसाधरण चर्को मूल्य तिरेर अरु विधिबाट उपचार गराउन बाध्य छन् । विशेषगरी आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा ग्याष्ट्रिक, पेट दुख्ने फुल्ने, खाना रुचि नहुने, बाथ लगायतको समस्या भएका आयुर्वेद उपचार पद्दतिमा आउने गर्छन्  । आयुर्वेद उपचार पद्दतिको पछिल्लो समयमा जनमानसमा विश्वास बढ्दो रहेकोले  फलोअपमा उपचारमा आउने सेवाग्राहीको ग्राफ्ट बढ्दो रहेको डाक्टर रजत कौशल बताउँछन् । यसरी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बनेपामा सेवा लिनेहरुको संख्या दिनदिनै बढ्न थालेको छ । यस केन्द्रबाट चालु आर्थिक वर्ष  २०८०÷८१  मा २९ हजार बिरामीले स्वास्थ्य सेवा लिएका छन् । यस आर्थिक वर्षमा २१ हजारले ओपिडी सेवा लिएका छन् । अहिले दिनहुँ ६० जनाभन्दा बढीले सेवा लिन आउने चिकित्सालयले जनाएको छ । काभ्रे लगायत आसपासका ठाउँबाट पनि नागरिक उपचारको लागि यहाँ आउने गरेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको तथ्यांक छ । विशेषगरी हड्डी खिइने जस्ता हाड जोर्नी तथा नसा सम्बन्धी रोगबाट पीडित बिरामी, बाथ, पेट सम्बन्धी समस्या, डिप्रेसन जन्य मानसिक समस्या लिएर बिरामी यहाँ आउँछन् । त्यसैगरी दैनिक  १४ देखि १८ जना बिरामी अकुपंचर विधिबाट उपचार लिन आउने गरेको अकुपंचर सहायक रवि बासुकलाले बताए । त्यसैगरी यस चिकित्सालयबाट स्त्री रोग सेवा भनेर विशेषज्ञ क्लिनिकको रुपमा महिनाको दुई पटक १५ र ३० गते सेवा दिँदै आएको छ । महिलालाई जीवन शैलीको कारणले देखिने हर्मोन गडबढी, महिनावारी गडबढी ,पाठेघरमा मासु पलाएको र निसन्तान लगायतका विविध समस्याको उपचार गरिदै आएको स्त्री तथा महिला रोग विशेषज्ञ बिहानी सन्जेलले बताइन् ।
             आयुर्वेदिक चिकित्सा पद्धतिबाट रोगको निदान सहज र सर्वसुलभ तरिकाले हुने भएकाले आयुर्वेदिक उपचार पद्धतिप्रति मानिसहरूको ध्यान आकर्षित हुन थालेको डाक्टर रुपेश कुमार ठाकुर बताउँछन् । डाक्टर ठाकुरका अनुसार यस चिकित्सालयबाट हाल उपचारात्मक सेवा ,स्वास्थ्य प्रवर्धनात्मक सेवा , जीवनशैली व्यवस्थापन सेवा, प्रयोगशाला सेवा, सशुल्क फार्मेसी सेवा, अक्युपञ्चर सेवा, जनचेतना अभिवृद्धि एवम् समुदाय तहमा स्वास्थ्य सेवा, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम र पथ्य आहार कार्यक्रम सेवा दिँदै आइरहेको छ । त्यसैगरी नागरिक आरोग्य सेवा केन्द्रबाट सामान्य चिकित्सा, मातृशिशु, जेष्ठ नागरिक सेवा, निःशुल्क औषधी  वितरण र सशुल्क फार्मेशी सेवा लगायत सेवा प्रदान गर्दै आइरहेको छ ।
              वि.सं.२०५२ सालमा स्थापना भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र वि.सं. २०८० साल वैशाख १ गतेबाट आयुर्वेद तथा वैकल्पिक चिकित्सालय भएको हो । यस आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बनेपाले काभ्रेको धुलिखेल नगरपालिका, नमोबुद्ध नगरपालिका, पाँचखाल नगरपालिका र रोशी गाउँपालिकामा आयुर्वेद औषधालय  संचालनमा ल्याएको छ भने पनौती नगरपालिका, मण्डन देउपुर नगरपालिका, भुम्लु गाउँपालिका  र बेथानचोक गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरेर आफ्नो सेवा विस्तार गरिरहेको कविराज निरीक्षक प्रताप लामाले बताए । आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले आयुर्वेदले जडीबुटी चिनारी स्वास्थ्य जीवन लगायतका विषयमा कार्यक्रम संचालन गरिरहेको छ । परम्परागत उपचार पद्दतिलाई प्रर्बधन गर्दै आयुर्वेदिक उपचार र योगको माध्यमबाट आयुर्वेदको लागि जनस्तरमा सचेतना विस्तार गर्ने काममा यो आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बनेपा लागि परेको छ । त्यसबाहेक राष्ट्रिय आरोग्य दिवस तथा धन्मन्तरी जयन्ती, राष्ट्रिय आरोग्य दिवस र अन्तर्राष्ट्रिय योग दिवसको दिन विविध कार्यक्रम गर्ने गरेको छ ।
             स्वास्थ्य विभागबाट सिफारिस गरिएका ९५ प्रकारका औषधीमध्ये २९ प्रकारका औषधी पनि निःशुल्क रुपमा उपलब्ध गराउने गरिएको छ । त्यसमध्ये २३ प्रकारका औषधी वर्षभरी निःशुल्क वितरण हुँदै आएको छ भने सःशुल्क फार्मेसीबाट पनि पाँच प्रतिशत छुटमा औषधी वितरण भइरहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बनेपाका प्रमुख डा.अर्जुन उपाध्यायले जानकारी दिए । हाल दुईजना स्त्री तथा महिला रोग विशेषज्ञ र मानसिक रोग विशेषज्ञ चिकित्सक सहित १४ जना कर्मचारीले सेवा दिइरहेका छन् । तथापि उक्त जनशक्ति पर्याप्त भने होइन । अपेक्षित जनशक्तिको अभाव, अत्याधुनिक उपकरणको अभाव, भौतिक पूर्वाधार अनि औषधीको अभाव लगायत विविध चुनौती व्यहोरिरहेको प्रमुख डा.उपाध्यायले बताए ।
            विभिन्न समस्याका बाबजुत पनि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बनेपाले १५ शैयाको अन्तरंग सेवा सहितको अस्पताल चलाउने उद्धेश्य लिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बनेपाका व्यवस्थापन समितिका अध्यक्ष राजभाई मानन्धरले बताए । विस्तारित सेवा सहितको आयुर्वेद सेवालाई प्रभावकारी ढंगबाट संचालन गर्ने लक्ष्य आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले राखेको अध्यक्ष मानन्धरको भनाइ छ ।
यसरी आयुर्वेदिक उपचारमा जनविश्वास बढ्दै गएको बेला आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बनेपाले स्वास्थ्य रक्षाका लागि विविध उपचारात्मक प्रर्वधानात्मक सेवा र प्रचारात्मक क्रियाकलाप पनि गरिरहेको छ ।