2026 October 21/ 02:41: 46pm

– अनियमिततामा पनौती नगरपालिकाको मिलेमत्तो
–  २१ टिप ग्राभेल राखेर ५६ टिपको विल 

    पनौती/उपभोक्ताहरुको तिब्र असहमतिका बीच पनौती नगरपालिकाले सिफारिसको छाँया कपि नै नराखी अनियमित तरिकाले भएको काममा रकम भुक्तानी गरेको छ । पत्र लेख्नु पर्ने लेखा, योजना र प्राविधिक शाखालाई जानकारी नै नदिई प्रमुख प्रशासकिय अधिकृत प्रदिप पौडेलले नेपाल बैक लिमिटेड खोपासी शाखालाई पत्र पठाएका थिए । 
    उपभोक्ता समितिलाई भुक्तानी गर्ने रकम अध्यक्ष, सचिव र कोषाध्यक्षको संयुक्त नाममा खोलिएको खातामा पठाउने कानुनी ब्यवस्था छ । त्यस मध्ये एक पदमा अनिवार्य महिला रहने ब्यवस्था छ । पनौती नगरपालिकाले वडा नम्वर १० मा ‘वडाका विभिन्न बाटाहरु स्तरोन्नती उपभोक्ता समिति’ गठन गरी ५ लाख रकम विनियोजन गरेको थियो । अमुर्त प्रकारको उपभोक्ता समिति र त्यसको कामका बारेमा त्यतिबेला नै विवाद भएको थियो । चुनाव अघि हतार हतार २०७८ माघ २७ गते कार्यपालिकाको बैठकबाट योजना फरफारक हुने गरी ४ लाख ८७ हजार ५ सय रुपैया उपभोक्ता समितिका नाममा जम्मा हुने गरी निकासाका लागि योजना शाखाबाट टिप्पणी उठेको थियो । २०७९ बैशाख २ गते उक्त टिप्पणी सदर भई उपभोक्ता समितिको खाता नेपाल बैक लिमिटेड खोपासी शाखामा २०७९ बैशाख २१ गते मात्रै रकम जम्मा भएको थियो । 
    नगरपालिकाले चेक दिएको २० दिन पछि वडा कार्यालय मार्फत नेपाल बैकको खोपासी शाखामा अध्यक्ष कृष्णबहादुर खत्री, सचिव वर्षा खड्का र कोषाध्यक्ष राजाराम महतको नाममा खाता संञ्चालन गर्ने पत्र पठाईएको थियो । कार्य सम्पन्न गरी एकै पटक एकमुष्ट भुक्तानी लिएको उक्त योजना फरफार गर्ने समयमा बनाईएको बिल भरपाईहरु सबै नक्कली भएको भन्दै अध्यक्ष कृष्णबादुर खत्रीले असहमति राख्दै आएका थिए । उपभोक्ताहरुको तर्फबाट नानीकान्छा गिरीले मोहन भण्डारीको घरको डिलबाट डोलेश्वर महादेवस्थानसम्म लगाईएको ढुंगाको वालको लागि १० टिप ढुंगा १० हजारको दरले ल्याउन रकम उपलब्ध गराएका थिए । सोहि वालका लागि ३० जना खेताला लागेको अध्यक्ष केसी र उपभोक्ता गिरीले जानकारी दिनुभयो । पछि थप ३ टिप ढुंगा र १३ टिप ढुंगाको वाल लगाउँदा लागेको ज्याला समेत गरी १ लाख ७५ हजार खर्च भएको थियो । १ लाख गिरी र ७५ हजार अध्यक्ष कृष्णबहादुर खत्रीले खर्च गरेका छन् । उपभोक्ता समितिले सबै खर्च गरेर पछि भुक्तानी लिने गरी इस्टमेट गरिएको थियो । 
    नगरपालिका आफैले अनियमित हुन सजिलो हुने गरी उक्त स्थानमा सोहि रकम विनियोजन गरेको थियो । वडाका विभिन्न वाटाहरुका लागि भन्दै विनियोजन गरेको रकम अपरादर्शी थियो । महत गाउँ जाने सडकका लागि पस्थलीमा ७ टिप, वडा नम्वर ९ र १० को बीचमा १० टिप र अलिक पर ४ टिप गरी २१ टिप ग्राभेल खर्च भएको उपभोक्ता समितिका अध्यक्ष खत्रीले बताउनु भयो । २१ टिप ग्राभेलका लागि १ लाख ४७ हजार खचए भएको छ भने ग्राभेल फिज्न नगरपालिकाको डोजर प्रयोग गरिएको छ । उपभोक्ता समितिको माईन्युटमा भने ढुंगा, ग्राभेल र ज्यालाका लागि ६ लाख २९ हजार ८ सय ६ रुपैया खर्च भएको उल्लेख गरिएको छ । ३ लाख २२ हजार खर्च गरेर दोब्बर रकमको विल बनाए पछि असहमति जनाएका अध्यक्ष कृष्णबहादुर खत्रीलाई थाहा नै नदिई वडा अध्यक्ष मोहनबहादुर भण्डारीले पनौती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिप पौड्याललाई पत्र लेख्न लगाएर २०७९ असार १४ गते कोषाध्यक्ष बर्षा खड्का र राजाराम महतको नामबाट खाता संचालन हुने गरी पत्र लेखेका छन् । सोहि पत्रका आधारमा कानुन विपरित नगरपालिकाले पत्र पठाएको छ । सोहि पत्रले बैकले दुई जनाको हस्ताक्षरबाट रकम भुक्तानी गरेको छ । भुक्तानी भएको रकम सचिव खड्का र कोषाध्यक्ष महतले आफै खर्च गरेका छन् । यस अघि अध्यक्ष खत्री र उपभोक्ता गिरीले गरेको रकम समेत फिर्ता गरेका छैनन । पनौती नगरपालिकाका बरिष्ठ प्रशासकिय अधिकृत इन्द्रप्रसाद अधिकारीले अध्यक्षको हस्ताक्षर विना भएको भुक्तानीका बारेमा अनभिज्ञता प्रकट गर्दै तत्काल छानविन गर्ने बताएका छन् ।