सहकारीका सचिव अनिल गौतम पक्राउ
मोतीराम तिमल्सिना
बनेपा
सहकारी ऐन विपरित जिल्ला सहकारी संघ र काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी लिमिटेडका संचालकहरु पदमा बसिरहेका सन्र्दभमा उठेका प्रश्नहरुको जवाफ पनि नदिने र राजिनामा पनि नदिने अवस्थाबाट गुज्रिरहेका छन् । नत उनिहरुलाई संचालकबाट राजिनामा दिनु भन्ने साहस अध्यक्ष तथा अन्य संचालकहरुले गरेका छन् न त संघ र महासंघ बोलेका छन् । उनिहरुले देखाउने नैतिकताले त सहकारी अभियानलाई गिज्याईरहेको छ । त्यसकै उपज हो दिन प्रति दिन सहकारी अभियान र सहकारीका संचालकहरु प्रतिको विश्वास घटिरहेको छ । अर्बाै बचत भएका सहकारीहरु धमाधम भाग्न थालेका छन् । सहकारीमा बचत गरेको रकम जोखिममा पर्न थालेको छ ।
ऐन विपरित प्रारम्भिक संस्थाबाट प्रतिनिधि भई छाता संगठनमा निर्वाचित हुनेहरुमा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका सचिव सुरेन्द्र पौड्याल शिक्षक छन् । संचालकहरु सत्यदेवी भट्टराई र ज्ञानु दाहाल पनि शिक्षक छन् । जिल्ला सहकारी संघका उपाध्यक्ष कमला अधिकारी शिक्षक छन्् । सचिव निरञ्जन विष्ट मण्डन देउपुर नगरपालिकाका वडा नम्वर ८ का वडा अध्यक्ष छन् । संचालक कमलप्रसाद कुईकेल विद्युत्त प्राधिकरणमा कार्यरत छन । लेखा सुपरिवेक्षण समितिका संयोजक शम्भुलाल श्रेष्ठ पनि शिक्षक छन् भने लेखा समिति सदस्य सरस्वती चिमौरिया पनि शिक्षक छन् । उनिहरुलाई पदमा बसिरहन कुन ऐन कानुनले दिएको छ ? बोल्न सकेका छैनन तर पनि उनिहरु सहकारी अभियानमा नीति नियमको ब्याख्या गरिरहेका छन् । यहि कारण सहकारी भित्र विकृति देखिन थालेका छन् ।
२५ वर्षमा खर्बपति बनेका काभ्रेपलाञ्चोक जिल्ला साविक पातलेखत गाविस वडा नम्वर ८ धामीगाउँ घर भई हाल धुलिखेल ११ का रामबहादुर गौतम २०७९ साउन १२ गते विहिबार साँझ देखि वेपत्ता छन् । २०५२ सालसम्म सामान्य कृषि पेशामा संलग्न गौतम एकाएक लखपति, करोडपति हुँदै अर्बपति भएका हुन् । उनका दाजु अर्जुनबहादुर गौतम अझै सामान्य अवस्थामा छन् । रामबहादुर गौतम धामीगाउँमा काम गर्दा गर्दै माओवादीको युद्ध शुरु भएको थियो । केहि समय उनले धुलिखेल घर भई काठमाडौमा मेशिनरी सामानको ब्यवसाय गर्ने दिलसुन्दर श्रेष्ठको पसलमा काम गरे । काम गर्दा गर्दै उनले मेशिनरी सामान खरिद विक्रीका बारेमा ज्ञान हासिल गरे । अझै पनि उनले बाबुको अंश लिएका छैनन । सानो लगानीबाट शुरु भएको उनको ब्यवसायमा विभिन्न क्षेत्रका ब्यक्तिहरुको अदृश्य लगानी भएको आशंका उतिबेला देखि भएको थियो । उनले ल्याउने मेशिनरी सामान चीनबाट धेरै थियो । त्यहि सामान ल्याउने क्रममा चीनबाट किलोका किलो सुन लुकाएर ल्याउने गरेको आरोप गौतमलाई लाग्दै आएको थियो । चिनीयाँहरुसँगको बसउठ, ब्यवसायीक साझेदार, रसुवाको केरुङ्गमा निर्माण भईरहेको हाईड्रो पावरमा साझेदारी लगायतका विषयमा गौतमलाई चिनीयासँग जोडेर हेर्ने गरिएको थियो । काठमाडौको कुलेश्वरमा गौतम श्रीको केन्द्रीय कार्यालय, टेकु पोखरा नारायणघाटको सेवा केन्द्र, हेटौंडाको गोदाम, कुलेश्वरको सुपरमार्केट, काभ्रे पात्लेखेतमा गाई फार्म लगायतका सम्पत्ति उनले खरिद गरेका छन् । काठमाडौका अन्य स्थानमा चारवटा पक्कि घर, चितवन, मकवानपुर लगायतका स्थानमा थुपे्रै जमिन खरिद गरिएको छ । काभ्रेको पातलखेतमा ५० रोपनी जमिन खरिद गरेका छन् । त्यहि सम्पतिका आधारमा उनले कुलेश्वरमा रहेको आफ्नै घरमा गौतमश्री बहुउद्देश्यीय सहकारी खोलेका थिए । झण्डै २५ हजार सदस्यबाट ७ अर्ब भन्दा धेरै बचत गराएका गौतमले केहि महिना अघि विभिन्न देशबाट ३ सय करोडको मेशिनरी सामान नेपाल भित्र्याएका थिए ।
पातलखेतमा सरकारी अनुदान लिएर गाई फार्म शुरु गरेका गौतमले एक पटक गाई र बाछी गरेर ५ सय वटा पु¥याएका थिए । ५५ जना कर्मचारी कार्यरत रहेको फार्ममा मासिक १० लाख तलब वितरण हुन्थ्यो । एक पटक विजुली चोरेर चर्चामा आएका गौतमले माओवादीसँग निकट भएर धेरै लाभ लिए तर पातलेखेतका धेरै ब्यक्तिहरुको बास उठाए । अहिले धेरै बचतकर्ताहरुलाई बीचल्ली बनाए । सहकारीमा रकम जम्मा गरेर धेरै ब्याज आउने प्रलोभनमा बचत गरेका बचतकर्ताहरु विचल्लीमा छन् । पातलेखेतका तिलकबहादुर तामाङले सहकारीबाट १४ लाख ऋण लिएका थिए । उनले धितो राखेको १६ रोपनी जमिन लिलामी गरेर सुकुम्बासी बनाईदिए । तिलकबहादुर जस्ता दर्जनौ ब्यक्तिहरु सुुकुम्बासी भएका छन् । पातलेखेतका हरि बडाल त्यहि पीडाले आत्महत्या गर्न बाध्य भए । पछि रामशरण बडालका नाममा जग्गा फिर्ता गरेर हरि बडालको श्रीमतीका नाममा दिईएको छ । ९ रोपनी जग्गा धितो राखेर उनिहरुले पटक पटक ६० लाख ऋण लिएका थिए । डाँडागाउँका अधिकाशं ब्यक्तिहरु यिनको अत्याचारका विरुद्ध बोल्न सकेका थिएनन् । थोरै ऋण दिएर धितो लिलामी गर्ने र चर्काे ब्याज लिने गौतमको सहकारीले बचतकर्ताहरुलाई पनि अस्वभाविक ब्याज प्रदान गर्दै आएको थियो ।
उनको फार्ममा शुक्रबारसम्म १४ वटा गाई, ३५ वटा बाख्रा, ३ वटा भैसी, ९ वटा पाडी, १ एउटा राँगो, ३ सय वटा हाँस थिए । उनका दाजुले भाई बेपत्ता भएको खवर पाएसँग बस्तु मर्ने डरले विक्री गराई दिएका छन् । एक साता अघि मात्रै रामबहादुर गौतमलाई बैकले कालो सूचीमा राख्ने गरी भएको तयारी राजनीतिक पहुँचका आधारमा रोकिएको थियो । सात दिनको भाका नाघे लगत्तै उनि बेपत्ता भएका थिए । अथाहा सम्पति कमाएका गौतमले शुरुमा राखेका सिईओका कारण उनि सफल हुँदै गएका थिए । एकाएक उनले मकवानपुर घर भएकी सुनिता तिमल्सिनालाई नीजि सचिवका रुपमा तयार गरे । उनी सहकराीको लेखा समितिमा लेखा संयोजकका रुपमा राखेका छन् । गौतमसँग सधै साथ साथ हुने सुनिताका नाममा पनि केहि घरहरु रहेको बताईन्छ । अहिले उनि पनि सम्पर्क विहिन छन् । जग्गा, केटी, अबैद्य सुन लगायतका काण्डमा फसेका गौतम कहाँ छन् अझै फेला पर्न सकेका छैनन ।
सहकारीमा संकट
काठमाडौंको कुलेश्वरमा रहेको गौतमश्री बहुउदेशीय सहकारीका सञ्चालक बचकर्ताको रकम फिर्ता नगरी फरार भएपछि सहकारी पीडितले सहकारी विभाग गुहारेका छन् । सहकारीका सञ्चालकहरु बचतकर्ताको पैसा लिएर कार्यालय नै बन्द गरी फरार भएको भन्दै पीडितहरु सहकारी विभागमा पुगेका हुन् । सञ्चालक फरार भए पछि सहकारीमा एभरेस्ट बैंकले सूचना टाँस गरेको छ । सहकारीका बचतकर्ताको रकम फिर्ता नगरी सहकारीको अध्यक्ष रामबहादुर गौतम र महाप्रबन्धक रवीन्द्र बिष्ट लगायत सञ्चालक व्यवस्थापक फरार भएका हुन् । ७ दिन अघि किर्ते माईन्युट तयार गरी गौतमले नयाँ संचालक समिति बनाएको सूचना सार्वजनिक भएको छ । नेपालको कुनै स्थानमा लुकेर बसेका गौतमको खोजी गर्न विभागले प्रहरीलाई पत्राचार गरेको छ । सहकारीले २५ हजारभन्दा बढी बचतकर्ताबाट बचत रकम संकलन गरेको बताइएको छ । बचतकर्ताले पटक–पटक रकम फिर्ता गर्न माग गर्दा पनि नदिएको गुनासो पीडितहरुको रहेको सहकारी विभागले जनाएको छ । सहकारीको कार्यलय रहेको कुलेश्वरस्थित भवनमा एभरेष्ट बैंकले सूचना टाँस गरेको छ । सहकारीका सञ्चालक रामबहादुर गौतमको अन्य व्यवसायमा बैंकले लगानी गरेको र सोही भवनमा बैंकले लगानी गरेको व्यवसायको गोदाम तथा कार्यालय रहेकोले सहकारी पीडितको घेराबन्दी पछि बैंकले उक्त भवनमा सिल गरेको एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले जानकारी दिएका छन् । पीडितले रकम नपाए सँगै सहकारीको भवनमा भएको एउटा गाडी पनि उठाएर लगेका थिए । सकहकारी भवनमा नै गौतमश्री काउ फार्म एण्ड डेरी उद्योग र कृषि तथा अन्य सामग्रीको स्टोर पनि छ । त्यसमा बैंकको लगानी थियो, सहकारी पीडितको भीडले उक्त स्टोरका सामान यताउता नहोस् भनेर बैकले सिल गरेर सूचना टाँसेको हो ।
बैकको ऋण लामो समय सम्म तिर्न नसकेका गौतमले राष्ट्र बैक मार्फत भाका बढाउने मौखिक आदेश गराएका थिए । राजनीतिक पहुँच भए पनि संकटमा एक्लो भएका गौतम किलोमिटर ब्याजको खोजीमा थिए । बैकले ताकेता गरिरहेको थियो । साउनको पहिलो साताबाट दोश्रो साताको भाका मागेर पनि सम्पर्कमा नपुगेका गौतमले बुधबार साउन ११ गते पुनः केहि दिनको भाका मागेका थिए । बैकले नमानेपछि उनि विहिबार साँझबाट सम्पर्क विहिन भएका हुन् । उनि भागेको जानकारी भए लगत्तै बैकले उनको घरमा शिल ग¥यो । शुक्रबार पीडितहरु नाराबाजीमा उत्रिएका थिए । गौतमका अन्य व्यवसायमा बैंकको कारोबार रहेको र बैंकले लगानी गरेको ठाउँमा रहेको स्टक सामान जोखिममा परेको छ । सहकारी सञ्चालक गौतमले सकारीको कार्यलय रहेकै स्थानमा गौतमश्री अर्गानिक एण्ड काउ फार्म साथै मार्ट र विभिन्न कृषि सामग्रीको स्टोर पनि सञ्चालन गर्दै आएका थिए । उनी गौतम समूहका नाममा विभिन्न व्यापारमा संलग्न थिए । ११४५ जनाले बचत फिर्ताका लागि सहकारी विभागमा उजुरी दिईसकेका छन् । अझै पुर्ण विवरण आउन बाँकी छ ।
सहकारीमा अध्यक्ष रामबहादुर गौतम र उनकी पत्नी निर्मला खत्री गौतमसहित १५ जना सञ्चालक तथा कर्मचारीको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको छ । धुलिखेल नगरपालिका स्थायी घर भएका संस्थाका अध्यक्ष गौतम र उनकी पत्नी निर्मला, सञ्चालक समितिकै राम गौतम, सदस्यहरू होमकुमारी खत्री, अर्जुन गोतामे, सन्तोषी केसी, सुमित्रा कार्की, भागवती थापा, लेखा समिति संयोजक सुनिता तिमल्सिना, लेखा समिति सदस्यद्वय पंकजकुमार झा र विकास चौधरी, व्यवस्थापक रवीन विष्ट, ऋण व्यवस्थापक अनिल गौतम, लेखापाल सुनिता सिंह लगायतको बैंक खाता रोक्का गर्न सहकारी विभागले राष्ट्र बैंकलाई पत्राचार गरेको छ । विभागले गरेको पत्राचारका आधारमा विभिन्न बैंकमा रहेको उनीहरुको बैंक खाता रोक्का भएको छ । सहकारीमा एकै जनाको २५ करोड बचत छ । विनोद चौधरी, अजय सुमार्गीले समेत राजनीतिक पहुँचका आधारमा अवैद्य रकम उक्त सहकारीमा जम्मा गरेको श्रोतले जानकारी दिएको छ । नेपालमा हजारौ ब्यक्तिहरुलाई डुबाएर भारत भागेका गौतम साउन १६ गते नेपाल आउने भन्दै हस्त लिखित निवेदन लेखेर सार्वजनिक गरेका थिए । मंगलबार विज्ञप्ती प्रकाशन गरी सबै सदस्यको रकम फिर्ता दिने उनको उद्घोषमा बचतकर्ताको विश्वास छैन । गौतम लगायत अन्य संचालकहरु पनि फरार छन् । सहकारीका संचालक अनिल गौतमलाई प्रहरीले मंगलबार दिउसो काठमाडौबाट पक्राउ गरिसकेको छ ।





