परिवार नै ठगीमा, ८ जनाले गरे उजुरी
मोतीराम तिमल्सिना
धुलिखेल
हुँदै नभएको जग्गा विक्री गरी ठगी गर्ने गिरोहका नाईके धादिङका रवि रेग्मिको संलग्नता खोतल्दै छ प्रहरी । साविक बनेपा १ हाल बनेपा ५ मा पर्ने खोला किनारको जमिन देखाउँदै ७६ कित्ताको प्लट बनाएर नक्कली कागजात तयार गरी ठगि गर्ने मध्येका रेग्मी र अन्यको संलग्नताका बारेमा प्रहरीले गोप्य अनुसन्धान जारी राखेको छ ।
‘एउटै प्लट देखाएर ठगिनेहरु मध्ये ८ जनाको उजुरी परेको छ’–प्रहरी प्रमुख एसपी चक्रराज जोशीले भन्नुभयो–‘थप पीडितहरु आउने क्रम जारी छ । अनुसन्धान जारी भएकाले थप विवरण आउनै बाँकी छ ।’ रवि रेग्मिले उक्त प्लटमा ठगिएकाहरुको अनुसन्धान गरे सँगै अन्य क्षेत्रको जमिन देखाएर ठगिएकाहरु पनि प्रहरीकोमा आउन थालेका छन् । प्रहरीले रेग्मिको कोठाबाट बरामद गरेको लालपुर्जाहरुका आधारमा थप अनुसन्धान भईरहेको छ भने ब्यक्तिलाई जग्गा पास गरिदिएको भन्दै ठगि गरेको रकम जम्मा गर्ने ब्यक्तिहरु र उनिहरुको संलग्नताका बारेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । पीडितहरु गणेश मैनालीको ३२ लाख ७० हजार, सिता तिमल्सिनाको ३३ लाख ३ हजार ७ सय ५०, रुकमणी हुमागाईको २३ लाख ३ हजार ७ सय ५०, निर्मला उप्रेतिको ४६ लाख ५१ हजार ८ सय ७५, लालकृष्ण घिमिरेको ५४ लाख, पुण्यवती श्रेष्ठको ३८ लाख ५० हजार ६ सय २५ रहेको छ । जग्गा किन्न बैना रकम दिनेहरु बालकृष्ण श्रेष्ठ ५० लाख र बाबुकाजी श्रेष्ठको ५ लाख रहेको छ ।
प्रहरीले सोहि प्लटको ७ वटा पुर्जा एकिन गर्न फरेन्सिक ल्यावमा पठाई सकेको छ भने पछि फेला परेका २६ वटा लालपुर्जाको बारेमा अनुसन्धान गरिरहेको छ । बनेपा ५ मा गुठीमा रुपमा राखेका ज्ञानबहादुर शाही, जीवन शाही, चन्द्रबहादुर शाहीको जग्गाका साथै रेवती दाहाल र अर्जुन दाहालको नाममा रहेको जग्गा देखाउँदै रेग्मीले सर्वसाधारणलाई ठगेका थिए । ठगीमा उनका बाबु नन्दलाल रेग्मि र श्रीमती रविना रेग्मिको पनि संलग्नता देखिएको छ । नभएको जग्गा देखाउने र विक्री गराउने बाबु नन्दलाल सक्रिय थिए । श्रीमती रविना नक्कली पुर्जा तयार गर्न तथा लुकाउने कार्यमा संलग्न थिईन् । अन्य केहिले रकमको साझेदारीता गरेका छन् । मालपोत कार्यालय पुगे पछि लेखापढी ब्यवसायी सीताकुमारी थापा र उनका श्रीमान राजन थापाले जिम्मेवारी लिएका थिए । मालपोत कार्यालयका कर्मचारी शशित भण्डारी र रामविनय यादवले थप जिम्मेवारी लिएर गिरोहलाई साथ दिएका थिए । प्रहरीले सरकारी छाप र दस्तखत किर्ते, ठगी लगायतमा अनुसन्धान गरिरहेको छ । रेग्मि कास्की र काठमाडौमा पनि ठगि अभियोगमा फरार हुन् ।
प्रारम्भिक अनुसन्धानमा रेग्मिका २६ वटा खाता फेला परे पनि पैसा छैन । उनले आफ्नो खाताबाट अन्यलाई पैसा पठाउने गरेको खुलेको छ । उनले डेड करोड रकम दिएर बैना गरेका ५ वटा जग्गा पनि नक्कली देखिएको छ । नक्कली जग्गाको बैना गर्नेहरुमा सहकारीका संचालकहरु छन् । प्रहरीले सहकारीका संचालक र बैना कागजको प्रमाण जुटाई रहेको छ । यताबाट ठगि गरेको रकम अन्यत्र दिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । रेग्मिले नाबालक छोरा आयुषका नाममा नुवाकोट लगायतका जिल्लामा जग्गा खरिद गरेका छन् । प्रहरीले एक पछि अर्काे गर्दै गिरोहको संलग्नता खोतलिरहेको प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडाले जानकारी दिनुभयो ।





