किर्ते गरेर ७६ कित्ता जग्गा विक्री
कास्की र काठमाडौंमा ठगी मुद्दा दर्ता भए पछि फरार भएका रवि रेग्मीले बनेपामा २०६८ साल देखि किर्ते जग्गाको कारोवार गर्दै आएका थिए । काभ्रेमा ४० भन्दा धेरै ब्यक्तिलाई ठगेको हुन सक्ने आशंका गरिएको भए पनि चार जनाको मात्रै उजुरी दर्ता भएको छ । उनि पक्राउ परेसँगै उनिबाट ठगिनेहरु प्रहरीकोमा उजुरी बोकेर आउन थालेका छन् ।
मोतीराम तिमल्सिना
धुलिखेल
सरकारले जग्गाको कित्ताकाट र बर्गीकरण नगरी किनबेच रोक्का गरे पछि भु–माफिया सक्रिय भएका छन् । भु–माफियाले हुँदै नभएको जग्गा देखाएर सरकारी कागजात किर्ते गरी सर्वसाधारण ठगी गरेका छन् । ठगिनेमा सर्वसाधारण देखि राष्ट्र सेवक कर्मचारी समेत छन् । किर्तेका लागि मालपोत कार्यालयका कर्मचारी सहयोगी बनेका छन् ।
धादिङ घर भई बनेपामा बस्दै आएका रवि रेग्मी, लेखापढी ब्यवसायी सिताकुमारी थापा, उनका श्रीमान् राजन थापा, कर्मचारीद्वय सशित भण्डारी र रामविनय यादव लगायतको मिलेमत्तोमा सर्वसाधारणलाई हुँदै नभएको जग्गा देखाएर नक्कली कागजात तयार गरी ठगि गरेका हुन् । काभ्रेपलाञ्चोक जिल्लामा दशक पछि भु–माफिया सक्रिय भएका हुन् । हुँदै नभएको जग्गा देखाएर भु–माफियाले लेखापढी ब्यवसायी समेतको संलग्नतामा मालपोत कार्यालयका कर्मचारीलाई साक्षी राखेर सर्वसाधारणलाई जग्गा बिक्री गराएका छन् । हुँदै नभएको जग्गा खरिद गर्नेहरु मध्ये चार जनाले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा उजुरी दिएका छन् । उजुरीमा रेग्मीले जग्गा देखाएर १ करोड २१ लाख ५० हजार ठगी गरेको बताईएको छ । अन्य पीडितहरु सम्पर्कमा आईसकेका छैनन् ।
धादिङ्गका रेग्मीको २०६८ साल असार १४ गते जिल्ला प्रहरी कार्यालय कास्की र २०६९ चैत्र १० गते जिल्ला प्रहरी परिसर काठमाडौमा ठगी मुद्दा दर्ता भएको छ । मुद्दा दर्ता भए लगत्तै उनि फरार हुँदै आएका थिए । कास्की र काठमाडौमा ठगेर भागेका रेग्मीले काभ्रेमा ठगी धन्दा शुरु गरेका थिए । रेग्मीले काभ्रे बसेर सिन्धुपाल्चोक, रामेछाप र दोलखा सम्म जग्गा देखाएर नक्कली कागजातका आधारमा सर्वसाधारणलाई ठग्दै आएको खुलेको छ । धादिङ्ग घर भई बनेपामा १० वर्ष देखि बसोबास गर्दै आएका रवि रेग्मीले काभ्रेपलाञ्चोक जिल्ला साविक कलाँती भुम्लु ७ घर भएकी निर्मला उप्रेतिलाई बनेपा नगरपालिका साविक वडा नम्वर १ को ८ आना जग्गा ४५ लाखमा विक्री गरेका थिए । रेग्मीले नक्कली जग्गाको लालपुर्जा बनाएर बनेपा १ ठेगाना राखी कित्ता नम्वर १५०४ मा ८ आना जग्गा निर्मलालाई देखाएका थिए । उक्त जग्गा असार ३० गते मालपोत कार्यालय काभ्रेपलाञ्चोकमा निर्मलाले पास गरेकी थिईन् । रेग्मीले निर्मलालाई असार ३१ गते जग्गा पास भएको पुर्जा दिएका थिए । २०७९ साउन २ गते पुर्जामा निर्मलाको नक्कली ल्याप्चे देखे पछि जिल्ला प्रहरी कार्यालय काभ्रे मार्फत मालपोत कार्यालय काभ्रेमा जग्गाको कित्ता नम्वर भिडाउँदा जग्गा नै नभएको फेला परेको थियो । भु–माफिया रवि लगायत लेखापढी गर्ने सिताकुमारी थापा र उनका श्रीमान् राजन थापा, मालपोत कार्यालय काभ्रेका कम्प्युटर अपरेटर सशित भण्डारी र रजिस्ट्रेसन ‘क’ मा कार्यरत कर्मचारी रामविनय यादव समेतको मिलेमत्तो रहेको प्रारम्भिक अनुसन्धान गरी प्रहरीले नियन्त्रणमा लिएको छ । निर्मलाका श्रीमान् गुल्मी जिल्लामा सरकारी सेवामा कार्यरत छन् । रेग्मीको घर खानतलासी गर्दा नक्कली लालपुर्जाका साथै केहि नगद बरामद गरेको प्रहरीले बताएको छ ।
निर्मला लगायत उनका आफन्त गणेश मैनाली, रुकमणी हुमागाई, रिता तिमल्सिना लगायतले जग्गा खरिद गर्दा आफु ठगिएको पछि मात्रै थाहा पाएको बताएका छन् । प्रहरी कार्यालयमा जाहेरी दिदै पीडितहरुले गिरोहका नाईके रवि रेग्मीले बनेपा ५ घोकेचौरको खोला करिडोर नजिकैको प्लटिङ्गको जग्गा देखाएका थिए । नक्सा देखि पुर्जा समेत सबै सक्कली बनाएर देखाएका रेग्मीले अरुको जग्गालाई प्लटिङ्गको कागजमा कित्ता देखाएर मालपोत कार्यालय काभ्रेपलाञ्चोकले हाल साविक गरिदिएको ७६ कित्ता बनाएका थिए । यस अघि रेग्मीले ७ वटा यस्तै प्रकृतिको जग्गा पास गरिसकेको बताएका छन् भने ७६ कित्ता जग्गा साउन ८ गते पास गरिसक्ने गरी धेरै ब्यक्तिसँग बैना रकम लिएको स्विकारेका छन् । मालपोतको रेकर्डमा उक्त जग्गा मध्ये केहि कित्ता ब्यक्तिका नाममा देखिएको भए पनि नक्सा अनुसार सबै नक्कली हो । प्रहरी प्रमुख एसपी चक्रराज जोशीले सरकारी छाप दस्तखत किर्ते गरी सर्वसाधारण ठगि गर्ने गिरोहलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको बताउनु भयो । पीडितहरुको जाहेरीका आधारमा गिरोहमा संलग्न अन्यको खोजी कार्य भईरहेको एसपी जोशीले बताउनु भयो ।
यसरी भयो ठगी
धादिङ्ग जीवनपुर ५ घर भएका रवि रेग्मी धादिङ्ग जिल्लामा नक्कली धन्दा गरेर लखेटिएका ब्यक्ति हुन् । त्यससँगै उनि सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा गएर ठगी गरेका थिए । त्यहाँबाट पनि लखेटिए पछि उनी बनेपामा आएर बसोबास गरे । बनेपाको चण्डेश्वरी नजिकै जग्गा भाडामा लिएर टहरा बनाएर बसेका रेग्मीले ५ वर्ष नपुग्दै बनेपा ९ नयाँबस्तीमा घर किनेका छन् । उनले किनेका घर बाबु नन्दप्रसाद रेग्मी र नाबालक छोरा आयुष रेग्मीका नाममा पास गरेर खरिद गरेका छन् । उनले लामो समय देखि ठगी गरिरहेका कारण बनेपामा पनि १० वटा भन्दा धेरै जग्गाको नक्कली पुर्जा बनाएर विक्री गरिसकेका छन् । तीनजना पीडित प्रहरीको सम्पर्कमा पुगिसकेका छन् ।
रवि रेग्मीले पुर्जा मात्रै नक्कली बनाएनन् । जग्गा नक्कली देखाए । राम्रो स्थानको धेरै जग्गा कम मुल्यमा पाए पछि निर्मला खरिद गर्न राजि भईन् । त्यस लगत्तै रेग्मीले वडा कार्यालयको चार किल्ला सिफारिस, जग्गाको नक्सा नक्कली बनाए । बनेपा नगरपालिकाको साविक १ देखि ९ नम्वर वडा, श्रीखण्डपुरको साविक ४ र ५ बाहेक सबै वडाहरुको हाल साविक भएको छ । हाल साविक नभएको जग्गा पास हुँदैन । उनले हाल साविक नभएको जग्गा पास गराउन मालपोत कार्यालयका केहि कर्मचारी र लेपापढी ब्यवसायीसँग साँठगाँठ गरे । हुँदै नभएको जग्गाको पुर्जा र सिफारिस बनाएर रेग्मीले निर्मलालाई ३० गते ५५ लाख रुपैयाँमा जग्गा विक्री गराई पास गराए । मालपोत कार्यालयले अनलाईन जग्गा पास गराउँदै आएको छ । सोहि जग्गाको अफलाईन लिखत तयार गर्न सिता थापा र राजन थापा सहभागी भए । अनलाईन नभएको जग्गाको लिखत लगेर डिजिटल फोटो खिचाउन मालपोत कार्यालयका कम्प्युटर अपरेटर सशित भण्डारी सहयोगि बने । उनले कार्यालयको सिस्टममा खिचेनन् । बाहिर खिचेर निर्मलालाई ल्याप्चे लगाई दिए ।
फोटो खिचाए लगत्तै निर्मला र रवि मालपोतको रजिस्ट्रेसन गर्न ‘क’ ब्लकमा पुगे । जहाँ मालपोत कार्यालयका कर्मचारी रामविनय यादवले दुबै पक्षलाई जग्गा किनबेचको लेनदेन भयो ? भनेर सोधे । दुबैले कारोवार सकियो भने । त्यो अघि सिता थापा र राजन थापाले नक्कली लिखत अनुसार रजिस्ट्रेसन नम्वर १३०४९ ‘ख’, पारित मिति २०७९ असार ३१ गते, टोकन दर्ता नम्वर १३०४, रजिस्टे«सन दस्तुर १ लाख ५१ हजार ८ सय ७६ रुपैया, पुँजिगत लाभकर ३ लाख, रसिद नम्वर १४४४ राखेर पेश गरेका थिए । यो सबै नक्कली थियो । बैंकको भौचर, छाप, अधिकृतको दस्तखत पनि नक्कली थियो । दैनिक ५ वटा पनि लिखत पास नभएका बेला १३०४ को टोकन नम्बर राखिएको थियो । मालपोत कार्यालयकै अधिकृतको दस्तखत समेत नक्कली राखेर पेश भएको कागजात ख ब्लकमा जानु अघि सबै कागजात सिता थापाले लिएर गईन् । उनिहरुले नक्कली पुर्जा बनाउने स्थानबाट निर्मलाको फोटोलाई स्क्यान गरेर प्रिन्ट गराए । पुर्जामा टाँसिएको फोटोमा आफै ल्याप्चे लगाईदिए । निर्मलालाई पुर्जा नबन्दै बनेपा आएर पैसा लिएको थियो । आफुले पुर्जामा ल्याप्चे नलगाएको सम्झिए पछि तत्कालै श्रीमानलाई फोन गरेर भनेकी थिईन् । त्यसपछि मालपोत कार्यालयमा मोठ भिडाउँदा सबै नक्कली भएको फेला परेको थियो । लेखापढी ब्यवसायी सिता थापाले आफ्नो नम्वर समेत नक्कली राखेकी छिन् ।
गिरोहले राष्ट्रिय बाणिज्य बैंकको भौचर र छाप सहित अधिकृतको नक्कली हस्ताक्षर, मालपोत कार्यालयको छाप, हस्ताक्षर र पुर्जाको नक्कली प्रिन्ट, वडा कार्यालयको छाप, सिफारिस र वडा अध्यक्षको सिफारिस समेत नक्कली बनाएर किर्ते गरेका छन् । पक्राउ परेकाहरुलाई सरकारी छाप दस्तखत किर्ते सहित ठगि अभियोगमा मुद्दा चलाउने तयारी गरिएको छ । सरकारी छाप दस्तखतमा जग्गा किन्ने र विक्री गर्ने दुबै दोषि हुन्छन् । उक्त लिखतमा राखिएका साक्षीलाई भने केहि थाहा नभएको बताईएको छ । प्रहरीले थप समुह र विक्री गरिएका जग्गाका बारेमा खोजतलास गरिरहेको छ । प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडाले प्राप्त सूचनाका आधारमा हुँदै नभएको जग्गा विक्री गर्ने गिरोहलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको बताउनु भयो । प्रहरी प्रमुख चक्रराज जोशीले जिल्लामा भएका यस्ता अपराध न्युनिकरण गर्न नागरिक सचेत हुनु पर्ने पर्ने बताउँदै दोषिहरुलाई कारवाही गर्ने बताउनु भयो ।





