2026 October 22/ 07:45: 29pm

भर्खरै बजेट प्रस्तुत भएको छ । प्रस्तुत बजेटका बारेमा मेरा केहि टिप्पणी छैनन् । टिप्पणी गर्ने मेरो हैसियत पनि छैन । त्यो औकात र क्षमता भएको भए सायद म यो अवस्थामा हुन सक्दिन थिएँ होला । राज्य विस्तारै नागरिकप्रति उत्तरदायि हुन लागेको देखिए पनि मानवीय संवेदनाहीन हुन थालेको छ । जेष्ठ नागरिकका नाममा दिने सुरक्षा रकम राजनीतिक दाउपेच र चुनावी कार्यक्रम बन्न थालेको छ । मनमोहन अधिकारीले शुरु गर्नु भएको एउटा कार्यक्रम आज राज्यका लागि सहज भन्दा असहज हुने हो कि ? भन्ने भान पर्न थालेको छ । जनप्रिय कार्यक्रमलाई बदनाम गरिन खोजिदै छ । एक सय रुपैयाँको सामाजिक सुरक्षा भत्ता अहिले ५ हजार पुगेको छ । ७५ वर्षको उमेरलाई ६८ मा झारिएको छ । यो संवेदनाहीन योजना हो । ६८ वर्षको उमेरमा भत्ता लिनु राज्यका लागि थप दायित्व छ । उमेर हद बढ्न थालेको छ । आयु धेरै हुँदा ब्यक्तिको जेष्ठ नागरिक भत्ता बढाउन थालिएको छ ।
राज्यले नागरिकहरुका लागि दिने सेवा र सुविधाले मात्रै ब्यक्तिका मन खुशी हुँदा रहेनछन् । उपचारमा सहज गराए पनि अस्पतालमा सेवा लिन जान कठिन छ । पाँच वर्ष पछि निर्वाचित भएका जनप्रतिनिधिहरुले आफू लोकप्रिय हुन विभिन्न कार्यक्रम ल्याएका छन् । ति कार्यक्रमले पनि हामीलाई छुन सक्दैन । विरामी हुँदा अस्पताल लगिदिन एम्बुलेन्स आउला । अस्पताल पनि पु¥याई देला तर अस्पताल पुगेर कुरिदिने सन्तान आफुसँग छैनन् । सन्तानलाई हामी विदेश पठाई रहेका छौं । दुई कुराले युवाहरु विदेश पलायन भएका छन् । एउटा रोजगारका लागि । जसले नेपालमा बसेर श्रम गरेर उसले न्यूनतम आवश्यकता समेत पूरा गर्न सक्दैन । त्यस्ता ब्यक्तिहरु खाडी मुलुक जान बाध्य भएका छन् । पाँच वष अघि स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरु अर्थात तीन तहकै सरकारले त्यस्ता कार्यक्रमलाई प्रभावकारी बनाउन सकेनन् । नेपालमै अर्थात् स्थानीय तहमा रोजगारका कार्यक्रम सिर्जना हुन सकेको भए पनि युवाहरु विदेशिनबाट रोकिन्थे । बीचमा कोरोना भाईरसका कारण मुलुक अस्तब्यस्त बन्यो । मुलुकमा भएका चरम समस्यालाई समाधान गर्न राज्यले ठुलो लगानीमा उद्योग कलकारखाना खोल्नु जरुरी छ । नेपालमै श्रम, नेपालमै उत्पादन र नेपालकै आयआर्जनबाट थप समृद्ध बनाउनु जरुरी छ ।
अर्काेथरी युवाहरु अध्ययन गर्ने नाममा विदेश गएका छन् । ति युवाहरु कुनै न कुनै नाममा विदेशमै बस्ने वातावरण बनाई रहेका छन् । अभिभावकलाई पनि विदेश लैजाने गरी कागजात तयार त भएको छ तर पनि त्यसले अभिभावकहरु सन्तुष्ट हुन सकेका छैनन् । नेपालको धुलो माटो र हावापानीमा खेलिरहेका नेपालीहरु विदेशमा हुने कृत्रिम खालको वातावरणमा अडिन सकिरहेका छैनन् । त्यस्ता ब्यक्तिहरुलाई स्वदेशमै बस्न पनि कठिन छ । तर उसको सहारा छैन । राज्यले जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गराएको छ । अशक्त र अपाङ्गता भएका ब्यक्तिहरुलाई मासिक सहयोग रकम उपलब्ध गराउन शुरु गरेको छ । यस्तो पैसाले पनि अभिभावकहरुलाई खुशी बनाउन सकेको छैन । एकातिर सन्तान नभएर एक्लै भएका अभिभावकहरुको गुनासो छ । अर्काेतिर सन्तान भएर पनि जेष्ठ नागरिकहरुलाई हेर्ने दृष्टिकोण र भोगाई फरक छ । नेपालमा मात्रै होईन धेरै मुलुकमा जेष्ठ नागरिकहरुका फरक–फरक समस्या देखिएकाले त्यसको समाधानका लागि भएका प्रयास सफल भएका छैनन् । राज्यका विभिन्न निकायमा कार्यरत ब्यक्तिहरु आफु कहिल्यै जेष्ठ नागरिक हुनु पर्दैन भन्ने सोच राख्दैनन् । त्यहि सोचका कारण हामीले फरक–फरक भोगाई भोग्न बाध्य भएका छौं । कोरोनाको समयमा सन्तान आफूसँग नहुँदा भोग्नु परेका पीडाहरु फरक–फरक छन् ।
मैले भोगेको पीडा फरक खालको छ । केटा मान्छेहरुलाई जीवन साथीको महत्व कति हुन्छ त्यतिबेला थाहा हुन्छ । महिलाहरु पृथ्वी हुन् । उनिहरुलाई भएको पीडा जति पनि सहन सक्दा रहेछन् । २० वर्षमा एकल भएकी महिला आफ्ना सन्तानहरुको रेखदेख, परिवार र समाजका लागि जीवनभर एकल भएकी छिन् । तर एकल पुरुष एक वर्ष पनि आपूmलाई त्यहि स्थानमा राख्न सक्दो रहेनछ । त्यहि संकटमा गुज्रिएको एउटा पीडित पुरुष हुँ म । पुरुषहरुले सकेसम्म आफ्नो पीडा भन्दैनन् । भन्यो भने पनि समाजले पत्याउँदैन । तर भोगेको भोगाई नै हो । विधिको विधान, सृष्टिको चक्र अनुसार हरेक भाग्यमानी जोडीहरुले मात्र सन्तानहरुलाई जन्म दिन्छन् र तिनै सन्तानहरुको लालनपालन र शिक्षा दिक्षामा आफ्नो जीवनको अधिकांश उर्जा खर्च गर्दछन् । उनिहरुले न्यानो पारिवारीक माया र स्नेहका साथ आफ्ना बुढेसकालका साहाराहरुलाई हुर्काउँछन । आमाबाबु जब बुढा हुन्छन, अशक्त हुन्छन तिनै सन्तानहरुको सहारा लिएर बुढेशकालको जीवन व्यतित गर्दछन् । यो रित परिवारमा चलिरहन्छ । तर केहि परिवार त्यस्ता हुन्छन जहाँ भावना र आत्मीयताले चल्नुपर्ने सम्बन्ध औपचारिकतामा सिमित हुन्छ । सानोतिनो कुरामा खटपट हुन्छ । परिवार भित्रैका सदस्यहरु बीच बेमेलको स्थिति खडा हुन जान्छ । विवाद चर्किदै द्वन्द्वको स्थितितर्फ धकेलिन्छ । सम्बन्धमा खाडल देखा पर्दछ । परिवारका सबै सदस्यहरु सँगै बस्ने वातावरण बन्दैन । आपसमा भाँडभैलो चल्छ । पारिवारिक बेमेलको कुरा घर परिवार, छर–छिमेक, वडा कार्यालय हुँदै कीर्तिपुर नगरपालिकाको न्यायिक समिति सम्म न्याय पाउँ भन्ने विषयमा मैले उजुरी दिएको थिएँ ।
२०७६ साल आश्विन १० गते । कीर्तिपुर नगरपालिका वडा नम्वर ६ मेरो स्थायी बसोबास छ । आफ्नो पीडाका बारेमा मैले न्यायिक समितिलाई जानकारी गराएँ । म ६५ वर्षीय एकल पुरुष हुँ । म आफ्नी विवाहित छोरीको साथ कीर्तिपूर नगरपालिका कार्यालयमा उपस्थित भएँ । छोरा महन्त महर्जन र बुहारी शकुन्तला महर्जनले ईज्जत आमद अनुसार खान लाउन नदिएको, छोरा बुहारीले विरामी हुँदा समेत हेरचाह नगरेको, आफ्नो नाममा रहेको जग्गाको लालपुर्जा र नागरिकता समेत उनिहरुले नै लिएको र आफु विजोग अवस्थामा रहेको र मागेर दैनिकी गुजार्नु पर्ने अवस्था रहेको व्यहोराको उजुरी किर्तिपुर नगरपालिका कार्यालयमा दर्ता भएको थियो । नेपालको संविधानको धारा ४१ मा व्यवस्था भए बमोजिम ज्येष्ठ नागरिकलाई विशेष संरक्षणको व्यवस्था रहे बमोजिम एवं संविधानको धारा २१७ मा व्यवस्था भएको स्थानीय न्यायीक समिति र न्यायीक समितिको अधिकार क्षेत्र सम्बन्धमा स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ४७ को (१) मा व्यवस्था भएको न्यायीक समितिको अधिकार क्षेत्र बमोजिम उक्त उजुरीलाई न्यायीक समितिको ईजलासमा पेश गरिएको थियो । २०७६ साल कार्तिक ५ गते दुवै पक्षलाई न्यायिक समितिको ईजलासमा उपस्थित गराई पहिलो चरणको छलफल गरिएको उक्त छलफलमा दुवै पक्षका धारणा सुन्ने क्रममा बादीले उजुरी निवेदनमा उल्लेख गर्नु भए बमोजिम ईज्जत आमद अनुसार खान लाउन नदिएको, बिरामी हुँदा समेत हेरचाह नगरेको, मर्यादित व्यवहार नगरेको, छोरा महन्त महर्जन र आफ्नो नामको संयुक्त खातामा सहकारीमा जग्गा रहेको रकम समेत आफुलाई जानकारी नै नदिई किर्ते गरी हिनामिना गरेको लगायतका बिषयहरुमा छलफल भएको थियो । छोरा महन्त महर्जन र बुहारी शाकुन्तला महर्जनले बाबु महन्त महर्जनलाई ईज्जत आमद अनुसार नै खान लाउन दिएको, तर निजले छोरा बुहारीसंग बस्न मन नगरेको साथै गलत मनसाय राखि छर छिमेक एवं विवाहित छोरीहरुले दिएको सल्लाहका कारण परिवारमा फाटो आएको तर अझै पनि आफ्नो बाबुलाई स–सम्मान हेरचाह र पालनपोषण गर्न आफुहरु प्रतिबद्ध रहेको धारणा व्यक्त गरेका थिए ।
स्थानीयहरुको घरदैलोको सरकारको रुपमा रहेको स्थानीय सरकार एवं उक्त सरकारको एक अंगको रुपमा रहेको न्यायिक समिति र न्यायिक समितिमा रहनु भएका नगर उप प्रमुख एवं न्यायिक समिति संयोजक सरस्वती रिजाल खड्का, सदस्यद्वय सुनिता नकर्मी र मिलन महर्जनले यो समस्यालाई निर्णय भन्दा मेलमिलापको बाटोबाट टुङ्याउँदा दुवै पक्षले जित्ने मनसायका साथ विभिन्न चरणमा छुट्टा छुट्टै र संयुक्त रुपमा मेलमिलापमा विभिन्न चरणहरु र सम्भावित उपायहरु प्रयोग गरी छलफलमा राख्नु भएको थियो । छलफल पश्चात दुवै पक्ष सोही दिन देखि छोरा बुहारी घरमा सँगै बस्ने, सँगै खाना खाने एक अर्कालाई मर्यादित व्यवहार गर्ने, मलाई स–सम्मान ज्येष्ठ नागरिकको हैसियतमा पालन पोषण गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । प्रतिबद्धता मुताविक मलाई छोरा बुहारी एवं नाति नातिना सँंग सँगै बस्ने र बाँकी जिवन परिवार सँगै हाँसी खुशि विताउने आशय राखें । दुवै पक्षले एक अर्कालाई चित्त दुख्ने गरी दूर बचन कदापि प्रयोग नगर्ने, पारिवारीक मर्यादा र सम्मान कायम राख्ने र कुनै समस्या आईपरेमा पुनः नगरपालिकामा उपस्थित भई आफ्ना कुरा राख्ने बताएका थिए । अहिले मलाई उनिहरुले सकेको राम्रो त गरेका छन् तर चित्त बुझेको छैन । मलाई भएको जस्तो अरु जेष्ठ नागरिकलाई त्यस्तो नहोस् ।


नरबहादुर महर्जन
कीर्तिपुर नगरपालिका