2026 October 22/ 01:37: 50pm

धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लामा रहेका १३ वटा पालिकामा १ सय ३५ वडा रहेका छन् । जसमध्ये गठबन्धन गरेका दलहरुले महिलालाई कम प्राथमिकतामा राखेका छन् । प्रमुख र उपप्रमुख पदमा नेपाली काँग्रेस र नेकपा समाजवादीले त एक जना पनि महिला उम्मेदवार बनाएका छैनन् । माओवादी केन्द्रले एकजना प्रमुख र उपप्रमुख उम्मेदवारी दिएको छ । 
    उम्मेदवारी दिएका मध्ये नेकपा एमालेका तर्फबाट चार महिला अध्यक्ष छन् भने नेपाली काँग्रेसबाट तीन महिला उम्मेदवार अध्यक्ष छन् । त्यस्तै नेकपा माओवादी केन्द्रबाट एक जना छन् । सामाजिक एकता पार्टी, नेकपा परिवर्तनबाट १÷१ जना उम्मेदवार महिला छन् । एकजना स्वतन्त्र महिलाले अध्यक्ष पदमा प्रतिस्पर्धा गरिरहेका छन् । राप्रपाबाट धुलिखेलमा दिपा श्रेष्ठ उपप्रमुख पदमा उम्मेदवारी दिएकी छिन् । एमालेले धुलिखेल–८ मा गिता तामाङ, बनेपा–१४ मा निर्मला तामाङ, मण्डनदेउपुर–९ मा अम्बिका ठकुरी, रोशी–११ मा चन्द्रमाया तामाङलाई टिकट दिएको छ भने नेपाली काँग्रेसले बनेपा–८ मा शुभलक्ष्मी मानन्धर, भुम्लु–६ मा सावित्री माझी, रोशी–९ मा मुकुमाया तामाङ रहेका छन् । पाँचखाल ४ को वडाअध्यक्षमा पार्वती विक स्वतन्त्र उम्मेदवार उठेकी छन् । माओवादी केन्द्रले पनौती–४ मा सुशिला सुवाललाई उम्मेदवार बनाएको छ । सामाजिक एकता पार्टीबाट धुलिखेल–१० मा मैयादेवी श्रेष्ठ, नेकपा परिवर्तनबाट रोशी–१२ मा बुद्धिमाया तामाङ उम्मेदवार छन् । स्थानीय तहको निर्वाचन २०७४ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र रुपमा ११ जना महिला उम्मेदवार बनेपनि कोही पनि निर्वाचित भएका थिएनन् ।