हायु परिवारको फेरियो जीवन
बनेपा/संघीय सरकारले बृद्धबृद्धा, अपाङ्गता भएका, ६० बर्ष पुगेका एकल महिला गरि ८ किसिमका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ ।
रोशी गाउँपालिकाको वडा नाम्वर ११ मा हायु जातिको बसोबास छ । हायुलाई सरकारले लोपोन्मुख जातिमा सूचीकृत गरेर प्रतिव्यक्ति ३ हजार ९९० रुपैयाँ मासिक भत्ता दिँदै आएको छ । ११ परिवारमा ७५ जना छन् । वडा नं. १० का सचिव तोरण रानाका अनुसार एक परिवारमा १० जना सदस्य छन् । त्यस परिवारले मासिक ३९ हजार ९ सय रुपैयाँ भत्ता पाउँदै आएका छन् । त्यस परिवारले बार्षिक ४ लाख ७८ हजार ८०० भत्ता पाउँदै आएका छन् । एक परिवर भने भारतमा बस्छन् । भत्ता लिन उनीहरू गाउँमै आइपुग्छन् । भत्ताले हायु जातिको जिवनयापन सहज मात्र भएको छैन । सन्तानको शिक्षा, स्वास्थ्य र रोजगारमा पनि उल्लेख्य प्रगति भएको छ । यसले गर्दा सामाजिक सुरक्षा भत्ता बरदान सावित भएको छ । भत्ताबापत पाउने रकमबाट सुरबहादुर हायुले दुई छोरीलाई नर्सिङ पढाए । अहिले एउटी छोरी बिमला हायु रोशी गाउँपालिकाको वडा नं. १२ को शिखरपुरमा विद्यालय नर्स छिन् । अर्की छोरी हिमकला हायु छिमेकी महाभारत गाउँपालिकाको ग्रामोन्नती माविमा नर्स छिन् । जागिर र भत्ताबाट प्राप्त रकमले जीवनयापन धेरै सहज भएको उनीहरू बताउँछन् । वडा नं. १० की सुष्मा हायुले पनि भत्ता पाउँदै आएकी छन् । उनीकी बहिनी मुना हायु पञ्चकन्या माविको प्राथमिक तहमा अध्यापन गराउँछिन् । सुष्मा र मुनाको परिवारमा ८ जना सदस्य छन् । उनीहरू सबैले भत्ता पाउँदै आएका छन् ।
अर्का दुधराज हायु विद्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत छन् । ७ जना सदस्य रहेको उनको परिवारमा सन्तानहरू उच्च माध्यामिक तहमा पढिरहेका छन् । यसैगरि हरिबहादुर हायुकी छोरी सुस्मिता हायु स्नातक तहमा अध्ययन गरिरहेकी छन् । भत्ताले व्यक्तिगत जिवनयापन गर्न र सन्तानलाई शिक्षा दिन सहज भएको हरिबहादुरले बताए । हायु जातिका सबै बालबालिका विद्यालय जान थालेका छन् । एक दशक अघिसम्म विपन्न हायु जातिको जिवनयापन, शिक्षा, स्वास्थ्य अहिले उन्नत बनेको छ ।
राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका अनुसार हायुसहित कुसुन्डा, बनकरिया, राउटे, सुरेल, राजी, किसान, लेप्चा, मेचे, कुसबडिया, पथ्थरकट्टा, सिलकट, कुशबधिया र कुचबधिया जातिलाई लोपोन्मुख आदिवासी जनजातिमा सूचिकृत गरि प्रत्येक नागरिकलाई भत्ता दिँदै आएको छ । विभागका निर्देश लक्ष्मण ढकालले भत्ताले समग्र लोपोन्मुख जातिहरूको जिवन फेरिएको बताए । रोशी गाउँपालिकामा ७४ जना हायुसहित ३ हजार २३७ जना लाभग्राहीले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् । गाउँपालिकाका सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रमका फोकल पर्सन चन्द्र पाख्रिनले प्रत्येक तीन–तीन महिनामा लाभग्राहीहरूको विवरण अद्यावधिक गरिरहेको बताए ।
पनौती नगरपालिकाले भने संघीय सरकारको सामाजिक सुरक्षा कार्यक्रमले समेट्न नसकेका ६० बर्ष मुनिका एकल महिलाहरूलाई भत्ता दिईरहेको छ । संघीय सरकारले दिने भत्ता एकल महिला ६० बर्ष पुगे पछि मात्रै पाउने व्यवस्था छ । ५ वर्ष उमेर पुरा भई ६० वर्ष पुगेका अविवाहित, सम्वन्ध विच्छेद भएका र १५ वर्षदेखि श्रीमान वेपत्ता भएका १ सय ९१ जना महिलालाई मासिक १ हजार रुपैयाँका दरले भत्ता दिइरहेको छ । ६० वर्ष पुगेका एकल महिलालाई संघीय सरकारले मासिक रुपैयाँ भत्ता दिँदै आएको छ ।
नगरपालिकाले एकल महिलाहरूका लागी सामाजिक सुरक्षा कार्यक्रम संचालन कार्यविधि २०७५ जारी गरेको थियो । ‘पछिल्लो समय विवाह नगरी बस्ने महिलाको संख्या धेरै छ । पारिवारिक वेमेलका कारण सम्वन्ध विच्छेद गर्ने महिलाहरुको संख्या पनि थपिको छ । केहीको पति बेपत्ता छन्,” नगर प्रमुख भीम न्यौपाने भन्छन्, “आय आर्जनको अवस्था कमजोर भएको ३५ देखि ६० बर्ष समुहका एकल महिलाहरूलाई जिवन निर्वाह सहज बनाउन भत्ता दिँदै आएका छौँ ।” पनौती नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता लिईरहने वर्ष ७९ का लिलाधर आचार्यले बैकमा गएर पैसा लिन असहज भएको बताउनु भयो । बैकमा गएर घन्टौ लाईन बस्नु पर्ने बाध्यताको अन्त्य गर्न आचार्यले नगरपालिकालाई अनुरोध गर्नु भएको छ । ‘हामी बुढाबुढीहरुलाई बैकसम्म पुग्न पनि सकस हुन्छ’–उहाँले भन्नुभयो–‘परिवारका सदस्यहरुले लैजाने गरेको भए पनि पहिला घरमै आउने भत्ता उहाँसम्म पुग्दा असहज महसुस भएको मात्रै हो । बैकमा सुरक्षित हुने कुराले भने म खुशी छु ।’
पनौतीकै प्रेममाई तिमल्सिनाले बैंक मार्फत वितरण हुने गरेको सामाजिक सुरक्षा भत्ताले सहज भएको बताउनु भयो । ‘घरमा पैसा आउँदा बचत हुँदैन थियो, अहिले बचत मात्रै होईन बैंकले ब्याज पनि दिने गरेको छ’–उहाँले भन्नुभयो–‘बृद्ध भत्तामा ब्याज आउन थाले पछि बैंक आउनु परे पनि थप खुशी दिएको छ ।’ घरमा सदस्यहरुलाई दिनुपर्ने भए पनि बचत हुँदैन थियो अहिले बचत सँगै ब्याज पनि थपिने कुराले बैंक मार्फत रकम वितरण भएको राम्रो लागेको तिमल्सिनाले बताउनु भयो । संघको सामाजिक सुरक्षा भत्ता कार्यक्रमले समेट्न नसकेको समुहलाई भत्ता दिने पनौती नगरपालिका काभ्रेकै एक मात्र स्थानीय तह हो । अरू जिल्लाका कतिपय स्थानीय तहले थप भत्ता दिए पनि संघसँग दोहोरोपना हुने, लक्षित बर्ग सबैलाई समेट्न नसक्नेजसता समस्या देखिएका छन् । यसबाहेक पनौतीमा संघीय सरकारबाट सामाजिक सुरक्षा भत्ता लिने लाग्राहीको संख्या ४ हजार ४२४ छ । जसमध्ये ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक २ हजार १७९, दलित जेष्ठ नागरिक १ सय ३, एकल महिला जेष्ठ नागरिक ७ सय १३, बिधवा ८ सय ९९, पूर्ण अपाङ्गता भएका १ सय ८९, अति अशक्त अपाङ्गता भएका १ सय ४३, दलित बालबालिका १ सय ९८ जना छन् ।
जिल्ला सदरमुकामको धुलिखेल नगरपालिकाले जिल्लामै पहिलो पटक बैंकबाट सामाजिक सुरक्षा भत्ता बितरण गर्न थालेको थियो । बैंकमार्फत कारोबार हुन थाले पछि भत्ता बितरण पारदर्शी भएको छ । तर बृद्धबृद्धाहरूले भने झन्झट भएको गुनासो गरेका छन् । यसअघि वडाहरूले घर–घरमै लगेर भत्ता बितरण गर्दै आएकोमा संघीय सरकारको नीति अनुसार बैंकबाट बितरण गरिएको हो । स्थानीय ज्येष्ठ नागरिक सीताराम कोइरालाले झन्झटिलो भएको गुनासो गरे । ‘पहिले भत्ता घरमै आइपुग्थ्यो । बैंकबाट थाप्दा सुबिधाजस्तो देखिए पनि पहिलेभन्दा झन्झटिलो लाग्यो ।’ कोइरालाजस्तै अरू बृद्धबृद्धाहरूले पहिलेभन्दा झन्झटिलो भएको गुनासो गरेका छन् । यसैगरि पनौती नगरपालिकाबाट भत्ता लिने शम्भु केसीले पनि असहज महशुस गरेको बताए ।
‘बैंकबाट भत्ता लिँदा तत्काल खर्च होला भन्ने नहुँदो रहेछ । बचत हुन्छ । चाहेको बेला निकाल्न सकिन्छ । तर घरमै पाइरहेको भत्ता लिन बैंकमा जानु पर्दा पहिलाभन्दा अहसज लाग्दो रहेछ,’– केसीले भने । भत्ता वापतको बजेट विनियोजन गर्ने राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्टराईले भने सुरूमा झन्झटिलो महशुस भए पनि बिस्तारै सजिलो महशुस हुने दाबी गर्छन् ।
घरमै भत्ता थापिरहेको लाभग्राहीले बैंकसम्म पुग्नु पर्दा झन्झट महशुस गर्नु स्वभाविक हो । बिस्तारै बानी पर्दै जान्छ– भट्टराई भन्छन्–‘बैंकसम्म पुग्न नसक्ने अशक्त लाभग्राहीहरू छन् भने सम्बन्धित वडाले समन्वय गरेर घरसम्म लैजाने वा परिवारका सदस्यहरू मार्फत भत्ता पु¥याउने व्यवस्था गर्न पनि सक्छन् ।’ नगरपालिकाले भत्ता पाउने लाभग्राहीको लगतकट्टा गर्ने अभियान सुरू गरेको छ । मृत्यु भएका र बसाइँ सरेका लाभग्राहीको समयमै घटना दर्ता गरि लगत कट्टा गरिरहेको धुलिखेल नगरपालिकाका सामाजिक सुरक्षा भत्ता उपशाखाका प्रमुख गायत्रीरमण घिमिरेले बताए । यसैगरी लाभग्राहीले भत्ताको रकम बचत गर्ने र आवश्यक पर्दा मात्रै निकाल्ने परिपाटी बस्दै गएको घिमिरेले बताए । पहिले चौमासिक रुपमा वितरण हुने भत्ता त्रैमासिक रुपमा वितरण हुन थाले पछि भने लाभग्राहीहरू खुशी भएका छन् । एनआईसी एसिया बैंक, सेन्चुरी कमर्सियल बैंक, देवः विकास बैंक र सिभिल बैंकमार्फत भत्ता बितरण भइरहेको छ ।
धुलिखेल नगरपालिकामा भत्ता पाउने लाभग्राही ३ हजार २९९ जना छन् । जसमध्ये ज्येष्ठ नागरिक १ हजार ७१७, ज्येष्ठ दलित १ सय २, एकल महिला ६ सय २७, पूर्ण अपाङ्गता भएका ७८, अति अशक्त अपाङ्गता भएका १ सय ३० र दलित बालबालिका १ सय ९८ जना छन् ।





