पूर्व मन्त्री एवं नेकपा एमाले पोलिटब्युरो सदस्य, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ का सांसद गोकुल बास्कोटाले न्यायालयमा भएको राजनीति रोक्न न्यायाधिशहरुलाई चेतावनी दिनु भएको छ । न्यायालयमा निरन्तर राजनीति गरिरहने हो भने एमाले चुप लागेर नबस्ने चेतावनी बास्कोटाले दिनु भएको हो ।
धुलिखेल नगरपालिकाको ३६ औ स्थापना दिवसको उद्घाटन सभामा बोल्दै एमाले नेता गोकुल बास्कोटाले न्याय सम्पादन छाडेर राजनीति गर्ने अदालतका श्रीमान्हरुलाई राजनीतिमा आउन चेतावनी दिनु भएको हो । ‘न्यायिक स्वतन्त्रताका नाममा जथाभावी फैसला गर्ने अधिकार न्यायाधीशहरुलाई छैन’–एमाले पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले भन्नुभयो–‘न्याय सम्पादन मात्रै गर, राजनीति गरिरह्यौ भने तिम्रो राजनीतिलाई एमालेले अंकुश लगाईदिने छ ।’ प्रधानन्याधीश चोलेन्द्र शमशेर जबरालाई सत्ता गठवन्धनले महाअभियोग लगाए सँगै एमालेले आफ्ना सांसदहरुलाई खालि कागजमा हस्ताक्षर गराएर राखेको छ । एमाले नेता बास्कोटाले न्यायाधीशहरुलाई चेतावनी दिदै न्याय सम्पादनमा निश्पक्षता अपनाउन भनेका हुन् । अदालतमा एमालेले कारवाही गरेका १६ सांसदको मुद्दा विचाराधिन छ । फैसला हुने दिन सोहि मुद्दालाई प्रभावित बनाउन महाअभियोग दर्ता गरेको एमालेले आरोप लगाउँदै आएको छ ।
पूर्व मन्त्री बास्कोटाले प्रचण्डको भस्मासुर प्रवृत्तिका कारण मुलुक एक पछि अर्काे संकटमा फसेको बताउनु भयो । ‘अमेरिकालाई पत्र लेखेर एमसीसी पास गर्छु भन्ने यता कार्यकर्तालाई उक्त सम्झौता राष्ट्रघाती भन्ने प्रचण्डका झुट दुनियाँले चिनेका छन्’–पूर्व मन्त्री बास्कोटाले भन्नुभयो–‘इतिहासकै जोक्कर प्रचण्ड सरकारमा पनि बस्ने सडकमा पनि आन्दोलनको नाटक गरिरहेका छन् ।’ एमाले तथा नागरिकहरुको दबाबका कारण सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन समेत माओवादीबाट विजयी भएका नगर प्रमुखले रोक्न निवेदन दिएको भन्दै न्यायाधीशहरुलाई कानुन अनुसार आदेश दिन पूर्व मन्त्री बास्कोटाले चेतावनी दिनु भएको थियो । सभामुख अग्नि सापकोटा विरुद्ध पनि आक्रामक बास्कोटाले एमालेले कारवाही गरेका सांसद्को पद जोगाएर माओवादीबाट एमाले प्रवेश गरेका सांसद्लाई कारवाही गरी संसदको गरिमा जोगाउन नसकेको भन्दै तत्काल पदबाट राजिनामा दिन नभए कारवाही गरिएका ब्यक्तिका बारेमा सदनमा जानकारी गराउन अनुरोध गर्नु भयो । आगामी निर्वाचनमा एमाले देशभर नै पहिलो शक्ति हुने बताउँदै बास्कोटाले छलछामबाट राजनीति अघि नबढ्ने बताउनु भयो ।
नेपालकै नमुना विकासका कामहरु धुलिखेलमा शुरु भएको बताउँदै पुर्व मन्त्री बास्कोटाले वर्तमान परमादेशी सरकारले १४ सय योजना कटौती गरी मुलुकको विकासलाई धोका दिएको बताउनु भयो । कार्यक्रममा धुलिखेल नगरपालिका प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकाले चार वर्ष ५ महिनामा गरेका कामहरुका बारेमा जानकारी गराउनु भएको थियो । प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेलले धुलिखेलको विकास संस्थागत हुँदै गएको बताउनु भयो ।





