मोतीराम तिमल्सिना
धुलिखेल
चुनावको तयारी सँगै अनिश्चितता पनि थपिएको छ । संसद्मा एमालेको अवरोध कायम नै छ । सडकमा एमसीसीको विरोध छ । सर्वोच्चमा स्थानीय तहको घोषित २०७९ बैशाख ३० को निर्वाचन विरुद्ध रिट दर्ता भएको छ । प्रधानन्यायाधिशलाई महाअभियोग दर्ता भएको छ । पास फेलको टुङ्गो लागेको छैन । यस्तो अवस्थामा जिल्लामा राजनीतिक दलहरु चुनावी तयारीमा जुटेका छन् । दल भित्र नेताहरु टिकटको दाबेदारीमा छन् । टिकटकै कारण आउने संकट टार्न दलहरुलाई हम्मेहम्मे पर्ने देखिन्छ ।
टिकटका लागि दलहरु भित्र आन्तरिक प्रतिस्पर्धासँगै किचलो शुरु भएको छ । २०७८ पौष २३ गते एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरी २६ गते मतदान सकिएको एमाले काभ्रेको निर्वाचित टिमले सोमबार सपथ ग्रहण गरेको छ । कोरोना भाईरसका कारण अधिकांश नेता कार्यकर्ता प्रभावित भए पछि स्थगित सपथ कार्यक्रम फागुन ९ गते सम्पन्न गरेको हो । सपथसँगै एमाले काभ्रे चुनावी अभियानमा होमिएको एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुले बताउनु भयो । एमालेले सम्भावित स्थानीय तहका प्रमुख उपप्रमुखहरुको एकसरो टुङ्गो लगाई सकेको छ । धुलिखेल नगरपालिकाको ३६ औ स्थापना दिवसको अवसरमा फागुन ५ गते पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री गोकुल बास्कोटाले धुलिखेलमा अशोक ब्याञ्जु नेतृत्वको टिम नै आगामी निर्वाचनका लागि तयारी भएको घोषणा गरे भने अन्य तहमा पनि सोहि अनुसार तयारी गरिएको बताएका थिए । पालिकाहरुमा सर्वसम्मत उम्मेदवार चयन गर्ने र अधिकांश पालिकामा जित्ने एमालेको रणनीतिलाई गठबन्धनको केहि आशंका छ । गठबन्धन हुँदा केहि कम मतले उम्मेदवारहरु पराजय हुने हो कि भन्ने संशय एमालेमा छ । संशय नहुने गरी माओवादी केन्द्र र राप्रपा तथा अन्य पार्टीबाट एमालेमा प्रवेश गराएकाले एमाले अझै धेरै स्थानीय तहमा जित्नेमा आशावादी छ ।
यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा समेत एमाले एक्लैले ७ वटा स्थानीय तह सहित जिल्ला समन्वय समितिमा एकलौटी विजयी हासिल गरेको थियो । एमालेले केहि स्थानीय तहका पदाधिकारीहरुलाई पुनः उम्मेदवार बनाउने तयारी गरेको छ । फुटका कारण घाईते जस्तै भएको एमाले काभ्रेले नेकपा माओवादी केन्द्रका नेताहरु प्रवेश गराएर क्षति पूरा भएको दाबी गरेको छ । टिकटका लागि एमाले भित्र पनि विवाद चुलिने सम्भावना भए पनि सर्वसम्मत हुने एमालेले घोषणा गरेको छ । एमालेमा राप्रपाको जिल्ला कार्य समिति नै प्रवेश गरेको छ । यसअघि राप्रपाले काभ्रेका १३५ वडामा ३ वटा वडामा विजयी हासिल गरेको थियो । अहिले दुईवटा वडाका वडा अध्यक्षहरु सहित जिल्लाको टिम नै एमालेमा समाहित भए पछि एमाले पहिलो र सशक्त पार्टीका रुपमा अघि बढेको छ ।
जिल्लामा प्रतिस्पर्धी देखिएको नेपाली काँग्रेस पनि निर्वाचनको आन्तरिक तयारीमा जुटेको छ । भर्खरै अधिबेशन सकेको नेपाली काँग्रेस काभ्रे भित्र घर परिवारका सदस्यहरु अलग अलग हुने गरी गुट बनेको घाउ निको भएको छैन । केहिले फेसबुक मार्फत उम्मेदवारी घोषणा गरिसके भने केहि पर्ख र हेरको रणनीतिमा छन् । यसअघि जिल्ला सभापति तिर्थ लामा क्षेत्र नम्वर १ का नेता थिए । अहिले पनि नेताहरुले पहुँच र निकटताका आधारमा टिकट प्राप्त हुने त्रासमा छन् । यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले एउटा नगरपालिका र ३ वटा गाउँपालिकामा विजयी हासिल गरेको थियो । काँग्रेसको विधान अनुसार पनि वडा अध्यक्षहरुको टिकट प्रतिनिधि सभा क्षेत्र मार्फत, गाउँपालिकाको टिकट जिल्ला समिति र नगरपालिकाको प्रदेश समितिले दिने ब्यवस्था छ । सोहि ब्यवस्था अनुसार अहिले काँग्रेसमा आफु अनुकूलका स्थानमा ब्यक्ति निकटलाई टिकट दिलाउन लागेको भन्दै असन्तुष्टि चुलिन थालेको छ । तर काँग्रेसलाई एमाले फुटेको, माओवादी कमजोर भएको र नेकपा समाजबादी जन्मदै गरेको अवस्थामा धेरै क्षेत्रमा आफ्नो पार्टीले जित्ने हौसला बढेको छ । काँग्रेसले पनि स्थानीय स्तरमा कार्यक्रम शुरु गरेको छ ।
नेकपा माओावादी केन्द्र्र जिल्लाको तेश्रो दल हो । यसअघि दुई वटा पालिकामा विजयी हासिल गरेको माओवादी केन्द्र अहिले छिन्नभिन्न छ । टिकटका लागि आन्तरिक प्रतिस्पर्धा भए पनि मिलेर जानुपर्ने अवस्थामा माओवादी पुगेको छ । सम्भवतः जिल्लामा माओवादी केन्द्र र नेकपा समाजवादी मिल्ने सम्भवना देखिन्छ । तर पनि विजयीका लागि एमाले वा काँग्रेसँग समीकरण बनाउन दुई दललाई आवश्यक छ । सत्ता गठबन्धन बीचको समीकरण कायम रहे जिल्लाको अवस्था फरक हुन सक्ने सम्भावना छ । जिल्लामा अन्य साना राजनीतिक दलहरु पनि छन् । जसले यसअघि वडामा विजयी हासिल गरेका थिए । अहिले ठुला दलहरुमा समाहित भए पछि उनिहरुको अस्तित्व संकटमा छ ।
उता निर्वाचन आयोग काभ्रे पनि निर्वाचनको तयारीमा जुटेको छ । सरकारले निर्वाचन घोषणा गरेको दिनसम्म १८ वर्ष पूरा भएका मतदाताहरुले स्थानीय तहको निर्वाचनमा भाग लिन पाउनेछन् । काभ्रेमा त्यस्ता मतदाताको संख्या ३ लाख १ हजार पुगेको छ । निर्वाचन आयोगमा फोटो सहितको नामावली दर्ता गर्ने मतदाताहरुको अद्यावधिक गर्ने कार्य भईरहेको जिल्ला निर्वाचन अधिकारी उमेश राईले जानकारी दिनुभयो । ‘मतदाता नामावली हरेक वर्ष अद्यावधिक हुन्छ’–निर्वाचन अधिकारी राईले भन्नुभयो–‘सबै पालिकामा निर्वाचनसँग सम्बन्धित एकजना सम्पर्क ब्यक्ति तोकिएको छ । उहाँ मार्फत पालिकामा मतदाताहरुको अवस्थाका बारेमा जानकारी माग गरी अद्यावधिक हुँदै आएको छ ।’ हरेक पालिकाले आफ्नो पालिकामा रहेका नागरिकहरुको मृत्यु भएमा त्यसको जानकारी निर्वाचन आयोगलाई जानकारी गराउनु पर्नेछ । हालसम्म पछिल्लो समय धुलिखेल नगरपालिकाले बाहेक अन्य पालिकाले त्यस्तो विवरण बुझाएका छैनन् । आयोगले फागुन २० सम्म मतदाता परिचय पत्र हराएका ब्यक्तिहरुलाई वडा मार्फत आयोगमा निवेदन दिन आब्हान गरेको छ ।
२०७४ साल बैशाख ३१ गतेको मत परिणाम
कसले कति सिट प्राप्त गरेका थिए ?
धुलिखेल/२०७४ बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट पुनः नेकपा एमाले पहिलो शक्ति बनेको थियो । एमालेले जिल्लाका सबै स्थानीय तहमा पहिलो चरणमा सम्पन्न निर्वाचनमा ३ सय ३१ सिट प्राप्त गरेको थियो भने दोश्रो भएको नेपाली कांग्रेसले २ सय २२ सिट प्राप्त गरेको थियो ।
पछिल्लो पटक भएको कार्यपालिकाको निर्वाचनसँगै खुल्ला दलित, अल्पसंख्यकको तीन÷तीन सिटमा पनि अधिकांश स्थानीय तहमा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका थिए । धुलिखेल, बनेपा, पनौती, मण्डन देउपुर, नमोबुद्ध, भुम्लु गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारहरु विजयी भए । गाउँपालिका र नगर कार्यपालिकामा पनि एमालेले आफ्नै उम्मेदवारहरुलाई विजयी गराएको छ ।
बेथाञ्चोक गाउँपालिकामा नेकपा एमाले शुन्य भएको थियो भने माओवादीले एक सिट विजयी हासिल गरेको थियो । तेश्रो शक्तिका रुपमा रहेको नेकपा माओवादीले १३ वटा स्थानीय तहमा १ सय २७ सिट प्राप्त गरेको थियो । बनेपा, पनौती, धुलिखेलमा माओवादी शुन्य भएको थियो । राप्रपा, फोरम लोकतान्त्रिक, माओवादी बैद्य समुह, स्वतन्त्र उम्मेदवारले समेत केहि सिट प्राप्त गरेका थिए ।
यस्तो थियो परिणाम
जिल्लाका १३ वटा स्थानीय तह मध्ये नेकपा एमालेले ७ वटा तहमा विजयी हासिल गरेको थियो । धुलिखेल, पनौती, बनेपा, नमोबुद्ध, मण्डन देउपुर नगरपालिकामा एमालेका प्रमुख र उपप्रमुखहरुले फराकिलो मतान्तरले विजय प्राप्त गरेका थिए । खानीखोला र भुम्लु गाउँपालिकामा एमालेले विजय प्राप्त गरेको थियो । तेमाल, बेथाञ्चोक, रोशी, पाँचखालमा नेपाली कांग्रेसले विजय प्राप्त ग¥यो । महाभारत र चौरीदेउरालीमा माओवादी केन्द्रले विजय प्राप्त ग¥यो ।
धुलिखेल नगरपालिका– प्रमुख
अशोक ब्याञ्जु– ७९८१ (एमाले) विजयी
रमेशप्रसाद हुमागाई– ५४०८(नेपाली कांग्रेस)
सरस्वती लामा– १६२१( माओवादी केन्द्र)
मण्डन देउपुर नगरपालिका– प्रमुख
टोकबहादुर वाईवा– ६२३६ (नेकपा एमाले) विजयी
अच्युत पौड्याल– ५०७२ (नेपाली कांग्रेस)
रिता ढकाल – २०२३ (माओवादी केन्द्र)
नमोबुद्ध नगरपालिका– प्रमुख
टिपी शर्मा तिमल्सिना– ५३४६ (नेकपा एमाले) विजयी
कुन्साङ्ग लामा– ४९६१ (नेपाली कांग्रेस)
रत्न लामा – ३८६७ (माओवादी केन्द्र)
बनेपा नगरपालिका– प्रमुख
लक्ष्मी नरसिं बादे– ११४०९ (नेकपा एमाले) विजयी
राम जोशी– ९६५९ (नेपाली कांग्रेस)
भोलाप्रसाद अर्याल – १३७० (माओवादी केन्द्र)
पाँचखाल नगरपालिका– प्रमुख
महेश खरेल– ७३५६ (नेपाली कांग्रेस) विजयी
रुद्रबहादुर बाँनिया– ६८०० (नेकपा एमाले)
आईते सिं तामाङ – ३२७९ (माओवादी केन्द्र)
पनौती नगरपालिका– प्रमुख
भिम न्यौपाने– १२२५६(नेकपा एमाले) विजयी
विदुर बञ्जारा– ९१९० (नेपाली कांग्रेस)
जमुना सापकोटा – १२३९ (माओवादी केन्द्र)
भुम्लु गाउँपालिका– अध्यक्ष
गुमानध्वज कुँवर– ३५४८ (एमाले) विजयी
तस्विर लामा– २९४९ (नेपाली कांग्रेस)
नकुलप्रसाद पराजुली– २३९२ (माओवादी केन्द्र)
रोशी गाउँपालिका– अध्यक्ष
दलबहादुर लामा– ४३७२ (नेपाली कांग्रेस) विजयी
बज्रध्वज लामा–२९५७ (नेकपा एमाले)
मिमबहादुर वाईवा– २२१९ (माओवादी केन्द्र)
बेथाञ्चोक गाउँपालिका– अध्यक्ष
प्रेमबहादुर तिमल्सिना– ३८६८ (नेपाली कांग्रेस) विजयी
प्रेमकुमार तामाङ – २७४१ (नेकपा एमाले)
मर्दन सिं तामाङ– १७४९ (माओवादी केन्द्र)
खानीखोला गाउँपालिका– अध्यक्ष
कृष्णबहादुर खुलाल– २०२३ (नेकपा एमाले) विजयी
गोपालबहादुर दर्लामी – १११५ (नेपाली कांग्रेस)
इन्द्रबहादुर थिङ्ग– १२०७ (माओवादी केन्द्र)
तेमाल गाउँपालिका– अध्यक्ष
सलाम सिं तामाङ – ३९४९ ((नेपाली कांग्रेस) विजयी
प्रदिपकुमार लामा – ३३५९ (नेकपा एमाले)
गंगाबहादुर तामाङ– ३२२६ (माओवादी केन्द्र)
महाभारत गाउँपालिका– अध्यक्ष
कान्छालाल जिम्बा– २३४२ (माओवादी केन्द्र) विजयी
राजकुमार कुँवर – १२५० (नेकपा एमाले)
रकम सिं घलान – २२३६ (नेपाली कांग्रेस)
चौरी देउराली गाउँपालिका– अध्यक्ष
दिनानाथ गौतम– ३९१४ (माओवादी केन्द्र) विजयी
लेखराज गौतम – २७४१ (नेकपा एमाले)
विक्रम गौतम – ३००४ (नेपाली कांग्रेस)





