2026 May 11/ 10:18: 13pm

कृत्रिम गर्भाधान र विमामा जोड 

मोतीराम तिमल्सिना
धुलिखेल

    भेटिरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेले कृत्रिम गर्भाधान दर सुधार गरी दुध उत्पादन बृद्धि गर्ने अभियानलाई तिब्र बनाएको छ । कृत्रिम गर्भाधानकर्ताहरुसँग कृत्रिम गर्भाधान दर सुधार सम्बन्धी एक दिने गोष्ठी संचालन गरी विगत वर्षको प्रगति तथा कमीकमजोरी र आगामी वर्षको कार्यक्रमका बारेमा समीक्षा सहितको योजना निर्माण गरेको हो । 
    जिल्लामा अघिल्लो आर्थिक वर्ष अर्थात २०७७÷०७८ असार मसान्तसम्म कृत्रिम गर्भाधान सेवा विस्तार गरी २४ हजार ६ सय ५५ गाई, ४ हजार ६ सय ८९ भैंसी र २ सय ५५ वटा बाख्रा गरी २९ हजार ६ सय ८ पशुहरुमा कृत्रिम गर्भाधान सेवा सञ्चालन गरी ८ हजार ६ सय ३० बाच्छी र १ हजार २ सय ९० पाडी उत्पादन भई १ लाख ९० हजार लिटर थप दुध उत्पादन बृद्धि भएको भेटिरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख बरिष्ठ पशु चिकित्सक डा.मोगोलप्रसाद शाहले जानकारी दिनुभयो । दुध उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तर्गत जिल्लामा कृषकहरुले ३१ वटा दुध उत्पादक सहकारी संस्थामा १ करोड २७ लाख ३८ हजार ९ सय ३४ लिटर दुध बिक्रि गरे वापत प्रति लिटर २ रुपैयाँका दरले २ करोड ५४ लाख ७७ हजार ८ सय ६८ रकम प्राप्त गरी लाभान्वित भएका छन् । गोष्ठीमा कृत्रिम गर्भाधानमा कृषकहरुको आकर्षण भए पनि सेवा विस्तार गर्न नसकिएको, कतैकतै कृत्रिम गर्भाधानका बारेमा भ्रम सिर्जना भएको र स्थानीय सरकारहरुले संघ र प्रदेश सरकारको कार्यक्रममा प्रभावकारी रुपमा सहयोग उपलब्ध नगराएको गुनासो गरेका थिए । कृत्रिम गर्भाधान दर सुधार गर्ने अभियानमा स्थानीय सरकारका प्रतिनिधिहरुको सक्रियता रहँदा मात्रै अभियान सफल हुने कृत्रिम गर्भाधानकर्ताहरुले बताएका छन् । 
    जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत पनौतीको वडा नम्वर १,२,३ र १२ मा भैंसी ब्लक विकास कार्यक्रम संचालन भई २ सय ४६ घरपरिवार लाभान्वित भएका छन् । त्यस्तै चौरीदेउराली गाउपालिका वडा नम्वर ७ मादनकँुडारीमा बाख्रा ब्लक विकास कार्यक्रम संचालनबाट २ सय २५ घरपरिवार लाभान्वित भएका छन् । साना किसान, व्यावसायिक फार्म र दुग्ध उत्पादक सहकारी संस्थाहरुलाई ५० प्रतिशत अनुदानमा ५० थान मोटर सहितको च्याफकटर, १० थान कम्बाइन्ड फिड मिल उपलब्ध गराएर पशुको लागी आहारा व्यवस्थापनमा सहज गराईएको छ । दुध बिक्री र ढुवानीमा सहजताको लागी २ सय १ थान मिल्क क्यान उपलब्ध गराईएको छ । जसबाट २ सय ६१ पशुपालक किसानहरु लाभान्वित भएका छन । ४ हेक्टर बाँझो जग्गामा घाँस खेतीको विस्तार भएको, ४ वटा घाँसको नर्सरी स्थापना गरिएको, ५ हेक्टर जग्गामा हिउँदे, बर्षे र बहुवर्षे घाँस खेतीको विस्तार भएको, हाइड्रोपोनिक प्रविधिको विकास गरी बाह्रै महिना हरियो घाँस उत्पादन गरी पशुपालक कृषकहरुले शहरी क्षेत्रमा १०–१२ वटा गाईभैंसी सजिलैसँग पाल्न सक्ने प्रविधिको विकास भएको प्रमुख डा. मोगोलप्रसाद शाहले बताउनु भयो । 
    पशुपालनका लागि ९१ पशुपालक कृषकहरुले सहुलियत व्याज दरमा ६ करोड ९६ लाख ऋण प्राप्त गरेका छन् । उक्त ऋणमा १७ वटा गाई, ३५ वटा भैंसी, ५ सय ८ बाख्रा, २८ हजार २ वटा कुखुरा र १ सय ७८ बंगुर खरिद गरी पशुपालक कृषकहरु लाभान्वित भएका छन् । जिल्ला भरी १४ करोड १६ हजारको पशु बीमा गरीएको छ । जसवाट ३ हजार ४ सय ३९ गाई, २ हजार २४ भैसी, ३ हजार ४ सय २६ बाख्रा, १ लाख ६५ हजार ८ सय ७७ कुखुरा र २ सय ५६ बंगुरको जोखिम बहन भएको छ । गत आर्थिक वर्षको अन्त्यमा पशुपालक कृषकहरुले पशु बीमा गरेर क्षतिपूर्ति वापत १ करोड ६७ हजार ७ सय प्राप्त गरी पशुपालन व्यवसायलाई सुरक्षित भएको महसुस भएको छ । अघिल्लो आर्थिक वर्षको प्रगति तथा कमीकमजोरीलाई सुधार गर्दै यो वर्ष पनि जिल्लामा पशुपालनका लागि विभिन्न कार्यक्रमहरु छनौट भएका छन् । 
यि हुन चालु वर्षका कार्यक्रम
    चालु आर्थिक वर्षका लागि किसानलाई आत्मनिर्भर उन्मुख बनाउन मासुमा आत्मनिर्भर उन्मुख कार्यक्रम अन्तर्गत बेथानचोक गाउँपालिका वडा नम्वर २ र खानीखोला गाउँपालिका वडा नं. ५ मा बाख्रापालन प्रबद्र्धन कार्यक्रमका लागि ३० लाख बजेट विनियोजन गरिएको छ । बाख्रा र माछा मिसन कार्यक्रमका लागि ६४ लाख २५ हजार रकम विनियोजन गरिएको छ भने फार्म सुदृढीकरण कार्यक्रम अन्तर्गत जैविक सुरक्षा सहितको गोठ र खोर निर्माण सुधार गाई, भैंसी, बाख्रा र बंगुरका लागि ३० लाख बजेट विनियोजन भएको छ । 
पशुपन्छी आनुवंशिक संरक्षण तथा श्रोत विकास कार्यक्रम अन्तर्गत पाडी वितरणका लागि ३५ लाख, पशु आहारा विकाश कार्यक्रम अन्तर्गत घाँसेवाली श्रोत केन्द्र स्थापना तथा विकास कार्यक्रम र घाँसेवाली क्षेत्र विस्तार कार्यक्रमका लागि १८ लाख ६६ हजार, संघिय सरकारको समन्वयमा गाई भैंसीमा लाग्ने खोरेत रोग नियन्त्रण गर्न १ लाख ५० हजार खोप कार्यक्रम संचालन र पशुपन्छीमा लाग्ने संक्रामक रोग नियन्त्रण गर्न रोग बिरुद्धको खोप कार्यक्रमका लागि ४० लाख, साना र मझौला कृषक लक्षित गाई भैंसी प्रबद्र्धन कार्यक्रमका लागि ६२ लाख, विश्व पशुपन्छी दिवस, विश्व भेटेरिनरी दिवश, विश्व रेविज दिवस, र विश्व दुध दिवस मनाउनका लागि २ लाख, कबुलियति वन तथा पशु विकास कार्यक्रमका लागि १० लाख, निःशुल्क पशु स्वास्थ्य शिविर संचालनका लागि २ लाख, पशुपन्छीपालक कृषक, उद्यमी÷पत्रकार तथा कर्मचारीहरुको अध्ययन अवलोकन भ्रमणका लागि ३ लाख, सडक तथा सामुदायिक कुकुरहरुको व्यवस्थापन तथा रेविज रोग नियन्त्रण कार्यक्रमका लागि ४ लाख रकम विनियोजन भएको प्रमुख डा. मोगोलप्रसाद शाहले जानकारी दिनुभयो । 
    त्यस्तै चालु आर्थिक वर्ष भित्र खर्च गर्ने गरी पशुपन्छी तथा मत्स्य यान्त्रीकरण कार्यक्रममा ३० लाख, स्थानीय तहका पदाधिकारी, पत्रकार, लब्धप्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा स्वीकृति कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा ७५ हजार, पशु प्रजनन् तथा कृत्रिम गर्भाधान सेवा कार्यक्रमका लागि ७ लाख २० हजार, उन्नत पशुपालन तालिमका लागि ४ पटक ६ लाख, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत महाभारत गाउँपालिकामा बाख्रा ब्लक विकास कार्यक्रम तथा गत आर्थिक वर्षमा भैसी ब्लक र बाख्रा ब्लक विकास कार्यक्रमको निरन्तरताका लागि ८७ लाख ७५ हजार, नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना अन्तर्गत दुध तथा दुग्ध पदार्थ र मासु तथा मासुजन्य मूल्य श्रृखलामा छनौट भएका ४ वटा दुध उत्पादक सहकारी संस्था सेतीदेवी, देउराली, उमादेवी र बेथानचोकमा ८ करोड र मासु तथा मासुजन्य पदार्थ उत्पादन श्रृखलामा छनौट भएका ९ वटा समुह÷संस्था सर्वश्री कृषि सहकारी संस्था रोशी १, नमोबुद्ध युवा कृषि तथा पशुपालन समुह नमोबुद्ध न.पा. वडा.नं.१, चरङ्गे कृषि तथा पशुपन्छीपालन समुह नमोबुद्ध न.पा. वडा.नं. ६, पाँचखाल पशुपन्छीपालन कृषक समुह पाँचखाल न.पा.वडा नं. ३, चौरीदेउराली उत्थान कृषक समुह चौरीदेउराली गा.पा. वडा नं.४, समर्पन सानाकिसान कृषि सहकारी सं. लि. पनौती न.पा.वडा नं.९, हिमशिखर बहुउद्देशिय सहकारी सं. लि. पनौती न.पा.वडा नं.६, उग्रचण्डी कृषि तथा पशुपालन समुह वनेपा नं. पा. वडा नं.४ र पनौती कृषि तथा पशुपालन समुह पनौती न.पा.वडा नं.४ का लागि १५ करोड गरी २३ करोड विनियोजित भई नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना मार्फत संचालन गरिने छ । सहभागीहरुले नियमित कार्यक्रममा स्थानीय सरकारको सहयोग, समन्वय र अनुगमन आवश्यक रहेको बताएका छन् । पशु विकास अधिकृत राजकुमार हुमागाईको संचालनमा सम्पन्न भएको कार्यक्रममा बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री बसुन्धरा हुमागाई, नेपाल ब्यवसायिक किसान महासंघका कोषाध्यक्ष दिपक गौतम, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण बडाल, पशु चिकित्सक डा. नितेश कार्की लगायतले कृत्रिम गर्भाधानका कारण पशुपालनमा सहज र दुग्ध उत्पादन बृद्धि भएको बताएका थिए ।