2026 July 07/ 09:43: 18am

भेटेरिनरी अस्पताल र कृषि ज्ञान केन्द्रको अन्तरक्रिया
    बनेपा/बागमती प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामालाई जिल्लाका विभिन्न स्थानमा सरकारी कार्यालय, संघ संस्थाहरुले बधाई, शुभकामना र सम्मान ब्यक्त गरेका छन् । 
    भेटिरिनरी अस्पताल, कृषि ज्ञान केन्द्र, नमोबुद्ध नगरपालिका लगायतले सम्मान गरेका थिए । प्रेस चौतारी नेपाल काभ्रेले जिल्लामा पहिलो पटक मन्त्री लामालाई सम्मान गरेको थियो । भेटेरिनरी अस्पतालमा आयोजित कार्यक्रममा प्रदेश सासद गोमा भुर्तेल, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, बेथान्चोक गाउँपालिका प्रमुख प्रेमबहादुर तिमल्सिना, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्री, भेटेरिनरी अस्पतालका प्रमुख डा. मगोलप्रसाद शाह, कृषि ज्ञान केन्द्रका प्रमुख तेजप्रसाद दवाडी, समन्वय अधिकारी केशव रिजाल लगायतको सहभागिता रहेको थियो । सोहि अवसरमा कार्यालयले अघिल्लो आर्थिक वर्षमा गरेका कामहरुका बारेमा समिक्षा गर्दै चालु आर्थिक वर्षको योजना र बजेटका बारेमा जानकारी गराईएको थियो । 
गृहनगर नमोबुद्धमा सम्मान 
काभ्रे क्षेत्र नं १ (ख) बाट प्रदेशसभामा निर्वाचित भई हालै मन्त्री नियुक्त लामा नमोबुद्ध नगरपालिका वडा नं ८ का स्थायी बासिन्दा हुन् । आज आइतबार नमोबुद्ध नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी मन्त्री लामालाई सम्मान गरेको हो । कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले मन्त्री लामालाई सम्मानपत्र हस्तान्तरण गरेका थिए । सोही कार्यक्रममा भकुण्डेबेशी जेसीज, भकुण्डेबेशी जुनियर जेसीज, जनक बहुमुखी क्याम्पस, जनक माध्यामिक विद्यालय र रोशी बाङ्मय प्रतिष्ठानले पनि मन्त्री पदमा नियुक्त भएकोमा लामालाई सम्मान गरेका थिए । 
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामाले नमोबुद्ध नगरको समग्र विकासका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । आफू मन्त्री नियुक्त हुनुभन्दा अगाडि पनि नमोबुद्धको विकासका लागि निरन्तर पहल गरेको बताउँदै मन्त्री लामाले नगरको हरेक वडा र टोलको विकासका लागि आफ्नो ध्यान केन्द्रित गरेको बताए । कृषिबाटै यस क्षेत्रका जनताको आर्थिक उन्नति हुने भन्दै मन्त्री लामाले कृषि एवं पशुपालन क्षेत्रको विकासमा आफू लागिपर्ने बताए । कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले आफूहरुले चुनावमा प्रतिवद्धता गरेअनुसारकै नगरको विकासका लागि लागिपरेको बताए । जनप्रतिनिधि र कर्मचारी मिलेर सुशासन कायम गर्न आफू प्रतिबद्ध रहेको तिमल्सिनाले बताए । बागमती प्रदेश सरकारका मन्त्री चन्द्र लामा सांसद् भएदेखि नै नगरको विकास लागि प्रदेश सरकारबाट उल्लेख्य बजेट प्राप्त भएको र आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरिएको उनले बताए । 
कार्यक्रममा पूर्वमन्त्री रेशम लामा, नमोबुद्ध नगरपालिकाका उपप्रमुख रामदेवी तामाङ, उपसचिव जनार्दन रिजाल, इन्जिनियर उज्ज्वल अर्याल, जनक क्याम्पसका प्राचार्य हरिहर अधिकारी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम नमोबुद्ध नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेले सञ्चालन गरेका थिए ।

एमाले नमोबुद्धले दियो बधाई तथा शुभकामना 
    नेकपा एमाले नमोबुद्ध नगर कमिटीले पनि आइतबार नै एक कार्यक्रमका बीच बागमति प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामालाई सम्मान गरेको छ । भकुण्डेबेशीमा आयोजित कार्यक्रममा नेकपा एमाले 
     नमोबुद्ध नगर कमिटीले पार्टीका नेता लामा मन्त्री पदमा नियुक्त भएकोमा सम्मान गरेको हो । नेकपा एमाले नमोबुद्ध नगर कमिटीका संयोजक टिपी शर्मा तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मन्त्री लामाले आफूलाई प्राप्त जिम्मेवारी इमान्दारिताका साथ पुरा गर्ने बताए । जनताले दिएको मतको उच्च सम्मान गर्न आफू प्रतिवद्ध रहेको उनले बताए । कार्यक्रममा पुर्वमन्त्री रेशम लामा, प्रदेशसभा सदस्य गोमा भुर्तेल, एमाले प्रदेश कमिटी सदस्य कृष्णचन्द्र आचार्य, एमाले जिल्ला सचिवालय सदस्य एवं नमोबुद्ध नगर इन्चार्ज राजन भुर्तेल, नेकपा एमाले काभ्रे काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष बिष्णु खनाल, किसान संघका राममणि हुमागाईं,  एमाले पुर्व जिल्ला कमिटी सदस्य उद्धवप्रसाद हुमागाई, वुद्धिजीवि परिषदका जिल्ला अध्यक्ष नवराज भुर्तेल, अनेमसंघ नगर अध्यक्ष चन्द्रा खनाल लगायतले मन्तव्य राखेका थिए । सञ्जीव ढकालको सञ्चालनमा सम्पन्न कार्यक्रममा एमाले नगर कमिटीका सहसंयोजक कृष्ण खनालले स्वागत मन्तव्य राखेका थिए ।
प्रेस चौतारीले दियो बधाई
    प्रेस चौतारी काभ्रेले मन्त्री चन्द्र लामालाई जिल्लामा पहिलो औपचारिक बधाई तथा शुभकामना ब्यक्त गरेको थियो । अध्यक्ष भुवन रायमाझीले लामालाई कार्यकाल सफलताको कामना सहित प्रदेशको समृद्धका लागि खेल्नु पर्ने भूमिकाका बारेमा अवगत गराएका थिए । 
    एक्सप्रेस, निर्माण ब्यवसायी संघ, नेकपा एमाले रोशी गाउँ कमिटी, धुलिखेल नगर युवा संघ लगायतले भब्य स्वागत गरेका छन् ।