2026 October 20/ 01:04: 05pm

डेढ महिनामा ९ को निधन
    धुलिखेल/स्क्रब टाईफसका कारण धुलिखेल अस्पतालमा डेढ महिनामा ८ बालबालिकाको ज्यान गएको छ । अगस्ट ८ देखि सेप्टेम्बर १२ सम्म भर्ना भएका २२ बालबालिका मध्ये ८ जनाले ज्यान गुमाएका हुन् । निधन हुने मध्ये ६ बालिका र २ बालक छन् । अधिकांश १४ वर्ष उमेर समुह भन्दा कमका छन् । 
    ‘स्क्रबटाईफसका कारण बालबालिकाहरु संक्रमण हुने र मर्ने क्रम अत्याधिक भएको छ’–धुलिखेल अस्पतालमा कार्यरत बाल रोग विशेषज्ञ डा. सिर्जना डंगोलले भन्नुभयो–‘संक्रमण भई अस्पतालमा आएका मध्ये ४० प्रतिशत बालबालिकहरु मृत्युको मुखमा पुगेका छन् ।’ धुलिखेल अस्पतालमा डेढ महिनाको अवधिमा २२ बालबालिका संक्रमित भई उपचारका लागि आएकोमा ८ जनाको निधन भएको डा. डंगोलले बताउनु भयो । ‘पछिल्लो ७ दिनमा २ बालबालिकाको निधन भएको छ’–डा. सिर्जना डंगोलले भन्नुभयो–‘समयमै अस्पताल नआउँदा विरामी ल्याएको २४ घण्टा पुग्न नपाउँदै निधन भयो । अधिकांशको उपचार समयमै नभएका कारण निधन हुन पुगेको छ ।’ अस्पतालमा अहिल एकजना आईसियुमा उपचारार्थ छन् भने २ जना सामान्य वार्डमा उपचारार्थ छन् । 
    धुलिखेल अस्पतालमा विभिन्न स्थानबाट आएका विरामीहरु मध्ये डेढ महिनाको अवधीमा ३४ जना संक्रमित भएका छन् । जसमा ९ पुरुष र २५ महिला छन् । १६ वर्ष मुनिका ६ जना बालक र ६ बालिका रहेका छन् भने ३ पुरुष र १९ महिला १७ वर्ष उमेर समुह भन्दा माथिका छन् । धुलिखेल अस्पतालमा ९ अगस्ट, १८ अगस्ट, २४ अगस्ट, २६ अगस्ट, २९ अगस्ट, १ सेप्टेम्वर र पछिल्लो एक सातामा दुई बालबालिकाको निधन भएको छ । बालबालिकाको अलावा स्क्रबटाईफसबाट अन्य उमेर समुहका ब्यक्तिहरुको पनि निधन भएको अस्पतालले जानकारी दिएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष स्क्रबटाईफसका कारण निधन हुने संख्या बढेको डा. डंगोलले बताउनु भयो । ‘अघिल्लो वर्ष जुलाईमा ८ जना, अगस्टमा २१ जना, सेप्टेम्वरमा ८, अक्टोबरमा २, नोभेम्वरमा २ जना स्क्रबटाईफसबाट संक्रमति भएको भए पनि निधन हुनेको संख्या न्युन थियो’–बालरोग विशेषज्ञ डा. सिर्जना डंगोलले भन्नुभयो–‘यो वर्ष जुलाईमा १ जना र अगस्ट एक महिनामा २१ जना संक्रमित भएका छन् । ति मध्ये ८ जनाको निधन भएको हो ।’ 
    स्क्रबटाईफसका विरामी बढेसँगै स्थानीय सरकार तथा स्वास्थ्य कार्यालयसँगको समन्वयमा सचेतना कार्यक्रम शुरु गरिएको डा. डंगोलले बताउनु भयो । ‘हामीले रोग र संक्रमण फैलिएका बारेमा जानकारी गराएका छौं’–डा. डंगोलले भन्नुभयो–‘स्वास्थ्य कार्यालय र स्थानीय सरकारले पनि संचारमाध्यम  र सामाजिक सञ्जाल मार्फत स्क्रवटाईफस रोग र त्यसबाट बच्ने उपायका बारेमा नागरिकहरुलाई जनचेतना बढाई रहनु भएको छ ।’ जनावार तथा ओसिलो स्थानमा पाईने किर्नालाई मुुसाको माध्यमबाट ब्यक्तिको शरीरमा फैलने भएकाले मुसाबाट बच्न र सरसफाईमा ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ । जिल्लाका विभिन्न स्थानमा स्क्रवटाईफसका विरामी देखिए पनि धुलिखेल नगरपालिका बाहेक अन्य स्थानीय सरकारले चासो दिएका छैनन् । 
    अस्पतालका मेडिकल माईक्रोबायोलोजिस्ट सुरेन्द्रकुमार मधुपले धुलिखेल अस्पतालमा परिक्षण गरिएका १ सय ५० जना ब्यक्ति मध्ये ३४ जनाको तीन महिनाको अवधीमा पोजेटिभ देखिएको बताउनु भयो । ‘पछिल्लो तीन साता संक्रमितहरुको संख्या बढेको छ’–माईक्रोबायोलोजिस्ट सुरेन्द्रकुमार मधुपले भन्नुभयो–‘पोजेटिभ देखिनेमा बालबालिका धेरै छन् ।’ अस्पतालका आकस्मिक विभाग प्रमुख डा.सानुकृष्ण श्रेष्ठले स्क्रब टाईफसका विरामीको संख्या दैनिक थपिदै गएको बताउनु भयो । ‘आकस्मिक विरामी भएर आउने विरामीहरुको लक्षण स्क्रव टाईफसँग मिल्दोजुल्दो देखिन थालेको छ’–डा. सानुकृष्ण श्रेष्ठले भन्नुभयो–‘कोभिड जस्तै लक्षण लाग्ने ज्वरोका बिरामीमा स्क्रबटाईफस देखिन थालेको हो ।’ अस्पतालको इन्टरनल मेडिसनमा कार्यरत डा.प्रकाश सापकोटाले स्क्रब टाईफसका विरामी सातामा १÷२ जना आउन थालेको बताउनु भयो । धान, मकै तथा ओसिलो स्थानमा हुने किर्ना मुसाको माध्यमबाट ब्यक्तिको छालामा टोक्न पुग्छ । किर्नाले टोकेसँगै ब्यक्तिको शरीरमा असर पुग्छ । ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, टाउको दुख्ने जस्ता लक्षण देखिए लगत्तै परीक्षण गराई औषधी सेवन गर्दा उक्त रोगबाट निको हुन सकिन्छ । किर्नाको टोकाईबाट २ देखि २१ दिनसम्म उक्त रोगको लक्षण देखिन सक्छ । टोकेको स्थानमा कालो दाग देखिन्छ । खेतबारीमा काम गर्ने तथा रुख विरुवा भएका स्थानमा काम गर्ने ब्यक्तिमा उक्त किर्ना मुसाको माध्यमबाट सर्न सक्छ । सामान्य ज्वरो भनेर घरमै बस्दा ब्यक्तिको निधन हुन सक्ने चिकित्सकहरुले बताएका छन् । 
    स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जिल्लाका विभिन्न स्थानमा स्क्रब टाईफसका विरामी देखिन थालेकाले स्थानीय पालिका र नागरिकहरु सचेत रहनु पर्ने बताउनु भयो । ‘हामीले स्क्रब टाईफसबाट बच्न र शंका लागेमा तत्काल उपचार गराउन अनुरोध गरेका छौं’–डा. झाले भन्नुभयो । स्क्रब टाईफसको लक्षण देखिएर पनि समयमै उपचार नहुँदा किड्नी, फोक्सो र दिमागमा असर पु¥याई ब्यक्तिको निधन हुन पुग्ने डा. प्रकाश सापकोटाले बताउनु भयो । कान्ति बाल अस्पताल, चितवनको भरतपुर अस्पतालमा पनि स्क्रबटाईफसका विरामी देखिन थालेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।