2026 July 07/ 09:43: 28am

धुलिखेल/प्रधानमन्त्री आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई काभ्रेको अनुगमन समितिको बैडक जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा स्थानीय तहका प्रमुख तथा प्रमुख प्रशासकिय अधिकृत र कृषि शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो । 
    काभ्रेपलाञ्चोक जिल्लाका पालिकाहरुमा गाई भैसी जोन क्षेत्र निर्धारण सम्वन्धमा बैठकमा प्रस्तुत एजेण्डाका बारेमा छलफल भएको थियो । बैठकले जिल्लाका १० वटा पालिकाका विभिन्न वडाहरुलाई जोनका रुपमा विकास गर्न सकिने निर्णय भएको छ । पनौती नगरपालिकाका सबै वडाहरु, बनेपा नगरपालिकाको वडा नम्वर ७ र ८ बाहेकका सबै वडाहरु, धुलिखेलका वडा नम्वर ४,५,६ र ७ वडा बाहेकका सबै वडाहरु, नमोबुद्ध नगरपालिकाका २,३,५,७,८ र १० नम्वर वडा, मण्डन देउपुर नगरपालिकाका वडा नम्वर ११ र १२ बाहेक सबै वडाहरुमा जोन बनाउन प्रस्ताव गरिएको छ । त्यस्तै पाँचखाल, रोशीका सबै वडाहरु, चौरीदेउराली गाउँपालिकाका ४,५ र ६ नम्वर वडा, भुम्लु गाउँपालिकाको वडा नम्वर १, २ र ९ नम्वर वडा र बेथान्चोक गाउँपालिकाको सबै वडाहरुमा गाई भैसीको जोन क्षेत्र निर्धारण गर्न स्थानीय सरकार सहमत भएका छन् । बाँकी महाभारत, तेमाल र खानिखोला गाउँपालिकालाई प्राविधिक समितिले अध्ययन गरी जोन क्षेत्र थप गर्न स्थानीय सरकार सहमत भएका छन् । 
    जिल्लाको पनौती भैसी पकेट क्षेत्रका रुपमा अघि बढिरहेको छ । नगरपालिकाले तीन वर्षको अवधीमा ९ सय पाडी वितरण गरेको छ भने थप पाडीहरुको संरक्षण गरिरहेको छ । चालु वर्षमा पनि ९ सय भन्दा धेरै पाडी वितरणको तयारी गरेको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख मञ्जु गौतम, पनौती नगरपालिका प्रमुख भिम न्यौपाने, भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवर, चौरीदेउरालीका अध्यक्ष दिनानाथ गौतम, बेथान्चोक अध्यक्ष प्रेमबहादुर तिमल्सिना, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल लगायतको सहभागिता रहेको आयोजना कार्यान्वयन इकाईका प्रमुख प्रकाश पौडेलले जानकारी दिनुभयो ।