2026 July 07/ 09:43: 15am

    धुलिखेल/देशभर नाम कमाएको तथा विभिन्न जिल्लाका विरामीलाई समेत कष्टपूर्ण अवस्थाका बाबजुत सहज उपचार प्रदान गरेका धुलिखेल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले कोभिड महामारीको दोश्रो चरण सकिन लाग्दा समेत जोखिम भत्ता प्राप्त गर्न सकेका छैनन् । धुलिखेल बाहेक केहि स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरुले समेत जोखिम भत्ता प्राप्त गर्न नसकेको बताईएको छ । 
    पहिलो चरणको कोभिडको समयमा धुलिखेल अस्पतालमा कोभिड अवधीमा अधिकृत तह भन्दा माथिल्लो पदमा रहेर काम गर्ने चिकित्सक तथा कर्मचारीहरुको २५ प्रतिशत तलब कटौती गरिएको थियो भने अधिकृत तह भन्दा तल्लो तहमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको हकमा १० प्रतिशत तलब कटौती गरिएको थियो । यो वर्ष तलब कटौती नगरिए पनि श्रोत अभावका कारण मासिक हुने भुक्तानी दुई साता पर धकेलिन थालेको छ । तर पनि स्वास्थ्यकर्मी कर्मचारीहरुले अझै कोभिड बापत सरकारले उपलब्ध गराउने भनेको जोखिम भत्ता प्राप्त गर्न सकेका छैनन् । 
    कोभिडमा काम गरेको जोखिम भत्ता प्राप्त नभएको धुलिखेल अस्पतालको आकस्मिक विभागमा कार्यरत एक चिकित्सकले बताउनु भयो । प्रशासन विभागका जय राईका अनुसार धुलिखेल अस्पताललाई सरकारले भुक्तानी गर्नुपर्ने जोखिम भत्ता उपलब्ध नभएकाले कार्यरत चिकित्सक तथा कर्मचारीहरुको जोखिम भत्ता उपलब्ध गराउन नसकिएको हो । ‘सरकारले पटक पटक जोखिम कार्यमा खटिएका स्वास्थ्यकर्मी कर्मचारीहरुको विवरण पठाउन भनेको थियो’–राईले भन्नुभयो–‘हामीले पहिलो पटक पठाएको सूचीमा पनि कसैको पनि भत्ता रकम प्राप्त भएन । दोश्रो पटक पनि प्राप्त भएको छैन ।’ 
२०७८ बैशाख १५ देखि असार मसान्तसम्म धुलिखेल अस्पतालमा कार्यरत ७ सय १७ जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई जोखिम भत्ता उपलब्ध गराउनु पर्छ । जसमध्ये डाक्टर १ सय ८९, नर्स २ सय ७४, पारामेडिक्स अन्र्तगत एक्सरे र रेडियोलोजीमा कार्यरत ३१, माईक्रोबायोलोजीमा कार्यरत २९ जना, २४ घण्टा सेवा प्रदान गर्ने २९ जना, आईसोलेसनमा काम गर्ने ४० जना, काउन्टरमा काम गर्ने तथा चालकहरु १७ जना, सहयोगी कर्मचारी ९५ जना र पोस्ट रेजिटेन्ड कन्सल्टेन्सी ११ जना गरी ७ सय १७ जनाले विभिन्न मितिमा कोभिडमा काम गरेको जोखिम भत्ता उपलब्ध गराउन बाँकी रहेको राईले जानकारी दिनु भयो । 
    काठमाडांै विश्वविद्यालय स्कुल अफ मेडिकल साईन्सेस धुलिखेल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बीच २०७८ बैशाख १४ गते ७ बुँदे सम्झौता भएको थियो । सम्झौतामा मन्त्रालयका तर्फबाट डा. समिरकुमार अधिकारीले हस्ताक्षर गर्नु भएको थियो भने अस्पतालको तर्फबाट प्रशासकिय निर्देशक डा. रमेश माकजुले हस्ताक्षर गर्नु भएको थियो । कोभिड १९ बाट संक्रमित विरामीहरुको उपचारका लागि अस्पतालमा कोभिड १९ केयर युनिट संचालन गर्न भएको सम्झौता दुबै पक्षको मञ्जुरीमा गरिएको उल्लेख छ ।  सम्झौतामा काठमाडौ विश्वविद्यालय स्कुल अफ मेडिकल साईन्सेस धुलिखेलले कम्तीमा १०० शैयाको कोभिड १९ केयर युनिट स्थापना गरी संचालन गर्नु पर्ने, सम्वन्धीत अस्पतालले तोकिएको ढाँचामा उपचारात विरामीहरुको दैनिक अनलाईन प्रतिवेदन मन्त्रालयलाई उपलब्ध गराउने, संक्रमतिहरुको उपचार ब्यवस्थापनमा लाग्ने खर्च सामान्य उपचारको लागि ३५ सय, मध्यम उपचारका लागि ७ हजार र गम्भीर उपचारका लागि १५ हजार प्रति विरामी दिनको हिसाबले हरेक महिना सोधभर्ना भुक्तानी गर्ने उल्लेख छ । कुनै विरामीले आफ्नै खर्चमा क्याविन सुविधा सहितको उपचार गर्न चाहेमा अस्पतालले सरकारले तोकेको दररेटमा अधिकतम ५० प्रतिशत थप गरी शुल्क लिन पाउनेछ । अस्पतालले सोधभर्ना भुत्तानीबाट प्राप्त रकम मध्येबाट स्वास्थ्कर्मी÷कर्मचारीको जोखिम भत्ता पहिलो प्राथमिकतामा राखिदिनु पर्नेछ । स्वास्थ्यकर्मी र कर्मचारीको जोखिमभत्ता सम्वन्धीत अस्पतालबाट भुक्तानी गर्ने सम्झौताको उक्त बुँदाले बुझाउँछ । तर अस्पतालले भने जोखिमभत्ताका लागि सरकारले अलग्गै दिने भनेकाले दुई पटक सुची बुझाई सकिएको अस्पतालका प्रशासकीय प्रधुम्न श्रेष्ठले बताउनु भयो । गत आर्थिक वर्षसम्मको ३ करोड र साउन तथा भाद्र १७ गतेसम्मको उपचार बापतको करिव ३ करोड गरी ६ करोड सरकारले भुक्तानी गर्न बाँकी रहेको श्रेष्ठले बताउनु भयो । 
    अस्पताल प्रशासनले जोखिम भत्ता सरकारले उपलब्ध गराउने भनेकाले सूचि माग भए अनुसार बुझाएको बताएको छ । सरकारले उपलब्ध गराएको रकममा सम्झौता अनुसार खर्च धान्न नसकिने भएकाले त्यसबाट जोखिम भत्ता उपलब्ध गराउन सम्भव छैन भनेर लामो समयसम्म हस्ताक्षर नगरेको भए पनि सरकारले भत्ता पुनः उपलब्ध गराउने भने पछि हस्ताक्षर गरी सेवा उपलब्ध गराएको अस्पताल प्रशासनले जानकारी दिएको छ । अस्पताल प्रशासन र सरकार बीचको सम्झौता जे भए पनि स्वास्थ्यकर्मी कर्मचारी जोखिम भत्ताबाट बञ्चित भएका छन् । तेश्रो चरणको महामारी शुरु भए जोखिम भत्ता नपाएका स्वास्थ्यकर्मी कर्मचारीबाट गुणस्तरीयको सेवाको अपेक्षा सम्भव छैन ? अस्पतालमा कार्यरत भई सक्रमित भएका मध्ये १० जनाले बाहेक अन्यले कोभिड १९ को विमा बापतको रकम समेत पाउन सकेका छैनन् । 
पाँचखालमा पनि छैन भत्ता
    पाँचखाल नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी कर्मचारीहरुले जोखिम भत्ता प्राप्त गरेका छैनन् । कार्यपालिका बैठकले जेठ महिनाको बाहेक भत्ता नदिएको स्वास्थ्यकर्मी कर्मचारीले बताएका छन् । नगरको आन्तरिक श्रोत नभएकाले दिन सकिएन भन्ने जानकारी भयो तर खान बस्न निःशुल्क छ भत्ता मात्रै नभएको हो भन्ने जवाफ प्राप्त भएको कर्मचारीहरुले बताए । पाँचखालमा भत्ता प्राप्त गर्ने कर्मचारीहरुको संख्या ३० मात्रै छ । अन्य स्थानीय तह, मेथिन्कोट अस्पताल, शिर मेमोरियल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी कर्मचारीहरुले जोखिम भत्ता प्राप्त गरेका छन् ।