बनेपा/फुटलाई परास्त गर्दै एकतालाई बलियो बनाउन एमाले काभ्रेले शनिबार बनेपामा आयोजना गरेको बृहत्त कार्यकर्ता भेलामा अगुवा कार्यकर्ताहरुको जनसागर उर्लिएको छ । अगुवा कार्यकर्ता भेलालाई केन्द्रिय महासचिव, केन्द्रिय नेताहरु तथा जिल्ला नेताहरुले सम्बोधन गरेका थिए ।
पार्टी अध्यक्ष अशोक ब्याञ्जुले सिङ्गो काभ्रे जिल्लाको समृद्धिको खाका नेकपा एमालेले मात्रै कोर्न सक्ने भएकाले विकास, शान्ति र समृद्धिको पक्षमा एमालेले लिएका नीति कार्यक्रम सहि भएकाले एमाले परित्याग गरी अन्यत्र नलाग्न नेता कार्यकर्ताहरुलाई आब्हान गर्नु भएको थियो । पार्टीका सबै कमिटीहरु, भातृ संगठन तथा जनवर्गिय संगठनहरुको भेला, बैठक र अनुशिक्षण गरी सबै वडा कमिटी, गाउँ तथा नगर कमिटी हुँदै जिल्ला कमिटीको अधिबेशनको तयारीमा जुटेको बताउनु भयो । एमाले काभ्रेका कार्यक्रमका बारेमा बताउँदै ब्याञ्जुको अध्यक्षतामा शुरु भएको बृहत्त कार्यकर्ता भेलामा बोल्दै महासचिव ईश्वर पोखरेलले एमालेको एकतामा कसैले टसमस गर्न नसक्ने बताउनु भयो । पार्टी विभाजन भए पछिको पहिलो बृहत्त कार्यकर्ता भेला आयोजना गरेको नेकपा एमाले काभ्रेको भेलामा कार्यकर्ताहरु उर्लिएका थिए । लामो समय पछि भएको भेलामा एकताको सन्देश दिन र एमाले विभाजन भएको छैन भन्ने सन्देश दिन कार्यकर्ताहरु जिल्लाका विभिन्न स्थानबाट सहभागी भएका थिए ।
‘सभामुख प्रचण्डका गुरिल्ला हुन्’
एमालेबाट चोईटिएर जानेहरुले जीवनभर एमालकै नाममा खाएको ब्याज र साँवाले पोल्ने भएकाले एमाले फुटाउन खोज्नु मुलुकको समृद्धिको यात्रामा धोका भएको बताउनु भयो । एमाले एक्लै देशका अन्य शक्तिसँग लड्न सक्ने बताउँदै नेता पोखरेलले एक्लाएक्लै चुनावमा आउन आब्हान गर्नु भयो ।
महासचिव पोखरेलले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशन पालकको रुपमा देखिएको आरोप लगाए । ‘सभामुख एउटा संस्था हो, संवैधानिक ओहोदा हो, उसको निष्पक्षतामाथि सबैले ढुक्क हुनुपर्छ, सभामुखको भूमिका हेर्दा कस्तो लाग्छ भने सभामुख प्रचण्डका उदण्ड गुरिल्ला हुन’ पोखरेलले थपे । उनले सभामुख सापकोटा सभामुखभन्दा पनि प्रचण्डको निर्देशन पालक रहेको आरोप लगाए । उनले सभामुखले गरेका कानुन विरुद्धका कामहरुको हिसाब किताब संसद्मा नै हुने बताए । ‘सभामुखले कसरी संसद् चलाउँदा रहेछन्, हामी हेर्छाै र त्यसको हिसाब किताब त्यहि गछौँ’ उनले थपे । सभामुख सापकोटाले पार्टी एकीकरणको पक्षमा लागेका माओवादी नेताहरुलाई कारवाहि गर्नको लागि प्रचण्डले पत्र पठाएको दश घण्टामा कारवाहि गर्ने सभामुखले एमालेले पार्टी विधान, कानुन विपरीत लागेका नेताहरुलाई कारवाहि गर्न गरेको सिफारिस पत्र गुपचुप लुकाएर राखेको आरोप लगाए ।
कार्यक्रममा एमाले महासचिव पोखरेलले नेकपा एमाले २०७५ जेठ २ गतेको अवस्थामा नर्फकने बताउँदै जेठ २ मा फर्कदा पार्टी एकिकरणको पक्षमा उभिएर एमालेमा आएका माओवादी तथा अन्य दलका नेताहरुलाई कमजोर र हतोत्साहित गराउने काम हुने भएकोले पूर्ण रुपमा जेठ २ मा फर्कन नसकिने बताए । उनले एमालेको दशौँ महाधिवेशन आगामी मंसिर महिनामा गर्ने तय भएको बताउँदै असोज महिनामा विधान अधिवेशन सम्पन्न गरी वडा तथा पालिका अधिवेशनमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिए । उनले वर्तमान सरकारले एमाले नेतृत्वको सरकारले अघि बढाएको विकास निर्माण लगायतका कामहरु रोक्ने कोसिस गरेको आरोप लगाउँदै त्यसका विरुद्ध एमाले अघि बढ्ने बताए ।
‘पूँजीवादका नाईके प्रचण्ड’
नेकपा एमालेका केन्द्रिय नेता टोपबहादुर रायमाझीले अध्यादेश, परमादेश र जनादेश के सही र गलत हो भन्ने कुरा छुट्याउने बेला आएको बताउनुभयो । केपी शर्मा ओलीको नेतृत्वमा विकास र समृद्धिको एजेण्डा परिवर्तन भएको उहाँले दाबी गर्नुभयो । विकास र समृद्धिबाट मात्र देशमा परिवर्तन सम्भव छ भनेर नै केपी ओलीको नेतृत्वमा विकासको अभियान अघि बढेको उहाँले बताउनुभयो । कसैलाई प्रधानमन्त्री र कसैलाई पार्टी अध्यक्ष चाहिएर अस्वस्थ प्रतिस्पर्धा सुरु भए पछि नेकपा विभाजित भएको उहाँले बताउनुभयो । ‘राष्ट्र र जनतलाई केन्द्रमा राखेर पार्टी एकता नगरेका साथीहरु पार्टी विभाजनतर्फ लाग्नुभयो, एकहदसम्म पार्टी विभाजन गरेर छाड्नुभयो’, उहाँले भन्नुभयो ।
माधव नेपाल लगायतका नेताले राजनीतिमा दुनियामा नै नभएको अपराध गरेको उहाँले बताउनुभयो । प्रतिपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाएर हिंड्ने जस्तो निकृष्टता अरु केही हुनै नसक्ने उहाँले बताउनुभयो । ‘आफू सिद्धियो भन्ने थाहा छैन, प्रधानमन्त्री बनाइयो भनेर दंग हुनुहन्छ’, रायमाझीले भन्नुभयो । पुँजीवादका नाइकेलाई नेता बनाएर हिँड्नेहरु समाजवादमा पुग्न नसक्ने उहाँले बताउनुभयो । प्रचण्डले पुँजीवादका नाइकेलाई बोकेर हिँडेको कारण आफूहरुले माओवादी छाड्नु परेको रायमाझीले बताउनुभयो । आफूहरुले सर्वोच्च अदालतको फैसलालाई चुनौति दिएको पनि रायमाझीको भनाइ छ । ‘सर्वोच्चले एमाले जति एमालेमा जाऊ, माओवादी जति माओवादीमा जाऊ भन्यो, हामीले मानेनौँ, हामी राजनीतिक रुपमा नेकपामा नै बस्यौँ, कानुनी रुपमा एमाले भयौँ’, रायमाझीले भन्नुभयो ।
‘मत बेच्नेहरुले नैतिकताको कुरा गर्ने ?’
नेकपा एमालेका केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाले आफुसँग चुनाव लड्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई चुनौती दिएका छन् । सूर्य चिन्हबाट प्रदेश सभामा निर्वाचिन भएका दुई प्रदेश सांसदलाई एमालेका वडा सदस्यले हराउने दावी गर्दै चार महिनापछि आउने चुनावमा आफ्नो वडामा चुनाव जितेर देखाउन चुनौती दिए ।
पूर्वमन्त्री समेत रहेका नेता बाँस्कोटाले प्रदेश सांसद्लाई हराउन वडा सदस्य नै काफी रहेको बताउँदै उनीहरुको ठुलो नेता माधव नेपाललाई काभ्रे आएर आफुसँग चुनाव लड्न चुनौती दिए । उनले माधव नेपालसँग चुनाव लड्ने चुनौतीको सामना गर्न एमाले काभ्रे, युवा, विद्यार्थी, महिला, उत्पिडित नागरिक त्यसको सामाना गर्न तयार रहेको बताए । उनले आफुमाथि भ्रष्ट्रचारको आरोप लागेको बताउँदै राज्यका नियमनकारी निकायलाई आफुमाथि लागेको आरोपको पुष्टि गर्न चुनौती दिँदै आरोप पुष्टि भएको खण्डमा कठघरमा उभिन तयार रहेको बताए । नेता बाँस्कोटाले पार्टीको झ्याल, ईट्टा बेचेर खाने, पद छोडेको तीन वर्षसम्म घर भाडा राज्यबाट तिराउनेहरुले अर्कोलाई भ्रष्ट्रचारको आरोप लगाउने कुनै नैतिक आधार नरहेको बताए । नेता बाँस्कोटाले एमालेलाई दिएको मत शेरबहादुर देउवालाई बेच्नेहरुले आफुमाथि प्रश्न उठाउने हैसियत नभएको बताए । एमालेको भोट काँग्रेसलाई भोट बेच्नेहरु महाभ्रष्ट्रचारी देश बेचुवाहरु भएको आरोप उनले लगाए । नेकपा एमाले निर्माण, विकास र सामाजिक न्यायको पार्टी भएको दावी गर्दै पार्टी फुटले काभ्रे एमालेको रौँ पनि नहल्लिने दावी गरे । उनले काभ्रेका १ सय ३५ वटै वडामा एमालेको संगठन बनेको बताए । बास्कोटाले काभ्रे एमाले एक ढिक्का रहेको बताउँदै आगामी निर्वाचनमा पार्टी छाडेर जानेहरुको जमानत समेत जफत हुने दावी गरे ।
५९ जना एकातिर, तीन जना अर्काेतिर
नेकपा एमाले काभ्रेको ६३ सदस्यीय जिल्ला कमिटीबाट तीन जना नेताहरु चोईटिएको पार्टीमा गएका छन् । बाँकी ५९ जना जिल्ला कमिटीका पदाधिकारी सहितका सदस्यहरु नेकपा एमालेमै बसेर फुट विरोधी एकताको सन्देश दिएका छन् । एमाले छाडेर जानेमा जीवनभर नेकपा एमालेबाट सत्ता तथा शक्तिमा रहेका नेताहरु मात्रै छन् । टोकबहादुर वाईवा पञ्चायतकाल देखि लाभको पदमा छन् भने मुकुन्द गौतम र बसुन्धरा हुमागाई पनि एमाले मार्फत पटक पटक लाभको पदमा पुगेका ब्यक्ति हुन् । कार्यकर्ताहरुलाई नेताहरुले एमालेको एकताको विरुद्धमा नलाग्न निर्देशन दिएका छन् ।
संघीय सांसद् नविना लामा, पूर्व राज्यमन्त्री रेशम लामा, संविधान सभा सदस्य रामहरी सुवेदी, वागमती प्रदेश सभा सदस्य गोमा भुर्तेल र चन्द्र लामा, नेताहरु चुडामणी गौतम ‘हेमक’, नारायण बानियाँ ‘दिपेश’, रिता ढकाल, नारायण पाण्डे, इन्द्र तामाङ, राजन भुर्तेल लगायतले सम्बोधन गरेका थिए ।
जर्बजस्ति सनाखत
नेकपा एमालेबाट निर्वाचित १६ प्रतिशत जनप्रतिनिधिले पार्टी परित्याग गरी नयाँ पार्टीमा सनाखत गरेका छन् । सनाखत गर्नेहरुले आफुहरु जर्बजस्तिमा परेकाले फेरी पनि नेकपा एमालेकै सुर्य चिन्हमा समावेश हुने घोषणा गरेका छन् ।
सनाखत गर्नेमा मण्डन देउपुर नगरपालिका प्रमुख टोकबहादुर वाईवा, नमोबुद्ध नगरपालिका उपप्रमुख रामदेवी तामाङ र भुम्लु गाउँपालिका उपाध्यक्ष कल्पना श्रेष्ठ सहित ११ वडा अध्यक्ष र ३२ जना वडा सदस्य रहेका छन् । निर्वाचन आयोगका अनुसार ५६ जना जनप्रतिनिधिले भदौ २२ गते साँझसम्म पार्टी परित्यागको सनाखत गरेका हुन् । एमालेले जिल्लाभर ३ सय ४४ सिटमा विजयी हासिल गरेको थियो । १ सय ३५ वडामा नेपाली काँग्रेसले २ सय २१ सिट र माओवादी केन्द्रले १ सय २१ सिटमा विजयी हासिल गरेको थियो । अन्य तर्फ ८ जना विजयी भएका थिए । अन्य तर्फका दुई वडा अध्यक्ष र नेकपा माओवादी केन्द्रबाट विजयी भएका पाँचखाल २ का वडा अध्यक्ष हरि खतिवडा समेत एमालेमा प्रवेश गरिसकेका छन् । जिल्लाको पहिलो र ठुलो दल नेकपा एमालेले १३ मध्ये ७ वटा पालिका र जिल्ला समन्वय समितिको प्रमुख उपप्रमुख सहित शतप्रतिशत सिटमा विजयी हासिल गरेको थियो । नेकपा एमालेसँग १३ जना प्रमुख उपप्रमुख छन् भने २ सय ८८ जना जनप्रतिनिधि छन् ।
नयाँ पार्टीका अध्यक्ष समेत रहेका मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईवा मण्डन देउपुर नगरपालिकामा दोश्रो दल बनेका छन् । पहिलो दल नेकपा एमालेले ४३ सिटमा विजयी गरेकोमा २० जना नयाँ पार्टीमा प्रवेश गरेका छन् । पुर्व मन्त्री गोकुल बास्कोटाको वडाका वडा अध्यक्ष भुवनप्रसाद बजगाईले पार्टी परित्याग गरेनन् । जम्मा एक जना सदस्यमा नयाँ पार्टीले चित्त बुझाउनु प¥यो । नगर प्रमुख टोकबहादुर वाईवाको नयाँ पार्टीमा २० जना जनप्रतिनिधि रहेका छन् । जसमा नगर प्रमुख एक, वडा अध्यक्ष ५ र १४ जना वडा सदस्य रहेका छन् । तेश्रो पार्टी नेपाली काँग्रेस बनेको छ । जसका १७ जना जनप्रतिनिधि रहेका छन् । दोश्रो पार्टी बनेका नगर प्रमुखलाई जिल्लाभरबाट सोचेजस्तो जनप्रतिनधिहरु सनाखत गर्न नआए पछि नयाँ पार्टी प्रतिको आकर्षण छैन भन्ने पुष्टि गराएको हो । केहि दिन अघि पूर्व मन्त्री बास्कोटाकै वडाबाट सबै जनप्रतिनिधि नयाँ पार्टीमा जाने हल्ला फैलाएका नगर प्रमुख वाईवा अन्तिम समयमा बजगाई सनाखत गर्न नआए पछि हिस्स परेका थिए ।
एमाले परित्याग गर्नेमा मण्डन देउपुर वडा नम्वर १ का वडा अध्यक्ष लक्ष्मण बस्ताकोटी, वडा नम्वर ३ का अध्यक्ष दिलबहादुर तामाङ, वडा नम्वर ६ का अध्यक्ष डिल्लीप्रसाद आचार्य, वडा नम्वर ७ का अध्यक्ष नारायण लम्साल, वडा नम्वर ११ का अध्यक्ष माधव न्यौपाने छन् । पनौती वडा नम्वर ४ का अध्यक्ष बुद्धसीं थापा, बनेपा ६ का अध्यक्ष सचितानन्द केसी, पाँचखाल ६ का अध्यक्ष रामशरण दुलाल, महाभारत ८ का अध्यक्ष टंक आले, भुम्लु गाउँपालिका वडा नम्वर २ का अध्यक्ष कृष्णकुमार कार्की र वडा नम्वर ८ का अध्यक्ष मोतीलाल तामाङ रहेका छन् ।
मण्डन देउपुर नगरपालिकामा उपप्रमुख निर्मला शाही नेकपा एमालेमै रहनुले पनि नयाँ पार्टीको आकर्षण सत्यनारायण पूजामा गईयो अन्तिममा चारजना भईयो भने जस्तै भएको छ । लामो समय नेकपा एमालेमा रहेर लाभको पद लिने विदुर सापकोटा, कृष्णप्रसाद सापकोटा, टोकबहादुर वाईवा, लक्ष्मण लम्साल जस्ता नेताहरु अर्काे पार्टीमा जाँदा कार्यकर्ताहरुले गिज्याउन थालेका छन् । नयाँ पार्टीको नेतृत्वमा कार्यकर्ताहरु रकम असुलेर नतिरेका, आर्थिक र नैतिक रुपले पतन भएका, पटक पटक पार्टीको स्पस्टिकरण सहितको कारवाहीमा परेकाहरु धेरै छन् । जिल्ला सचिव घोषणा गरिएका नेताको बारेमा दर्जनौ उजुरी छन् । विस्तारै ति उजुरीका उपर कारवाही प्रकृया अघि बढाईने पीडितले बताएका छन् ।
नामावली गोप्य राख्न निर्देशन
नेकपा एमाले विभाजन भई अलग भएको नेकपा एस पार्टीमा समावेश हुन चाहने जनप्रतिनिधिहरुले भदौ २२ गते भित्र जिल्ला स्थित निर्वाचन आयोगको कार्यालयमा गई सनाखत गरिसक्नु पर्ने आयोगको निर्णय अनुसार जिल्लामा कति जना जनप्रतिनिधिले गर्ने सनाखतको विवरण अझै गोप्य राखिएको छ । नामावली सार्वजनिक हुँदा पार्टीमै फर्काउने वातावरण बन्न सक्ने डरले केन्द्र देखि नै नामवाली गोप्य राख्न निर्देशन भएको हो ।
‘काभ्रेपलाञ्चोक जिल्लामा नेकपा एमाले परित्याग गरी नेकपा एस रोज्ने जनप्रतिनिधिको नाम गोप्य राख्नु भन्ने निर्देशन थियोे’– जिल्ला निर्वाचन कार्यालय काभ्रेका प्रमुख निर्वाचन अधिकारी उमेश राईले भन्नुभयो–‘नाम र पदका बारेमा आयोगले नभन्नु भन्ने निर्णय भएको निर्देशन भएकाले जानकारी दिन सकिएन ।’ राईले २२ गते साँझ केन्द्रिय आयोगमा पठाए पछि काभ्रेपलाञ्चोक जिल्लाबाट कुन कुन पदका कसकसले पार्टी परित्याग गरेको जानकारी लिन अनुरोध गर्नु भयो । सूचनाको हक अनुसार पनि नागरिकहरुले हरेक दिन भएको प्रगतिका बारेमा जानकारी राख्ने अधिकार भए पनि निर्वाचन आयोगले नागरिकहरुको हक अधिकार कुण्ठीत हुने गरी पार्टी परिवर्तन गर्नेहरुको नामावली गोप्य राख्ने निर्णय गरेको हो । सूचनाको हक अन्र्तगत पनि भएको सूचना लुकाउन मिल्छ र ? भन्ने जिज्ञासामा निर्वाचन आयोग नेपालका सूचना अधिकारी सुर्यप्रसाद अर्यालले आफुलाई नभई आयुक्तहरुलाई सोध्न अनुरोध गर्नु भयो । ‘नामावली र पद गोप्य राख्नु भन्ने निर्देशन आएको छ, थप कुरा आयुक्तहरुलाई सोध्नुस’–सूचना अधिकारी सुर्यप्रसाद अर्यालले भन्नुभयो । नेकपा एमाले पार्टी परित्याग गरी नयाँ पार्टीमा जानेहरुमा प्रदेश सभाका सदस्यद्वय लक्ष्मण लम्साल र बसुन्धरा हुमागाईले प्रदेशको निर्वाचन कार्यालय पुगी पार्टी परित्याग गरिसकेका छन् ।





