बनेपा/प्रेस चौतारी नेपालको केन्द्रिय सदस्य एवं नेपाल पत्रकार महासंघ काभ्रे शाखाका सल्लाहकार नवराज बजगाईले असाहयलाई सहयोग गरेर जन्म दिन मनाएका छन् । धुलिखेलमा रहेको मानव कल्याण समाज (सेवा घर) को शाखा कार्यालयमा रहेका जेष्ठ नागरिक र असहायसँगै रहेर मनाएका हुन ।
सेवा घरमा रहेका ३३ जना असहायलाई खाना खुवाएर शुरु गरिएको कार्यक्रममा बजगाईले कोभिड–१९ का कारण सबै क्षेत्र मारमा परेकाले यस्ता सेवा घरहरुमा आउने सहयोगी पनि कम हुने हुदाँ यहाँ रहेकाहरुमा समस्या नहोस भनेर थोरै भएपनि सहयोग गरेको बताए । यो देखेर अरुपनि सहयोगीहरु आउन सक्छन भन्दै आफुले प्रत्येक जन्मोत्सव र एनिभर्सरी यसरी नै सामाजिक कार्य गरी मनाउने गरेको बताए । आफुलाई जन्मदिने बुबा आमा नभएपनि सेवा घरमा रहेका बृद्धबृद्धालाई भेट्दा बुबा आमाको न्यास्रो मेटिनुका साथै मातृ प्रेमको आभास मिल्ने गरेको उनको भनाइ थियो । असहायको साथ र बृद्धबृद्धालाई सम्मान गर्दा उनिहरुको मार्गदर्शनले जीवनलाई सहि निर्देश गर्ने भएकाले मन्दिर गएर पूजा गर्नु भन्दा आश्रममा रहेकाहरुलाई सहयोग गर्दा बढी धर्म र कर्तव्य निर्वाह हुने हुदाँ आफुले सकेको सहयोग जारी राख्ने बजगाईले बताए ।
सेवा घरकी अभियान्ता सुस्मिता श्रेष्ठलाई चामल २ बोरा, आटा, दाल, तेल, नुन, जिरा मसला, चिनी, चियापती, गेडागुडी, चिउरा, मस्यौरा, साबुन, डेटोल, फलफुल, जुस, एक बाकस बिस्कुटसहित खाद्यान्न र लत्ता कपडाहरु हस्तान्तरण गरेका हुन । सामग्री बुझ्दै सेवा घरकी अभियान्ता सुस्मिता श्रेष्ठले बिपदको बेलापनि सहयोग गरेकोमा खुशी व्यक्त गर्दै सबैको सहयोग कै कारण सेवा घर अघि बढीरहेको बताईन । सार्वजनिक स्थलहरुमा कष्टकर जीवन बिताउन बाध्य पिडितहरुको सेवाको लागि गत वर्षदेखि मानव कल्याण समाजको शाखा कार्यालय घुलिखेलमा खुलेको मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईले जानकारी दिईन । जहाँ सडक पेटी तथा सार्वजनिक स्थलमा कष्टकर जिवन बिताउन बाध्य भएकालाई उद्धार गरी व्यवस्थापन गरिने छ ।





