2026 July 07/ 07:15: 40am

    रोशी/विपी राजमार्गको माम्ति र भ्याकुरे खोलामा आएको लेदो सहितको बाढीका कारण राजमार्ग तीनवटा सवारी साधन पुरिएको १२ घण्टा पछि उद्धार भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडाका अनुसार बाढी र पहिरोका कारण शनिबार विहान राति १ बजेबाट रोकिएको विपी राजमार्ग साँझबाट सुचारु भएको थियो । 
    विपी राजमार्गको माम्ति र भ्याकुरे खोला बढेका कारण राजमार्ग अवरुद्ध हुन पुगेको थियो । काठमाडौतर्फ आउँदै गरेका तीनवटा स्र्कपियो लेदोमा अड्किएका कारण पुरिएका छन् । प्रहरीका अनुसार सवारी साधन भित्र रहेका यात्रुहरु भने सुरक्षित छन् । ‘बाढी पहिरोका कारण विपी राजमार्ग राति देखि नै अवरुद्ध भएको छ’–रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाले भन्नुभयो–‘राजमार्ग बन्द हुँदा सयौ सवारी साधन अलपत्र परेका छन् ।’ राजमार्ग खुलाउने प्रयास भए पनि लेदो बगिरहेका कारण सम्भव भएको छैन । निरन्तर बगिरहेको लेदोले अवरोध पन्छाउन सकस भएको अध्यक्ष लामाले बताउनु भयो । राजमार्ग खुलाउन प्रहरी, सशस्त्र प्रहरी र जनप्रतिनिधि तथा स्थानीयको सक्रियतामा साँझ सडक खुलेको हो । 
    विपी राजमार्गको भ्याकुरे खोला पनि बाढीका कारण बढेको छ । ग्रामीण भेगमा निरन्तर पानी परिरहेको र भर्खरै खनेका कच्चि सडक बगिरहेको हुन सक्ने अनुमान गरिएको छ । विपी राजमार्गको विभिन्न स्थानमा गएको पहिरोका कारण अन्य क्षेत्र पनि अवरोध भएको छ । वर्षात्कै कारण साविक खार्पाचोक २ हाल रोशी गाउँपालिका वडा नम्वर ८ डिप्सामा रहेको नाङशाल ढुंगा रोडा उद्योग प्रा.लि को क्रसरमा उत्पादन भएको डस्टले रोशी खोला थुनिएको छ । रोशी खोलाको दुबैतिर थुपारिएको डस्टले खोला छेकिएको छ । जसका कारण विपी राजमार्ग र त्यस आसपासको बस्ति जोखिममा परेको छ । सोहि क्रसरमा गएको पहिरोका कारण राजमार्ग र स्थानीय जोखिममा परेका छन् । 
धुलिखेलका तीन घर जोखिममा
    धुलिखेल नगरपालिका वडा नम्वर ११ फस्कोट स्थित केदार थापा, श्रीकृष्ण थापा, बद्री थापाको घर माथी लगाएको कम्पाउन्डको वाल भत्किएको छ । वाल भत्किँदा पुगेको क्षतिका कारण तीन घर जोखिममा परेका छन् । नेपाली सेना कालीजंग गण धुलिखेल, नेपाल प्रहरी तथा स्थानीयहरुको सहयोगमा उद्धारको कार्य भईरहेको वडा अध्यक्ष विष्णु काभ्रेलीले जानकारी दिनु भयो ।