बद्री तिमल्सिना
बनेपा
२०७७ चैत्र २१ गते राति दुई महिलाको हत्या भयो । कवाडी संकलन गरी जीवन गुजारा गरिरहेका दुई महिला सडकमै बसोबास गर्दै आएका थिए । कवाडी नै संकलन गरी सडकमै बास बस्ने बालबालिकाहरुको शिकार बनेका दुई महिलाको हत्या पछि प्रश्न उब्जीएको छ सडकमा बस्ने असुरक्षित कि सडकमा बस्नेहरुबाट असुरक्षित ?
मानव सेवा घर धुलिखेलकी संचालक शुशिला चौलागाईका अनुसार सडकमा रहेका बालबालिकाहरु उमेर बढ्दै गए पछि युवाहरुको जस्तो जोश र उमेर अनुसारको परिवर्तनमा रमाउन थाल्छन् । १२ वर्ष नकट्दै बालबालिकाहरुमा आएको परिवर्तनले उनिहरुलाई चाँडै सुधार गर्न कठिन छ । सेवा घरले ६ महिनाको अवधीमा ३ बालक र ४ बालिकाको उद्दार गरेको छ । जसमध्ये २ छोरी र १ छोरालाई परिवारसँग पुर्नमिलन गराएको छ । २१ दिनको बच्चा देखि १२ वर्षसम्मका बालबालिकाहरुलाई उद्दार गरिएको भए पनि उद्दार गरिएका उमेर बढ्दै गएका बालबालिकाहरु सडकको खुल्लापनका कारण सेवा घरमा बस्न रुचाउँदैनन् । पारिवारीक वातावरण धमिलो हुँदै गए पछि बुबा आमा रक्सी खान सन्तानलाई पैसा माग्न पठाउने र सडकमै रमाउने गरेका घटना देखिन थालेका छन् । ‘उद्दार गरि ल्याएका मध्ये केहि बालबालिकाहरुको अवस्था त्यस्तो देखियो जसको अभिभावक विहान देखि नै रक्सि खान्छन, त्यहि रक्सि खाने पैसा नभएर सन्तानलाई सडकमा लिन पठाउँछन’–सेवा घरकी सुशिला चौलागाईले भन्नुभयो–‘सरकारले यस्ता बालबालिकाहरुलाई सुधार गृहको ब्यवस्थापन गर्नु जरुरी छ । सडकमा यिनीहरुकै कारण अन्य खालका अपराध हुन सक्ने सम्भावना वढेको छ ।’
ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाका अनुसार २०७७ असोजबाट चैत्र मसान्तसम्म ६ जना बालबालिकाहरु सडकबाट उद्दार गरी भृकुटीमण्डपमा रहेको सुधार गृहमा पठाईएको छ । सरकारले मानव मुक्त सडक बनाउने अभियान शुरु गरे लगत्तै सडकमा भेटिएका बालबालिकाहरुलाई नियन्त्रणमा लिई सुधार गृहमा पठाएको हो । तर काम गर्ने वाहनामा बसिरहेका बालबालिकाहरु अपराधमा संलग्न हुनु गम्भिर भएको तिमल्सिनाले बताउनु भयो । ५ जना बालबालिकाहरु हत्या तथा अन्य अपराधमा प्रहरी नियन्त्रणामा छन् । बाल हिरासतमा राखी उनिहरुको अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ । सडकमा बसिरहने बालबालिका उमेर बढेसँगै असुरक्षित हुने डर एकातिर छ भने अर्काे तिर उनिहरुमा आउने जोशका कारण अन्य ब्यक्तिहरु डराउनु पर्ने अवस्था छ । सडकमै बस्ने महिलालाई जर्बजस्ति करणी पछि हत्या गरिएको घटनाले सरोकारवाला निकायलाई सोच्न बाध्य पारेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक तिमल्सिनाले जानकारी दिनु भयो ।





