2026 July 07/ 04:40: 52am

लक्ष्मण तिमल्सिना
बनेपा

    कोरोना भाईरस अर्थात कोभिड १९ को दोश्रो चरणको संक्रमण समुदायस्तरमा फैलिएको छ । सर्वसाधारणले संक्रमण रोक्न अपनाउनु पर्ने उपाय माथी खेलवाड गरिरहेका छन् । हरेक क्षेत्रले संक्रमण फैलन नदिन सुरक्षा उपाय अपनाउनु भन्दा लार्पवाहि गरिरहेका छन् । 
    विवाहका भोजहरु चलिरहँदा संक्रमित ब्यक्तिहरु सहभागी भएको खुल्न थालेको छ । शंका लागेर परिक्षण गर्ने क्रममा सहभागिहरु मध्ये अधिकांश संक्रमित भएका छन् । एउटै भोजमा सहभागी भएका झण्डै २० जना संक्रमित भएसँगै समुदाय स्तरमा त्रास फैलिएको छ । पनौती नगरपालिकाले उक्त क्षेत्रमा सचेतना अपनाउन अनुरोध गरेको छ । स्थानीय सरकारहरुले संक्रमण फैलन नदिन विगतमा जस्तो सक्रियता देखाएका छैनन् । राजधानी उपत्यका लगायतका केहि जिल्लामा सरकारले निषेधाज्ञा लगाउने निर्णय गरेको छ । नागरिकहरु बीच संक्रमण फैलन नदिन सरकारले लगाएको निषेधाज्ञालाई पूर्ण रुपमा कार्यान्वयन गर्न सबै पक्ष सक्रिय हुनु जरुरी छ । पनौती १० खोपासीमा आयोजना भएको विवाह भोजमा सहभागिहरु मध्ये १८ जनालाई सम्पर्कका आधारमा परिक्षण गर्दा संक्रमण देखिएको हो । दैनिक संक्रमणको दर बढिरहेको छ । 
    जिल्ला संकट ब्यवस्थापन केन्द्रले स्थानीय पालिकाहरुलाई संक्रमण फैलन नदिन र नागरिकहरुको आवश्यक परिक्षण गर्न अनुरोध गरेको छ । जिल्लामा दुईवटा पिसिआर परिक्षणका ल्याबहरु संचालनमा रहेका छन् । धुलिखेल अस्पतालमा दैनिक रकम तिरेर परिक्षण गर्ने ब्यवस्था छ भने प्रादेशिक ल्याबमा पालिकाहरु तथा अन्य संघसंस्थाहरुले स्वाब संकलन गरी पठाएको अवस्थामा निःशुल्क परिक्षण गर्ने ब्यवस्था मिलाईएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलका अनुसारका जिल्लाका यातायात ब्यवसायी, उद्योगी ब्यवसायी, पार्टी प्यालेस संचालकहरुसँग आवश्यक छलफल गरी सुरक्षाका मापदण्ड पालना गर्न र २५ जना भन्दा धेरै ब्यक्तिहरु भेला नगर्न नगराउन अनुरोध गरेको बताउनु भयो । प्रशासनको अनुरोधलाई बेवास्ता गर्दै अधिकांश पार्टी प्यालेसमा विवाहका भब्य भोज भईरहेका छन् । एउटै पार्टी प्यालेसले दैनिक एक हजार भन्दा धेरै ब्यक्तिहरुलाई भोज खुवाईरहेको सहभागिहरुले बताएका छन् । यसले संक्रमण दर फैलने भन्दै स्वास्थ्यकर्मीहरुले चिन्ता ब्यक्त गरेका छन् । 
    जिल्लामा १ बर्षिय बालक देखि ८३ बर्षिय जेष्ठ नागरिकसम्म संक्रमित भएका छन् । बैशाख ९ गते १९ जना, ११ गते १९ जना, १२ गते २२ जना, १३ गते ३४ जना र १४ गते २३ जनामा संक्रमण देखिएको थियो । हिजो १५ गते साँझसम्म ५० संक्रमित थपिएका छन् । पछिल्लो समय संक्रमितहरुको संख्या थपिदै गए पछि जिल्ला संकट ब्यवस्थापन केन्द्रले यातायात, पार्टी प्यालेस, विद्यालय तथा सार्वजनिक क्षेत्रमा भिडभाड नगर्न अनुरोध गरेको छ । तर पनि लुकिछिपी पार्टी प्यालेस तथा भोज संचालन भईरहेको छ । संकट ब्यवस्थापन केन्द्रका सदस्य सचिव एवं स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा.नरेन्द्रकुमार झाका अनुसार संक्रमण दर दिनदिन बढिरहेको छ । ‘विहिबार साँझ थपिएका १९ जना बाहेक शुक्रबार विहान २२ जना नयाँ संक्रमित थपिएका छन् । जसमा ४ बर्षे बालक, १४, १७ र १८ वर्षका बालकहरु देखि ८१ वर्षिय जेष्ठ नागरिकहरु समेत संक्रमति भएका छन्’– डा. झाले भन्नुभयो–‘त्रसित नभई सुरक्षित भएर संक्रमणबाट बच्नुको विकल्प छैन ।’ यसअघि ६४ जना संक्रमित रहेकोमा ३२ जना महिला र ३२ जना पुरुष थिए । केहि अस्पतालमा भर्ना भएका छन् । अधिकांश संक्रमितहरु घरमै उपचारार्थ छन् । नयाँ संक्रमितहरु बनेपा, पनौती, धुलिखेल, पाँचखाल, भुम्लु, चौरीदेउराली, तेमाल, रोशी गाउँपालिकामा बसोबास गर्ने नागरिकहरु छन् । बालबालिकाहरुमा संक्रमण फैलिएसँगै समुदायमा संक्रमण तिब्र हुन थालेको अनुमान गरिएको छ । 

नियन्त्रण ‘कर्मकाण्डी’ 
    ब्याण्ड बाजागाजा सहितका पार्टी प्यालेस, खचाखच बस, खुल्ल्ला विद्यालय, बजार तथा सडकमा विना माक्स सहितका नागरिकहरुको जमघट, लगातार सरकारी कार्यालय तथा गैससहरुका कार्यक्रममा प्रशासनिक कर्मचारी र जनप्रतिनिधिहरुको सहभागिताले कोभिड नियन्त्रणमा ‘कर्मकाण्डी’ तयारी देखिएको छ । कोभिड १९ संक्रमण नियन्त्रण, रोकथाम र उपचार सम्वन्धी जिल्ला स्तरीय संकट ब्यवस्थापन केन्द्रले गरेका निर्णयहरु जिल्लामा कुनै निकायले पनि कार्यान्वयन गरेका छैनन् । स्वयं संकट ब्यवस्थापन केन्द्रका सदस्यहरु पनि निर्णयको उल्लंघन गर्दै भोजभतेर तथा कार्यक्रमहरुमा सहभागि भईरहेका छन् । ‘भिडभाड नगर्ने निर्णय भएको छ तर सोमबार देखि जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गरिएको छ’– संकट ब्यवस्थापन केन्द्रका एक सदस्यले भन्नुभयो–‘जिल्ला संकट ब्यवस्थापन केन्द्र यस्ता विषयमा मौन छ ।’ पाटी प्यालेसहरुमा ब्याण्ड बाजा सहित भोज भईरहेको छ प्रशासन मौन छ । 
    बसमा यात्रु खचाखच छन् । पाटीप्यालेस भरिभराउ छन् । बनेपा र धुलिखेलमा विद्यालय बन्द गरे पनि केहि विद्यालय अटेर गरेका छन् तर शहरी क्षेत्र पनौती, पाँचखाल, नमोबुद्धमा संक्रमण बढिरहे पनि रोकथामका लागि कुनै कदम चालिएको छैन । स्थानीय सरकारहरु अघिल्लो वर्षमा जस्तो सक्रिय भएका छन् । सरकारले आईसोलेसन र क्वारेन्टाईनलाई पुनः संचालनमा ल्याउन निर्देशन दिए पनि तत्कालै खुल्ने सम्भावना नभएको जनप्रतिनिधिहरुले बताएका छन् । 

पूर्व तयारीमा आलटाल
    कोभिड नियन्त्रण, रोकथाम र उपचार सम्वन्धी पूर्व तयारीको बैठक राखी छलफल भए पनि आलटाल गरिएको छ । अस्पतालहरुमा उपचारका लागि बेडहरु तयारी भए पनि उपचार सशुल्क वा निःशुल्क हुने टुङ्गो नलागेको धुलिखेल अस्पतालका डा. सुमनराज ताम्राकारले बताउनु भयो । धुलिखेल अस्पतालले १ सय शैयाको बेडहरु कोभिडका विरामीहरुलाई तयारी अवस्थामा राखिएको डा. ताम्राकारले बताउनु भयो । अहिले अन्य रोग लागेर उपचारमा आएका विरामीहरुमा देखिएको कोभिडको उपचार भईरहेको छ । अस्पतालले बैशाख १५ गते देखि गरिबहरुका लागि निःशुल्क र अन्यका लागि ५ सय रुपैयाँमा कोभिड परिक्षण गर्ने भएको छ ।     १३ वटा स्थानीय तह मध्ये केहि पालिकाहरुले सामाग्री खरिद गरे पनि अस्थायी अस्पताल संचालन गरेका छैनन् । संघीय सरकारले १० लाखका दरले डाक्टर, नर्स सहितको सुविधा दिएर अस्पताल संचालन गर्न भने पनि कोभिड १९ का लागि उक्त अस्पतालहरु संचालनमा आउन सकेका छैनन् । 
संक्रमणकै बीचमा ‘रनिङ्ग शिल्ड’
    जिल्लामा दैनिक संक्रमित ब्यक्तिहरु थपिदा जिल्ला खेलकुद विकास समिति भने रनिङ्ग शिल्डको चटारोमा छ । सोमबार मात्रै जिल्लामा बालबालिकाहरु सहित ३४ संक्रमित थपिएका छन् । १३ वटा पालिका रहेको जिल्लामा ७ वटा पालिकाबाट मात्रै खेलाडीहरु सहभागि भएका छन् । जिल्ला स्तरीय प्रतियोगितामा भाग लिन नगर स्तरीय प्रतियोगितामा भाग लिई छनौट भएका नमोबुद्ध नगरपालिकाका एक विद्यार्थी संक्रमति भएसँगै नमोबुद्ध नगरपालिकाले प्रतियोगितामा भाग लिएन । 
    प्रतियोगिता नै आयोजना नगरेको पाँचखाल नगरपालिका र बेथान्चोक गाउँपालिकाले आफुखुशी खेलाडी छनौट गरी सहभागी गराएको छ । जिल्लामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु गरिएको थियो । प्रशासनको मौखिक सहमतिमा झण्डै २ सय खेलाडी र दर्शक सहभागि गराउँदै प्रतियोगिता पनौतीमा शुभारम्भ भएको छ । प्रतियोगिताको संघीय सांसद् गंगाबहादुर दोङ्गले उद्घाटन गर्नु भएको छ । जिल्ला अध्यक्ष मानविर लामाले सुरक्षा उपाय अपनाउँदै प्रतियोगिता आयोजना गरिएको बताउनु भयो । ‘हामीले प्रशासनलाई मौखिक जानकारी गराएर प्रतियोगिता आयोजना गरेका हौं, पाँचखाल र बेथान्चोकमा प्रतियोगिता नभए पनि खेलाडी सिफारिस गरेर पठाएका छन्, अन्य पालिकाबाट खेलाडीहरु सहभागि भए’–अध्यक्ष मानविर लामाले भन्नुभयो–‘भोलि सकिन्छ, सामाजिक दुरी कायम राख्ने प्रयास गरेका छौं ।’ 
    प्रतियोगिता सम्पन्न भएका नमोबुद्ध नगरपालिकाले बालबालिकाहरुमा संक्रमण फैलन सक्ने आशंकाले विद्यार्थीहरु प्रतियोगितामा सहभागि गराएन । नमोबुद्धमा छनौट भएका खेलाडीमा संक्रमण देखिए पछि भाग नलिएको जानकारी गराएको कार्यालय प्रमुख अभिकेशर कट्टेलले जानकारी दिनु भयो । खानिखोला, महाभारत र तेमाल गाउँपालिकामा पनि प्रतियोगिता सम्पन्न भई खेलाडी छनौट भईसकेको भए पनि प्रतियोगितामा भाग लिएनन् । बनेपा, धुलिखेल नगरपालिका र बेथान्चोक गाउँपालिकाले कोभिडकै कारण प्रतियोगिता संचालन गरेनन् । पाँचखालले पनि पछि आयोजना गर्ने तयारी गरेको भए पनि जिल्ला स्तारीय प्रतियोगितामा नगर स्तरीय प्रतियोगिता नै संचालन नगरी खेलाडीको नाम सिफारिस गरेर पठाएको छ । पनौती, मण्डनदेउपुर नगरपालिका, रोशी, भुम्लु, चौरीदेउराली गाउँपालिकाका विद्यार्थीहरु प्रतियोगितामा सहभागि भएका छन् । भलिबलतर्फ महिला र पुरुष, एथलेटिक्स र त्यस अन्र्तगतका विभिन्न खेलहरु, कपर्दी, कराँते र ताईक्वान्दो प्रतियोगितामा ६ वटा पालिकाका विद्यार्थीहरुले भाग लिईरहेका छन् । संक्रमण फैलिएका कारण जिल्लाका सबै क्षेत्रमा जमघट रोक्ने निर्णय भए पनि त्यहि निर्णयको खिलाफमा प्रतियोगिता आयोजना गरिएको हो । २० वर्ष भन्दा कम उमेरका ब्यक्तिहरुमा संक्रमण दर बढिरहेको भए पनि जिल्ला स्थित संकट ब्यवस्थापन केन्द्रले पनि प्रतियोगिता रोक्न चाहेन । 

सात दिनमा काभ्रेमा संक्रमण दर
बैशाख ९ गते संक्रमित – १९
बैशाख  १० गते संक्रमित – २३
बैशाख  ११ गते संक्रमित –  –
बैशाख  १२ गते संक्रमित – २२
बैशाख  १३ गते संक्रमित –  ३४
बैशाख १४ गते संक्रमित –  २३
बैशाख  १५ गते संक्रमित – ५०